देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो

देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, बाग्मती प्रदेशमा सात हजार ९०८, गण्डकी प्रदेशमा ४४१, लुम्बिनी प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ रहेका छन् । त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार ८४७, प्रदेश २ मा ५३०, बाग्मती प्रदेशमा नौ हजार १७२, गण्डकी प्रदेशमा ५६५, लुम्बिनी प्रदेशमा एक हजार ४७४, कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा ५०८ रहेका छन् ।

देशभरमा गरी २३३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८९६ कल प्राप्त भएको पनि डा गौतमले बताउनुभयो ।

प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत देशभरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शैय्या नपाउने अवस्था भएको बताउनुभयो । उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उहाँको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायतका हाम्रो व्यवहारका कारण जोखिम बढ्दै गएको उहाँले औँल्याउनुभयो ।

धेरै नागरिकले दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिए जसरी घर बाहिर निस्कन थालेको उहाँले बताउनुभयो । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उहाँले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सास फेर्न गाहे हुने, पिसाब फेर्न गाहे हुने वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।”

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य सङ्क्रमित

आजसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने तीन जिल्लामा शूून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker