ओझेलमा परेको कर्लुङकोट
देव बस्न्यात

सिञ्जा साम्रज्यको पतन पश्चात नै कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चाविसी राज्यहरुको उदय हुँन पुगेको हो । चौविसी राज्यहरुको उदय संगसंगै गण्डकी प्रदेशमा पाल्पा, पर्वत, तनहुँ, लमजुङ र गोरखा जस्ता शक्तिशाली राज्यहरु देखा पर्न थालेका थिए । विशाल पाल्पा राज्य भाइ अंशमा विभाजन भएसंगै यस्को शक्तिमा ह्रास हुँदै गएको थियो । वि.सं. १६१० मा स्थापना हुन पुगेको तनहुँ राज्य भित्र कर्लुङकोट पनि पर्दथ्यो । चौबिसे राज्यकालमा एउटै राज्यलाई विभिन्न प्रशासनिक इकाइमा बाँढ्ने गरिन्थ्यो । तिनै प्रशासनिक इकाइहरुलाई थुम भन्ने गरिन्थ्यो । थुमथुममा भएका मौलाहरुलाई कोट भनिन्थ्यो । हरेक थुमका मुखियाहरु रजौटा सरह मानिन्थे।
वि.सं. २०१७ सालमा नेपालमा आफ्नै मौलिक पञ्चायत शासन व्यवस्था लागु भएपछि यस स्थानले स्थानीय निकायको नाम सुरक्षित गरेको थियो । स्थानीय निकायको नाम भने कर्लुङ गाउँपञ्चायत पाएको थियो । यस्को उत्तरी सिमाना शिःसा खोला र बुल्दीखोला दक्षिणी सिमाना छाब्दी खोला, पूर्वमा नाहाला खोला र पश्चिममा बुल्दीखोला र सेतीमादी नदी पर्दथे । त्यही कर्लुङ पछि घाँसीकुवा गा.वि.स. र अन्त्यमा घाँसीकुवा गाउँ पालिका र नेपाल सरकारको मन्त्री परिषदको मिति २०७३ फागुन २७ को निर्णयानुसार यस पालिकाका वडा नं. २,३,४,५,७ र ८ लाई मिलाएर व्यास नगरपालिकाको १२ नम्वर वडा कायम गरेको पाउँदछौं । हाल यस वडाको जनसंख्या ४७०३ रहेको छ ।
पहिला त्यही कर्लुङकोट गाउँ पञ्चायत भित्र गल्बु मौजा पनि पर्दथ्यो । तनहुँ राज्यको यस कर्लुङ थुम भित्र बानियाटार, छिर्कने भञ्ज्याङ, गैह्रावारी, कर्लुङ मैदान, देउराली, कमलबारी, केदारसात, गोल्ला, भद्रु, गल्बुगाउँ, मुसेखोला, तालघरे, गल्बुबेसी, अमिली भञ्ज्याङ, रतौली, खकौली, मोहोरिया र छाब्दीफाँट पनि पर्दथे। तत्कालीन कर्लुङ–१ को बानियाटार अहिले बन्दीपुर गाउँपालिकामा र कर्लुङ गाउँ पञ्चायतको वडा नं ६ को मोहोरियाटार, रतौली, खकौली, माहिलोडाँडा, भादगाउँ, गल्बुबेसी, करङकाठ, तालघरे र अम्रेनी लगायतका भू–भागहरु अहिले व्यास–१ मा पर्न गएका छन् ।
सिञ्जा साम्राज्यको पतन र बाइसी तथा चौबिसी राज्यको उदयकाल पूर्व यहाँ दुरङ्च्या थरका मगरहरुको राज्य थियो की भन्न सकिने आधारहरु मिलेका पाइन्छन् । त्यही बेला स्थापना भएको कर्लुङथुमको कोटकालिका मन्दिरमा हरेक बडादसैं र चैतेदर्सैंमा नियमित रुपमा पूजाआजा हुँदै आएको छ । कर्लुङथुमको कोटकालिका मन्दिर नजिकै रानीबराजुुको पनि पूजाआजा हुँदै आएको छ । बाइसे चौबिसे कालीन तनहुँका राजा कामरीदत्त सेनले गुँदीफच्याङ भेगको एक कन्यासंग विवाहवारी गरेको जनश्रुति सुन्नमा पाइन्छ। तिनै रानी आफ्नो माइती गाउँ गुंदीफच्याङबाट आफ्नै माइतीका लाटाबाजेको साथ लागेर तनहुँसुर दरवारमा फर्कंदै थिइन । अचानक व्यास–१२ कर्लुङ भन्ने स्थानमा आइपुगेको समयमा गोर्खाली सेनाको बन्दुकको गोली लागेर तनहुँका राजा कामरीदत्त सेनको मृत्यु भएको खबर सुन्नासाथ रानीले त्यही रहेको चाँपको रुखमा झुण्डिएर आत्महत्या गरेको कर्लुङका निवासीहरु बताउँछन् । रानीको साथसाथै सो स्थानमा लाटाबाजेको पनि यही निधन भएका हुनाले अहिले पनि मृतक रानीलाई र कर्लुङका लाटाबाजेलाई बराजु पुकारेर ठूलो चाँपको रुखको फेदमा पर्खालको गोलघेरा भित्र वायुपूजा गर्ने गरिएको कर्लुङ कमलाबारी निवासी कृष्णचन्द्र पाण्डे बताउँछन् ।
प्रायः गाउँले भाकलीहरुले भने पूर्णिमाको दिन पारेर हाँस कुखुरा बलि सहित पूजाआजा गर्दै आएका छन् । यसै गरी कर्लुङथुम बाहिरकाहरुले यहाँ हरेक महिनाको पूर्णिमाको दिन पारेर कुखुरा तथा परेवाको बलि दिएर पूजाआजा गर्ने र कर्लुङका बासिन्दाहरुले भने जेठ महिनाको पूर्णिमाको विशेष दिनमा कमरपाठीको बलि दिएर पूजाआजा गर्ने परम्परा रहदै आएको छ ।
कर्लुङ नाम रहनाका कारणहरु
बृहत संस्कृत शब्दकोष अनुसार करको अर्थ हात, हात्तीको सुंढ र सूर्यचन्द्रक्रो किरण भन्ने पनि जनाउँछ । कर भनेको जनताले राज्यलाई अनिवार्य दिनपर्ने दान रकम हो । सरक।रले आफैले बनाएको कानुन अनुसार करको दर निर्धारण गर्दछ। यसैगरी करका दायराहरु भन्नाले राजस्व, लाभकर, महसुल मालगुजारी लगायत आदि पर्दछन् । जुन रकम सरकारले सामाजिक कार्यमा उपयोग गर्ने गर्दछ । बाइसे चौबिसे कालमा तनहुँका राजाहरुले आफुलाई आपत पर्दा सहयोग गर्ने गडगडीघाटका पिरहरुलाई कर माफ गरी यहाँको जग्गाहरु बिर्ताबितलव गरेको हुनाले यस स्थानलाई कर मुक्त क्षेत्र बुझिन गएको थियो । करमुक्त लुङ (पहाड) हुनाले यसलाई करलुङ भनिन पुगेको हो । पछि त्यही करलुङ शब्द अपभ्रंश भइ कर्लुङ बन्न पुगेको हो ।
मगरढुट भाषामा निधारलाई टार भन्दछन् । नेपाली भाषामा “क, ख, ग, घ, ङ, र क, च, ट, त, प” समान वर्णका अक्षरहरु हुन् । कहिले “क”, “ट” र कहिले “ट”, “क”मा परिवर्तन हुन सक्ने स्वभाव भएकोले “टार” शब्द “कार”मा परिणत हुन पुगेको हो । त्यही “कार” शब्दको बीचको आकार लोप भइ “कर” बन्न पुगेको पाइन्छ। अर्को तर्फ यस पर्वतमालाको अग्लो भू–भागमा रानी बराजु मानेर पूजा गरिने शिला मानिसको निधार आकारको ढुङ्गा पाइन्छ । मगर भाषामा ढुङ्गालाई लुङ्ग भनेर सम्वोधन गरिन्छ । मगर भाषाको टार अर्थात निधार जस्तो ढुङ्गाको अपभ्रंश भएको शब्द कर शब्दसंग “लुङ” शब्द मेल हुन पुग्दा कर्लुङ बन्न पुगेको हो भनिन्छ ।
मगर भाषामा “कर” भन्नाले राजस्व र लुङ भन्नाले ढुङ्गा भन्ने जनाउँछ । “कर” र “लुङ” शब्दको एक आपसमा मेल हुन गई ‘कर्लुङ’ बन्न गएको हो । अर्कोतर्फ ज्योतिष विज्ञान अनुसार हस्त नक्षत्रलाई पनि कर भन्ने बुझाउँछ । तनहुँसुर तर्फबाट हेर्दा यो कर्लुङ पर्वतमाला हात्तीको सुंढ र गुंदीफच्याङ तर्फबाट हेर्दा मानिसको हात आकारको देखिने भएकाले यो पर्वत श्रृंखलालाई कर्लुङ भन्ने गरिएको हो पनि भनिन्छ ।
छाब्दीफाँट कर्लुङ र कुलुङ गाउँको बेसी भूभाग हो । यहाँ प्रशिद्ध छाब्दी वाराहीमाईको मन्दिर रहेको छ । यही क्षेत्रमा गोरखाका नरेश पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न पठाएका सेनाहरुलाई लखेट्नका लागि तनहुँका सेनापतिले सैनिकहरुलाई “कुरलुङके परिस्ले” (ढुङ्गा लडाउ भन्ने भावार्थ बुझिएको) भने रे । सेनापतिको त्यही शब्द अपभ्रंश भइ करलुङ बन्न गएको हो भन्ने गरिन्छ। त्यही करलुङ शब्द अपभ्रंश भइ कालन्तरमा कर्लुङ बन्न पुगेको हो भन्दा फरक नपर्ला । सूर्यको रश्मी तथा किरणलाई पनि कर भन्ने गरिन्छ। बिहानको सूर्योदय र साँझको अस्ताउँदो सूर्यको किरण अति नै सुन्दर देखिने स्थान तथा चुचुरा भएकाले यस स्थानलाई करलुङ भन्न थालियो । त्यही करलुङ शब्द अपभ्रंश भइ कर्लुङ बन्न गएको हो ।
राजा कामरीदत्त सेनको रानीले आत्महत्या गरेको थलो
तनहुँका राजा कामरीदत्त सेनलाई गोर्खाली सेनाको गोली लागेर तनहुँसुरको ढुकुुटी घरभित्र लगेर राखियो । चारैतिर गोर्खाली सेनााको परा भए्कोले राजालाई औषधी मूलो र खाना पुराउन सकिएन । औषधी मूलो र खाना खान नपाएर राजाले ढु्कुटी घर भित्रै आत्महत्या गरेपछि गुंदीफच्याङको माइती घरबाट तनहुँसुर फर्कदै गरेकी रानीले अकालमै राजाको मृत्युको खबर पाएपछि कर्लुङडाँडाको चाँपको रुखमा भुण्डिएर आत्महत्या गरेर मरेको हुनाले अहिले पनि कर्लुङथुममा रानी र लाटा वराजुको पूजाआजा हुँदै आएको पाउँदछौं ।
कैनीहरुले बिर्ता पाएको थलो
गोरखाको लगातारको आक्रमणले तनहुँको ढुकुटी रित्तिंदै गएको थियो। विशेष गरेर तनहुँ राज्यका काजी गरुडध्वज पन्तले राज्यलाई प्रशस्त रकम उपलब्ध गराइ राज्यबाट प्रशस्त जग्गा रजवन्धकीमा लिएका थिए । गोरखासंगको युद्धबाट राहत पाउन तनहुँ सरकारले तनहुँ हटियाका नेवारहरु र गडगडीघाटका पिरहरुसंग पनि ऋण सापटी रकम लिएका थिए । राजाले समयमा ऋण रकम फिर्ता गर्न नसक्दा तनहुँसुरका नेवारहरुलाई रानीस्वाँराको जग्गा र गडगडीघाटका पिरलाई कर्लुङथुम बिर्ता बितलव गरिदिएको र पिर्रुलाई गिरी थरबाट ब्राह्मण थरमा पदन्नोती गरी दिएको कर्लुङ निवासी तत्कालीन जिल्ला पञ्चायत तनहुँका उपसभापति मेघनाथ कैनीका छोरा डा. बच्चुकैलाश कैनीले आफ्ना वंशको कर्लुङ आगमनका विषयमा लेखिएको लेखमा उल्लेख भएको छ ।
कोटकालिका पुजारीको छनौट र पूजा
कर्लुङ मैदान नजिकै कोटमौलाको मन्दिर रहेको छ । यस मन्दिरमा हरेक वर्षको बडादसैं र चैते दसैंमा पूजाआजा हुने गर्दछ। कर्लुङथुम भित्रका रैतीहरुले गाउँगाउँबाट चामल घिउ, केरा, तेल, घैटो, माछा जस्ता सगुन लैजाने गर्थे भने कसैले राँगा, बोका आदिको बलि चढाउने गर्दथे । तर आजकल यो प्रचलन कर्लुङ मैदान वरीपरिका गाउँमा नै सिमित हुन पुगेको छ । यहाँका पूजारी र बास्टेहरु यहाँका महामुखियाले नै छनौट गर्ने परम्परा रहेको थियो । १३ वर्ष भन्दा कम उमेरका अविवाहित कन्या कुमारहरुबाट कोटमौलामा कालीको पूजाआजा हुने भएकाले किशोर पूजारीहरुबाट पूजाविधि गडवड हुनसक्ने सम्भावना भएकाले उनीहरुको सहयोगको लागि वूढापाकाहरु मन्दिरमा पुगेर पूजाविधि सिकाउने गर्दथे र आजकल पनि सिकाउँदै छन् । तर अहिले कोटमौलामा ब्राम्हण थरका पूजारीहरुले पूजाआजा गर्दै आएको पाइन्छ । फूलपातीका दिन लगिने फूलपाती यहाँ नजिकै रहेको बेलघारी पुगेर बेलको रुखमा विल्व निमन्त्रणा पूजा गरे पश्चात वेलपत्र लगायतका फूलहरु टिपेर डोलीमा सजाएर राखिन्छ। त्यही फूलको डोली, उखु तथा हलेदो, ध्वजापतका सहितको सालका लिङ्गाहरु कोटमौलामा लगेर भित्र्याउने काम गरिन्छ ।
पर्यटनका सम्भावना र चुनौतीहरु
भौतिक पूर्वाधारका कुरा केलाउने हो भने वि.सं. २०२५ साल तिरै होला काठमाण्डौ पोखरा जाने मोटरबाटो पृथ्वीराजमार्गको करिव ६ किलोमिटर जतिको दुरी यही व्यास–१२ कर्लुङको भू–भाग भएर गएको छ। अहिलेसम्म यस वडाको वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कच्चि नै छ । ५० वर्ष पहिल्यै यातायातको सुविधा पुगेको कर्लुङमा अहिले पनि एउटा गाउँबाट अर्को गाउँ पुग्न पैदल यात्राको सहारा लिनु पर्दछ। यही भएर यहाँका वासिन्दाहरु सुविधाको चौरजहारी चहार्न सुविधाजनक क्षेत्रमा बसाइ सर्नेहरुको लर्को लागेको छ । मानिस नबस्ने भए पछि कर्लुङ मैदानसम्म सार्वजनिक सवारी साधन चल्ने सम्भावना पनि अति नै न्यून हुँदै गएको छ। कर्लुङको मैदानबाट उत्तरतर्फ देखिने धवलागिरी, माछापुच्छ्रे, अन्नापूर्ण, मनास्लु लमजुङ, हिमालहरुको अनुपम दृष्य अबलोकन गर्न सकिन्छ। यसै गरी यहाँबाट तनहुँसुर, छिम्केश्वरी, कुलुङकोट, रामकोट, देवचुली, बरचुली, पाल्पा र कास्कीकोट जस्ता महाभारत पर्वत श्रङ्खला, सेतीमादी नदी, बुल्दी खोला र छाब्दी खोलाहरुले बनाएका फाँट तथा उपत्यकाहरुको अनुपम दृष्यहरुको पनि अबलोकन गर्न सकिन्छ ।
दमौली नजिकको मानहुँकोटबाट देखिने कुहिरोको श्वेतसागर यहाँबाट झन सुन्दर रुपमा देखिने गर्दछ । यसैगरी कर्लुङको प्रख्याती कमाएको स्थानीय जातको गोलभेंडा यहाँ प्रशस्त पाइने गर्दछ। मगरहरुको प्रिय नाच कौरा, सोरठी र यहाँका हरेक मगर गाउँहरुमा नचाइन्छ। संस्कृतिका धनी मगर जातिहरुको बसोबास थलो भएता पनि कर्लुङमा आजसम्म पर्यटन व्यवसाय मौलाउन सकिरहेको छैन। प्राकृतिको अनुपम खानीले भरीपूर्ण भएर पनि कर्लुङमा होमस्टे तथा स्तरीय होटलहरुको विशेष सुविधा नभएका कारण पनि यहाँ आन्तरिक तथा बाह्यपर्यटन व्यवसाय फस्टाउन सकेको छैन । पृथ्वीराजमार्ग यही वडा भएर गएको कारणले पनि व्यास–१२ को कुनै पनि क्षेत्रमा ३० मिनेटको पैदल यात्रा गरेर सजिल्यै पुग्न सकिने भएता पनि विकासको फड्कोमा अडको लागेकै छ ।
यहाँका मेघनाथ कैनी र अमरराज कैनीहरुले कल्पना गरेको समाजवादको सपना अहिले पनि जहाँको त्यहीं अडकेर बसेको छ । मेघनाथ कैनीका छोरा बच्चुकैलाश कैनी विकास नभएकोमा चिन्ता लिन्छन् तर आफै कहिले नेपाल र कहिले युकेको यात्रामा अलमलिंदा र नेपाली राजनीतिबाट विश्राम लिंदा नेपालले उपयुक्त नेतृत्व पाउन नसकेको अर्को यथार्थता पनि हो ।
जे होस व्यास नगरपालिका भित्रको पृथ्वीराजमार्गले छोएको वडा भएर पनि पर्यटकीय क्षेत्र कर्लुङकोट पुग्न सार्वजनिक यातायातको यथेष्ट पहुँच छैन । यातायातको पहुँच नभएको हुनाले नै व्यास नगरपालिकाले कल्पना गरेको टाकुरा पर्यटनका कुराहरु अगाडि बढन सकिरहेको छैन। यही कारणले पनि व्यास–१२ को कर्लुङकोट दिन प्रतिदिन ओझेलमा पर्दै गएको हो भन्दा फरक नपर्ला।
कसरी पुगिन्छ कर्लुङकोट ?
काठमाण्डौदेखि १४१ किलोमिटर र पोखरादेखि ५९ किलो मिटरको दुरीमा छिर्कने भञ्ज्याङपुग्न सकिन्छ छिर्कनेबाट ३ किलोमिटर कच्चिको बाटो हुँदै कर्लुङ पुग्न सकिन्छ । हुन त छिर्कने देखि ३ कि.मि.प रको देउराली र सो भन्दा ३ कि.मि. परको कमलबारीको बाटो पनि कर्लुङमा आफ्नो नीजि सवारी साधनबाट पुग्न सकिन्छ । हालसम्म यहाँ सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन। दमौलीबाट छाब्दी वाराही मन्दिरको बाटो कुलुङ हुँदै पनि यहाँ पुग्न सकिन्छ । व्यास नगरपालिकामा हालका प्रुमुख प्रशासकीय अधिकृत काशीराम गैह्रेको जन्मस्थान पनि यही वडा भएकाले कर्लुङकोटको समुचित विकासमा ध्यान पुग्ने आशा र विश्वास जगाएको छ ।