एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान

तनहुँ : अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीयस्थल बन्दीपुरमा फिल्म खिचिएको छ ।

त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरिएको थियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले नेपाली १५ करोड रुपैयाँसम्म खर्च गरेको अनुमान निर्माण स्रोतको छ ।

यो फिल्मको नेपाल छायांकन प्रवेश साहनीको बलिउड कम्पनी आइटपले हेरेको हो । छायांकनकै लागि ३०० भन्दा धेरै प्राविधिक भारतबाट आएका थिए । नेपाली र स्थानीय कलाकारले समेत अभिनय गरेकाले स्थानीय पर्यटन प्रवर्द्धन र रोजगारीमा फाइदा मिलेको बताइएको छ ।

विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् ।

बन्दीपुरका पर्यटन व्यवसायी उत्साहित

यस्तै, तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा हलिउड फिल्म टासीको छायांकन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

छायांकनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायांकन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायांकन सुरु गरिएको हो ।

बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ ।

बन्दीपुरमा विदेशी चलचित्रको छायांकन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायांकनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ ।

चलचित्र छायांकनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताए । उनले भने, ‘विदेशी चलचित्रको छायांकनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker