सीपमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै म्याग्दे गाउँपालिका

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित यी तालिमहरूले महिलालाई सानो लगानीमै आफ्नै व्यवसाय सञ्चालन गरी स्थायी आम्दानीको बाटो खोलिदिएको छ ।
गाउँपालिकाले हालै वडा नं. ३ मा २० जना महिलालाई लक्षित गरी क्रिस्टल गहना तथा फेब्रिक माला बनाउन तालिम सम्पन्न गरेको छ । तीन सातासम्म सञ्चालित तालिममा महिलाहरूले पोते, औंठी, टप, चुरा लगायतका करिब १० प्रकारका सामग्री बनाउने सीप सिकाइएको प्रशिक्षक कमला सुवेदीले बताइन ।
महिलाहरू निकै उत्साहका साथ सहभागि भएको प्रशिक्षार्थी लक्ष्मी शाही ठकुरी भन्छिन्, “हामीले दैनिक जीवनमा प्रयोग हुने गहना आफैं बनाउने सीप मात्र सिकेनौं, भविष्यमा त्यसैलाई व्यवसायमा रूपान्तरण गर्ने आत्मविश्वास पनि कमाएका छौं ।” अर्की सहभागी खिमा थापा भन्छिन्, “यो सीपले हामीलाई आत्मनिर्भर बनाउने छ । अहिले नै समूह गठन गरेर व्यवसाय सुरु गर्ने योजना बनाएका छौं ।”
गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार, यो कार्यक्रम वडागत रूपमा महिलाहरूको माग र आवश्यकतालाई आधार बनाई सञ्चालन गरिएको हो । उनले भने, “कम लागतमा घरेलु तथा कुटिर उद्योग सञ्चालन गर्न सक्ने भएकाले तालिमलाई प्राथमिकतामा राखिएको छ ।”
यस्तै, बजारीकरणका लागि तालिमको प्रभावकारिता अझ बढाउन गाउँपालिकाले पोखरास्थित प्रमुख पर्यटकीय क्षेत्रहरू लेकसाइड, डेविडफल, र पुम्दीकोटमा तालिम सहभागीको अवलोकन भ्रमणको व्यवस्था गरेको थियो। अवलोकनका क्रममा महिलाहरूले स्थानीय व्यवसायीसँग अन्तरक्रिया गर्दै बजार सम्भाव्यता तथा ग्राहकको रुचि बुझ्ने अवसर पाएका थिए । वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीका अनुसार, “उत्पादित सामग्रीको बिक्री बजारबारे बुझाउन यो भ्रमण उपयोगी भएको छ ।”
वडा नं. ४ मा झोल साबुन र फिनेल उत्पादन तालिम म्याग्देको वडा नं. ४ थर्पुमा महिलाहरूलाई हर्पिक, फिनेल, झोल साबुन, पिताम्बरीजस्ता सरसफाइजन्य सामग्री उत्पादनको एड्भान्स तालिम दिइँदैछ । यसअघि यस्तै तालिममार्फत दर्ता भई सञ्चालनमा आएका ‘म्याग्दे झोल साबुन उद्योग’ र ‘दिदीबहिनी झोल साबुन उद्योग’का महिलाहरूलाई व्यवसाय विस्तारका लागि थप प्रशिक्षण दिइएको हो ।
वडा नं. ४ का वडाध्यक्ष दीपक कुमार श्रेष्ठका अनुसार, “स्थापित उद्योगलाई अझ सशक्त बनाउँदै व्यवसायलाई ठूलो आकार दिन चाहेका महिलाहरूका लागि एड्भान्स तालिम दिइएको हो ।”
यस्तै, गाउँपालिकाले साना उद्यम र सिपमूलक तालिमलाई समावेशी र दिगो आर्थिक विकाससँग जोड्ने दीर्घकालीन योजना अघि सारेको छ । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी भन्छन्, “वेरोजगार युवा तथा महिलाहरू साना व्यवसायमार्फत आफ्नै गाउँमै स्वरोजगार बन्ने सम्भावना देखिएको छ। सीप सिकेपछि उद्यममा रूपान्तरण हुने क्रम तीव्र रूपमा बढेको छ ।”
उनी भन्छन्, “गाउँपालिकाले समावेशी आर्थिक वृद्धि, नवप्रवर्तनको अभ्यास, निजी, सहकारी र सामुदायिक क्षेत्रको अधिकतम उपयोग तथा उत्पादन र उत्पादकत्व वृद्धिलाई ध्यानमा राखेर सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।”
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा ७५ जनालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य गाउँपालिकाको छ । तालिम अघि ‘घरधुरी सर्वेक्षण’, ‘अभिमुखीकरण कार्यक्रम’ र ‘उद्यमशीलता विकास तालिम’ सञ्चालन गरेर उद्यमी बन्न चाहनेहरूको पहिचान गरिएको आर्थिक विकास शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाले सञ्चालन गरिरहेका सीपमूलक तालिमहरू रोजगार सिर्जना, आयवृद्धि तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने दिशामा प्रभावकारी भएको स्पष्ट देखिन्छ । विशेषतः महिलाहरूलाई आत्मनिर्भर बनाउँदै लैजानु गाउँपालिकाको योजनाको केन्द्रमा रहेको छ, जसले ग्रामीण आर्थिक परिर्वतनतर्फ सकारात्मक संकेत दिएको छ ।










