शुक्लागण्डकीको तालवेसी माविमा विद्यार्थीहरुको नायक चुन्न निर्वाचन

तनहुँको शुक्लागण्डकी-९, मा अवस्थित तालवेसी माविमा शुक्रबार निर्वाचनको माहोल देखियो । मतदाता शिक्षासहित निर्वाचन प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले विद्यार्थीबाट नायक र सहनायक चुन्नका लागि विद्यालयमा निर्वाचन गराइएको हो । नायक र सहनायक चुन्नका लागि मतदाता विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । झट्ट हेर्दा संसदीय निर्वाचन कै भान हुन्थ्यो ।

छात्रा र छात्रका लागि छुट्टाछुट्टै लाइन, मतदाताको नामावली रुजु गर्ने निर्वाचन अधिकारीहरु, मतदान अधिकृत, निर्वाचन अधिकृत, सुरक्षाका लागि खटिएका म्यादी प्रहरी, स्वयमसेवक, मतपेटिका, गोप्य मतदान गर्ने स्थान, मतदानका लागि प्रवेश गर्ने र निस्कने स्थानमा बाँसडोरीले बनाइएको बारको संरचना र तयारी राष्ट्रिय निर्वाचनको जस्तै थियो । उम्मेदवार विद्यार्थी, निर्वाचन अधिकृत पनि विद्यार्थी, मतदाता पनि विद्यार्थी, अनि निर्वाचनको पर्यवेक्षकको रुपमा भने शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी थिए ।

निर्वाचनमा नायक र सहनायक पदमा २/२ गरी ४ जनाले उम्मेदवारी दिएका थिए । नायक पदका लागि कक्षा १० का छात्रहरु अंकित थापा र प्रशान गुरुङको उम्मेदवारी परेको हो भने सह-नायकमा कक्षा ९ की छात्रा युविका राउत र छात्र पुजन महतले उम्मेदवारी दिएका थिए । अंकितको चुनाव चिहृन ज्यामितिबक्स र प्रशानको चुनाव चिन्ह कलम रहेको थियो । युविकाको झोला र पुजनको टाइ चुनाव चिन्ह थियो ।

चुनावी प्रक्रियाबाट १८० मतान्तरले नायकमा अंकित थापा निर्वाचित भए । उनले २५६ मत प्राप्त गर्दा प्रशानले ७६ मत पाएका थिए । नायकमा ३३८ जनाले मतदान गरेकोमा ६ मत बदर भएको थियो । त्यस्तै, सह नायकमा युविका २२ भोटको अन्तरले विजयी भइन् । उनले १७१ मत प्राप्त गर्दा पुजनले १४९ मत पाएका थिए । सह नायक पदका लागि ३३७ मतदाताले मताधिकार प्रयोग गर्दा १७ मत बदर भएको थियो । कक्षा ३ देखि १० सम्म गरी कुलमतदाता संख्या ३४५ रहेको थियो।

कक्षा १० का छात्र प्रथम पाठकले निर्वाचन प्रक्रियामा प्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा धेरै कुरा बुझन पाएको बताए । उनले किताबमा भएको पाठ्यक्रमलाई अभ्यासमै उतार्न पाउँदा मतदान अधिकृतको भुमिका, मत बदर र सदर भएको बारे बुझन पाएको र यो अभ्यासले व्यवहारिक ज्ञान प्राप्त भएको बताएका थिए । छात्रा अलिसा भुजेलले पनि किताबमा पढेको विषय प्रत्यक्ष रुपमा व्यवहारमै गर्न पाउँदा सिकाई दिगो र प्रभावकारी भएको बताइन् ।

विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनको जस्तै गरि एकसाताको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सबै प्रक्रिया पुरा गरी निर्वाचन गराइएको विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले बताए । उनका अनुसार एक हप्ता अगाडि नै समर्थक र प्रस्तावकसहित उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, प्रचारप्रसार, निर्वाचन आचारसंहिताको पालना गराउँदै निर्वाचन गराइएको हो ।

सामाजिक शिक्षा शिक्षक दामोदर रेग्मीले निर्वाचन प्रणालीबाट विद्यार्थीले नायक सहनायक चयन गर्दा प्रजातान्त्रिक हुने र यस प्रक्रियाले विद्यार्थीमा निर्वाचन प्रणालीको शिक्षा पनि दिने बताए । उनले निर्वाचित नायक र सहनायकले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप, पठनपाठन र विद्यालयमा वालमैत्री वातावरण बनाउँदै बालबालिकाको हकअधिकार सुनिश्चित गराउन भुमिका खेल्ने बताए।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभएर बाहिरी व्यवहारिक ज्ञानमा जोड दिइएको बताए । उनले पढेर भन्दापनि गरेर देखाउँदा सिकाई प्रभावकारी हुने भएकाले विद्यार्थीहरुलाई अभ्यास गराइएको बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker