व्यास–१ जलेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

दमौली : तनहुँको व्यास नगरपालिका–१ रतौलीस्थित जलेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । रतौली टोल विकास संस्थाले विहीबार एक कार्यक्रम आयोजना गरी ‘पितृ मोक्ष धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव’ औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष तथा महायज्ञ मूल संयोजक अभिमानसिं बस्नेतका अनुसार मन्दिर परिसरमा ८० देखि १०० जनासम्म भक्तजन बस्न सक्ने सुविधा सम्पन्न बहुउद्देश्यीय धर्मशाला निर्माणको योजना अघि बढाइएको छ । उनले भने, “जलेश्वर महादेवको मूर्ति स्तरीकरणसँगै होम कुण्ड र शिवलिङ्ग कुण्ड निर्माण गरी मन्दिर परिसरलाई धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउने लक्ष्य राखिएको छ।”

रतौली टोल विकास संस्थाको आयोजनामा सिर्जना आमा समूह र जलेश्वर मन्दिर संरक्षण समितिको सहआयोजनामा हुने महायज्ञ आगामी मंसिर ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। यस अवसरमा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्नेछन् । महायज्ञबाट रु. दुईदेखि पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य आयोजक समितिले जनाएको छ। प्राप्त रकमबाट धर्मशाला निर्माण तथा मन्दिर क्षेत्रको पूर्वाधार विकासमा लगानी गरिनेछ ।

छाब्दी बाराही, बेदव्यास लगायतका नजिकैका धार्मिकस्थलमा आउने भक्तजनलाई खाना र बस्न सहज होस् भन्ने उद्देश्यले धर्मशाला निर्माण गरिँदैछ। “दमौली र आसपासका धार्मिक स्थलहरूलाई एकीकृत गरी धार्मिक पर्यटन वृत्त विकास गर्न सकिन्छ”, व्यास नगर प्राज्ञ प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले बताए ।

प्रचार–प्रसार समितिका संयोजक दीपक बस्नेतका अनुसार, महायज्ञ दीर्घकालीन धार्मिक तथा पर्यटकीय विकास योजनाअन्तर्गत आयोजना गरिएको हो । महायज्ञकोको शुभारम्भ मंसिर ६ गते बिहान कलशयात्रा पश्चात् दिउँसो ११ बजे हुने कार्यक्रम तय गरिएको छ। प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म कथा वाचन, नाटक र राष्ट्रिय कलाकारहरूको भजन–कीर्तन प्रस्तुति रहनेछ ।

व्यास–१ का वडासदस्य मणिजंग बस्नेतले महायज्ञलाई सफल बनाउन टोलवासी सबै सक्रिय रूपमा सहभागी हुनुपर्नेमा जोड दिए । उनका अनुसार, वडाकार्यालय र व्यास नगरपालिका कार्यालयबाट पनि आवश्यक सहयोगका लागि पहल गरिएको छ ।

कार्यक्रममा जलेश्वर महादेव मन्दिर संरक्षण समितिकी कार्यवाहक अध्यक्ष विमला आले, सिर्जना आमा समूहकी अध्यक्ष माया बस्ताकोटी, समूहकी निवर्तमान अध्यक्ष हरिमाया दरै लगायतले महायज्ञको तयारी तथा सफलतासँग सम्बन्धित धारणा राखेका थिए । कार्यक्रम सञ्चालन टोल संस्थाका सचिव जयराम अधिकारीले गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker