तनहुँमा मतगणना जारी, गठबन्धनको अग्रतालाई पछ्याउँदै एमाले
भञ्ज्याङ समाचारदाता/दमौली

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना कार्य तनहुँमा जारी छ । तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य सोमबार दिउँसोदेखि जारी छ ।
निर्वाचन क्षेत्र नं. १ को दमौली स्थित मुख्य निर्वाचनको कार्यालय जिल्ला समन्वय समिति तनहुँको भवन र निर्वाचन क्षेत्र नं. २ को शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना कार्य सुरु गरिएको हो।
४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको तनहुँमा दुइ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
२ लाख ४८ हजार ४९५ जना मतदाता रहेको तनहुँमा आइतबार भएको निर्वाचनमा १ लाख ३५ हजार ४०१ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि करिब ५५ प्रतिशत मत खसेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ कमा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा ६७ हजार १३० मत खसेको छ भने निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो समाचार तयर गर्ने समयसम्म जिल्लाका दुबै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मत गणना भइरहेको छ । र्सार्वजनिक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारको अग्रता कायमै थियो भने नेकपा एमालेका उम्मेदवारको मतपरिणामले पछ्याइरहेको थियो ।










