देवघाट प्रवेशमा थप कडाइः हेल्प डेक्स राखेर सोधपुछ
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका प्रवेश नाकाहरुमा थप कडाइ गरिएको छ । पर्यटकीय र धार्मिक स्थान देवघाटबासीलाई थप सुरक्षित राख्न देवघाट प्रवेश नाकाहरुमा कडाइ गरिएको हो । देवघाट प्रवेश गर्ने मुख्य नाकामा हेल्प डेक्स राखिएको छ । गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा आफैं देवघाटको एक मुख्य प्रवेश नाकामा उपस्थित भइ अनावश्यक आवातजावत गर्ने ब्याक्तिहरुलाई सम्झाइ बुझाइ गरी फर्काउन निर्देशन दिएका छन् ।
अध्यक्ष थापाले देवघाटका विभिन्न आश्रमहरुमा धेरै बृद्धबृद्धाहरु बस्ने हुँदा उनीहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गरिएको बताए । देवघाटमा धार्मिक कार्यको लागि धेरै तिर्थालु भक्तजनहरु आउने हुँदा दैनिक नृत्य, पाठपुजा गर्ने तर नागरिकको भिडभाड हुने बिबाह, बर्तबन्ध, तालीम, गोष्ठी र मानिस जमघट हुने कुनै पनि कार्यक्रम तथा प्रबचन नगर्न पनि उनले आग्रह गरेका छन् ।
आवश्यक कार्य गर्नु परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलको आग्रह छ । देवघाटमा कोभिड-१९ रोकथामको लागि सचेतना मुलक माईकिङ्ग, प्रचार-प्रसार गर्ने, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा बस्न, स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा जान देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले आग्रह गरेका छन् । यस्तै देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ ।









