तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट बंगुर मर्न थाले

तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट बंगुर मर्न थालेका छन् । जिल्लामा १६ वटा बंगुर मरिसकेको र २१ वटा बंगु बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले जानकारी गराए ।
भिमाद नगरपालिका त्यस रोगबाट सबैभन्दा बढी प्रभावित भएको उनले बताए । भिमादमा १४ बंगुर, शुक्लागण्डकी नगरपालिकामा दुई गरी १६ बंगुर मरिसकेका छन् । जिल्लाका दस पालिकामध्ये तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएको उनले बताए ।
डा. चौधरीका अनुसार तनहुँका भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिका गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट प्रभावित भइसकेको छ । सो संक्रमणले गर्दा बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् ।
भिमाद नगरपालिका–६ का भूमिमाया आलेले चार वटा बंगुर एकैचोटी मरेको बताइन् । आलेले भनिन्, “दुःख गरी पालेको बंगुर मरे अब परिवार कसरी पाल्ने भन्ने चिन्ता परेको छ ।’ महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई केन्द्रले आग्रह गरेको छ ।
बाह्य मानिसलाई फार्ममा जान नदिन र बंगुर तथा सुँगुर ओसार पसारमा प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान थालेको छ । पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा. चौधरीले बताए।
उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले संक्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन भनिएको छ । सो रोगले बंगुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखा पर्नेजस्ता लक्षण देखा पर्छ । प्रयोगशालामा नमूना परीक्षण गर्नेक्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको चौधरीले बताए ।