तनहुँका दुई पालिकाले संघीय सरकारको निर्देशन विपरित वैशाख २ गतेबाटै भर्ना अभियान र पठनपाठन सञ्चालन गर्दैै

तनहुँ : तनहुँका दुई स्थानीय तहले संघीय सरकारको निर्देशन विपरित नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तथा नियमित पठन–पाठन गर्ने भएका छन् । आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै नयाँ शैक्षिक सत्रका लागि बैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने जनाएका छन् ।
आँबुखैरेनी गाउँपालिका अन्तरगतका विद्यालयहरुलाई वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरी संगसंगै नियमित पठन–पाठन सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘गाउँपालिकाले आफ्नो शैक्षिक क्यालेन्डरअनुसार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई समयमै तयारी पूरा गर्न भनिएको छ ।’
‘विद्यालयको शैक्षिक क्यालेन्डर अगाडि नै बनिसकेको छ । विद्यालय सञ्चालन गर्ने दिन २२० दिन पु¥याउने भनेर तयारी गर्दा १५ दिन पठनपाठनमा ढिलाई र आइतबारे बिदा सहित ८७ दिन भन्दा नपुग्ने देखियो’, उनले भने, ‘त्यसैले गर्दा सिङ्गो वर्षको शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने भयो । अर्को पेट्रोलियम पदार्थले गर्दा समस्य पर्ने ठाउँ खासै छैन । त्यो भएर विद्यार्थीको शैक्षिक गतिविधिमा धक्का नपुगोस् भनेर यो निर्णय गरेका हौं ।’
यस्तै, बन्दीपुर गाउँपालिकाले पनि बैशाख २ देखि ८ गतेसम्म भर्ना अभियान र ९ गतेबाट नियमित पठनपाठन गर्न विद्यालयहरुलाई सूचना जारी गरेको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार गाउँपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बैशाख २ देखि बैशाख ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न, शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्न, वार्षिक कार्यतालिका निर्माण तथा तयारी गर्न, विद्यार्थीको सिकाइ उपलब्धी सुधार सम्बन्धी योजना निर्माण गर्न र बैशाख ९ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
संघीय सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गरी २०८३ वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने भनेतापनि नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गदै यी दुई पालिकाले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन सञ्चालन गर्न लागेको बताइएको छ ।










