मगर स्थापना दिवसमा तनहुँका सबै पालिकाले सार्वजनिक बिदा दिए

दमौली : ४३औं मगर स्थापना दिवसका अवसरमा तनहुँका १० वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदाअन्तर्गत फागुन १५ बिहीबारका दिन ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
२०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिन पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।
पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लांघाली परिवार संघ’को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ ।
२०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।
मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ ।
फागुन १५ मा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पूर्ण पालना गर्नुपर्ने माग तनहुँका मगर समुदायले गर्दै आएका छन् ।
तनहुँको कूल जनसंख्या ३ लाख २१ हजार १५३ मध्ये सबैभन्दा बढी संख्या मगर समुदायको छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार मगर समुदायको जनसंख्या ८३ हजार ६३९ रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker