बन्दीपुर केबलकारमा महाशिवरात्रीमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिकामा महाशिवरात्री पर्वको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । ‘महाशिवरात्रि कार्यक्रम’ आयोजक समितिको आयोजनामा बन्दीपुरमा महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रमको सहजीकरण बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केबलकारले गर्ने भएको छ । फागुन १४ गते, बुधवार बन्दीपुर केबलकारको तल्लो स्टेसनमा हुने यस कार्यक्रम बिहान ९ बजेबाट राति ९ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
कार्यक्रममा सन्ध्या शिव आरती, शिवजीको विराट रूपको दर्शन, महाशिवरात्रि धुनी तथा शिव संकीर्तनको विशेष आयोजन गरिनेछ। यस पवित्र अवसरलाई भव्य बनाउन विभिन्न तयारी गरिरहेको हुँदा धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनलाई यस अवसरमा उपस्थित भई पुण्य कमाउन समेत ‘महाशिवरात्रि कार्यक्रम’ आयोजक समितिले आग्रह गरेको छ।










