तनहुँको शुक्लागण्डकीका बजार क्षेत्र हरेक सोमबार बन्द हुने
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा
तनहुँको शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्र अब हरेक सोमबार बन्द हुने भएको छ । यहाँ रहेका दुइ उद्योग वाणिज्य संघ शुक्लागण्डकी नगर उद्योण वाणिज्य संघ र शुक्लागण्डकी उद्योग बाणिज्य संघको संयुक्त बैठकले आउँदो सोमबार (मंसिर ६ गतेदेखि) बजार बन्द गर्ने निर्णय गरेको हो । नगरभित्र पर्ने मुख्य बजार दुलेगौँडा, खैरेनी, कोत्रे, गणपति, शेराटार, गाछेपानी लगायतका बजारहरु बन्द हुने छन् ।
कारोना भाइरस कोभिड-१९ का कारण बजार राम्ररी खुल्न नपाएको अवस्थामा निषेधाज्ञा हटेको केही महिना यतादेखि बजार निरन्तर खुल्दै आएको थियो । हरेक बर्ष चाडपर्वलाई लक्षित गरी तीज अघिदेखि नै पसलहरु हप्तामा सातै दिन खुल्ने गरेकोमा ठुलो एकादशीपछि हप्तामा एक दिन बन्द गर्ने गरिएको शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । उनले व्यापारीहरुको हरहिसाब मिलाउन र व्यापार व्यवसायमा कार्यरत कर्मचारीलाई एकदिन आराम दिने उद्देश्यले पहिलेदेखिनै यो चलन रहदै आएको बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त ज्वाचरनले व्यापारीहरुकै सहमतिमा बर्षौ पहिलेदेखि एकदिन आराम तथा सरसफाइ गर्ने उद्देश्यले हप्तामा एक दिन बजार बन्द गरिदै आएको बताए । बजार बन्दको दिन आकस्मिक बाहेक कसैले पनि पसल खोल्न नपाउने र कसैले पसल खोलेमा जरिवाना लगाउने गरिएको स्मरण गर्दै अहिले एउटै क्षेत्रमा दुइ उद्योग वाणिज्य संघ हुँदा नियमको पालना नभएको बताए । उनले भने, ‘बजार एउटै छ । दुइ-दुइ वटा उद्योग वाणिज्य संघ छ, एउटै लाइनको व्यापारीहरु विभाजित छन्, जसका कारण संघका निर्णय र निर्देशनहरु एउटाले मान्ने र अर्कोले नमान्ने अवस्था छ, यसले गर्दा अनुशासनको विचलन देखिएको छ ।’










