२५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी हुन्नः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्नुभयो ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो । “मुलुकमा फेरि पनि बन्दाबन्दी गर्ने योजना रहेको छैन”, उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो । तैपनि हामी निजी स्वास्थ्य सङ्घसंस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छाैँ । ”

उहाँका अनुसार सक्रिय २५ हजार सङ्क्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका सङ्क्रमित रहने छन् । तिनलाई आवश्यक शय्या सरकारसंँग छ । अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको भएका र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिले दुई हजार ६०० सघन उपचार कक्ष, ९०० भेन्टिलेटर र २० हजार ७६५ आइसोलेसन शय्या छन् ।

आजै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी बन्दाबन्दी तत्काल नहुने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो ।

व्यवसायीले विस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि बन्दाबन्दीको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो । अहिले बन्दाबन्दी खुलेसँगै सबै क्षेत्र खुला गरिएको छ । यही असोज १ गतेदेखि लामो दूरीका यातायात सेवा र असोज ५ गतेदेखि हवाई सेवा सञ्चालन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker