व्यास नगरपालिकाले दमौलीमा सञ्चालनमा ल्यायो “बुधबारे कृषि हाटबजार”

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बुधबारे कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । संविधान दिवस २०८० को अवसर पारेर बुधबारबाट नगरपालिकाले पुनः हाटबजार सञ्चालनमा ल्याएको हो ।

दमौली स्थित गणेशमानचोकमा करिब दुइ दशक अगाडि सञ्चालन हुँदै आएको हाटबजार बन्द भएपछि नगरपालिकाले पुनः सञ्चालनमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको थियो । करिब दुइ दशक अगाडि दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हराएपनि कृषक र उपभोक्ताको सिधा सम्पर्क टुट्दै आएको थियो ।

लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले संविधान दिवसको अवसर पारेर व्यास-३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ । किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर कृषि सामग्री खरिद-बिक्री गर्ने व्यवस्था मिलाउन हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

‘दमौलीमा पहिला हाटबजार लाग्थ्यो, बिस्तारै हरायो, एकादशी बजार हराउन थाल्यो, माघे संक्रान्ति मेला हराउन थाल्यो, पुराना परम्परा हराउँदै जान थाले, यसको संरक्षणमा हामी लागेका छौ’, नगरप्रमुख न्यौपानले भने, ‘हाटबजारले किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर दुबै पक्षले उचित मूल्यमा कृषि सामग्री खरिद बिक्री गर्न पाउने अवसरको सिर्जना गर्ने योजनामा हामी छौं ।’

किसानले गाउँबाट तरकारी ल्याएर दमौलीका विभिन्न चोक र चौतारामा बसेर बिक्री गर्दै आएकामा अब यस ठाउँमा ल्याउने प्रयत्न गरिने उनले बताए । नगरपालिकाले यस ठाउँमा १३ व्यापारिक कक्ष निर्माण गरेको छ । ती कक्ष किसानका लागि निःशुल्क उपलब्ध गराइने भएको छ ।

यस्तै, हाटबजारको शुभारम्भ गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवामय हुँदै गएको नेपाल र प्रविधिमैत्री बन्दै गएको नेपालमा अबको समय अनलाइनको भएकाले यसलाई अनलाइनसँग जोड्न ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यसले गर्दा किसानले सोझै मूल्य पाउन सक्नेछन्, त्यसतर्फ ध्यान दिनुपर्छ ।’

व्यास-५ मा ड्रागन फ्रुट खेती गर्दै आएकी कल्पना गौलीले हाटबजारले कृषि उपज सामग्री बिक्री वितरणका लागि सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘लोप भइसकेको हाटबजार नगरपालिकाले पुनः सञ्चालनमा ल्याउँदा हामी कृषक र उपभोक्ताका लागि राम्रो हो, अब यसको निरन्तरता मुख्य कुरा हो ।’

तनहुँकै आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक हाटबजार शुभारम्भ गरेको थियो । प्रत्येक शुक्रबार आँबुखैरेनी-३ मा हाटबजार सञ्चालन हुँदै आएको छ । त्यहाँ गाउँपालिकाभित्रका बासिन्दाले कृषि उपज बिक्री गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker