तनहुँका न्यायीक समिति बीच अन्तरक्रिया सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका स्थानीय तहका न्यायीक समिति संयोजकहरु बीच बुधबार अन्तरक्रिया गरिएको छ । राष्ट्रिय महिला आयोगले स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारी बीच लैङ्गकि हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया गरेको हो ।
कोरोना कहरका कारण दुइ चरणमा आयोजित कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका न्यायिक समितिका संयोजक र सदस्यहरुको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले महिला हिंसा र यसको न्युनिकरणमा न्यायिक समितिको भूमिकाका विषयमा सहजिकरण गरेका थिए ।
समाजमा महिलाहरु शारीरिक, मानसिक, सामाजिक तथा सांस्कृतिक हिंसाबाट पीडित बन्नुपरेको बताउँदै यस्ता प्रकारका घटनाको फैसाला सुनाउँदा पीडित र पीडक दुबैको कुरा सुनेर एक नतिजा निकाल्नुपर्ने उनले बताए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले समाजका विकृति, विसंगती विरुद्ध सबैले आवज उठाएर जराबाटै महिला हिंसाको अन्त्य गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिजाका दिनमा हिंसा नहुने होइनन् । सचेतनाको कमि तथा अशिक्षाका कारण महिलाहरुले भित्राभित्रै दबाएर राख्थे । अहिलेका महिला सचेत छन् । आफ्नो अधिकार के हो र कसरी पाउन सकिन्छ राम्रोसंग जान्दछन् ।’
यस्तै न्यायिक समिति उपप्रमुखको मात्रै नभई सबैको रहेको बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । उनले भनिन्, ‘पालिकामा दर्ता हुन आएका सबै घटनाको दुइपक्षीय कुरा सुनेर मात्र टुङ्गो लगाउने गरिएको छ ।’ गाउँपालिकाभित्रका घटना पहिले सामुदायिक सेवा केन्द्रमा जाने त्यहाँ नभए सम्बन्धित वडा कार्यालय र वडामा पनि टुङ्गो नलागे गाउँपालिकाको न्यायिक समितिमा छलफल हुने उनले बताइन् ।
यस्तै, नगरपालिकामा न्यायिक समिति गठन भएपछि १७३ वटा मुद्दा दर्ता भएको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले बताइन् । उनले भनिन्, ‘समितिबाट १४२ वटा मुद्दा फैसला भैसकेको छ भने बाँकी प्रक्रियमा छन् ।’
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, ओसिएमसीकी हममाया पुन, नगरपालिका/ गाउँपालिकाका उपप्रमुख/उपाध्यक्ष, नेपाल पत्रकार माहसंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतले महिला हिंसा सम्बन्धी सचेतनाको अझैपनि अभाव रहेको बताए ।










