घरबासको अनुभव साट्न तनहुँ आइपुगे भुजुङका स्थानीय
भञ्ज्याङन्यूज

लमजुङको क्व्होलासोथार गाउँपालिका-४ भुजुङका घरबास सञ्चालक पर्यटन प्रवर्द्धन र घरबासको अनुभव साटासाटका लागि तनहुँ आएका छन् । तनहुँको बन्दीपुर र भानु नगरपालिकामा सञ्चालित घरबाससँग अनुभव साटासाट र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भुजुङका पर्यटन व्यवसायी यहाँ आएका हुन् ।
लमजुङको सबैभन्दा ठूलो गुरुङ गाउँ, मौलिक कला र संस्कृतिले भरिएको भुजुङ गाउँ र तनहुँको संस्कृति, रीतिरिवाज र यहाँ सञ्चालित घरबासको अनुभव साटासाटका आएको समूहले पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेको छ ।
कार्यक्रमको सहजीकरण गरेका पर्यटनविज्ञ एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङका अनुसार भुजुङबाट आएको टोलीलाई बन्दीपुरका पर्यटकीयस्थलको भ्रमण गराइएको छ । उनले भने, “यसले तनहुँको पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्नेछ । साथै भुजुङको पर्यटन विकासका लागि पनि यो भ्रमण कोसेढुङ्गा हुने विश्वास गरिएको छ ।”
भुजुङको कलासंस्कृति र वातावरणमैत्री विकास गतिविधि एवं प्रक्रिया र ग्रामीण पर्यटन विकासका चुनौती, बन्दीपुर र टुटेपानीमा विकसित सकारात्मक पर्यटकीय गतिविधि एकआपसका लागि राम्रा सिकाइ हुने उनले बताए।
यसैबीच भुजुङ सामुदायिक होमस्टे पर्यटन समितिको आयोजनामा विहीबार बन्दीपुरमा होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले भुजुङका घरबास सञ्चालकलाई पर्यटकीयस्थलको भ्रमण गराउँदै घरबासको अनुभव साटासाट गर्न र थप व्यवस्थापकीय सुधारबारे जानकारी दिन तालिम आयोजना गरिएको जानकारी दिए । गुरुङबाहुल्य भुजुङ लमजुङ सदरमुकाम बेँसीशहरदेखि ३२ किलोमिटर दूरीमा अवस्थित छ ।










