तनहुँको गुणादीमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर घाइते

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरी चौकी थर्पु तनहुँका अनुसार आज बिहान करिब ०८:३५ बजे, पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा स्कुटर सडकमा पल्टिएको हो।
दुर्घटनामा स्कुटर चालक तनहुँ म्याग्दे गाउँपालिका–३ पसले बस्ने २७ वर्षीय पुरन राना मगर नाकबाट रगत बग्ने, घाँटी, छाती तथा खुट्टामा चोट लागी गम्भीर अवस्थामा घाइते भएका छन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।
त्यसैगरी स्कुटरको पछाडि सवार चितवन भरतपुर महानगरपालिका–१६ बस्ने २७ वर्षीया सुमित्रा थापा मगर टाउकोमा गम्भीर चोट लागी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ०८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










