सामुदायिक वन दिवस-२०७९ : उत्कृष्ट सामुदायिक वन पुरस्कृत

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा विविध वनजन्य गतिविधि गरी सामुदायिक वन दिवस-२०७९ मनाइएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वनको सहकार्यमा वृक्षारोपण, सरसफाई तथा वन र वातावरणको महत्वका विषयमा चर्चा गरी सामुदायिक वन दिवस-२०७९ मनाइएको हो ।

दिवसका अवसरमा डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ का उत्कृष्ट तीन/तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट हुन सफल सामुदायिक वनलाई बुधबार म्याग्दे गाउँपालिका-२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा बन्दिपुर गाउँपालिका-२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका-२ स्थित वाराही सामुदायिक वन उपभोक्ता समूह द्वितीय र व्यास नगरपालिका-११ स्थित बूढीराम्चे सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा बन्दिपुर गाउँपालिका-३ स्थित देवीथुम्का सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ पधेंरा खोला सामुदायिक वन उपभोक्ता समूह द्वितीय र बन्दिपुर गाउँपालिका-१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका थिए ।

प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु १० हजार, रु ८ हजार र रु ६ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए । अघिल्लो आवमा कोभिड-१९ संक्रमणका कारण कार्यक्रम गर्न नसकिएपछि दुबै आवका उत्कृष्ट वनलाई आजनै पुरस्कृत गरिएको उनले बताए ।

वन संरक्षण, संवर्द्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरिएको थियो । जिल्लामा ६२१ सामुदायिक वन रहेका छन् ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत हुने सामुदायिक वनका प्रतिनिधिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले सामुदायिक वनले नेपालको प्रख्याति विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठले वनलाई आम्दानीको स्रोत बनाउनेतर्फध्यान दिन आग्रह गरे । उनले वनबाट वन समूहका उपभोक्ताको आयस्तर वृद्धि गर्नेतर्फ लाग्न सुझाव दिए । गाउँपालिकाका उपाध्यक्ष घिमिरेले सामुदायिक वन जोगाउन स्थानीयको अपनत्व जागृत गराउनुपर्ने बताउँदै उपभोक्ताको जीवनस्तर उकास्न सामुदायिक वनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

डिभिजन वन प्रमुख काफ्लेले नेपालको वन व्यवस्थापन विश्वकै उत्कृष्ट रहेको र वन संरक्षणमा स्थानीयको योगदान रहँदै आएको बताए । वनलाई समृद्धिसँग जोडेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्ने बेला आएको हुँदा उपभोक्ताहरु यस तर्फ सक्रिय बन्न सुझाए ।

यस्तै, सामुदायिक वन दिवसका अवसरमा म्याग्दे-२ ज्यानटाङ पधेंरा खोला सामुदायिक वनमा दुइ सय बिरुवा रोपिएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको हरितपार्कभित्र विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । हरितपार्कभित्रै रूखमाथि घर निर्माण गरिएको छ । यसले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको सामुदायिक वनका अध्यक्ष अर्जुन रानाभाटले बताए ।

हरित पार्कलाई हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । समन्वय समितिका प्रमुख, म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, डिभिजन वनका प्रमुखसहित कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुले सो अवसरमा संयुक्त रुपमा बिरुवा रोपेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker