ज्येष्ठ नागरिकका बुढेसकालको सहारा “भत्ता”

भञ्ज्याङ समाचारदाता/तनहुँ

“कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्‍यो र गएँ पनि”, भानु नगरपालिका-१३ पोखरीछापकी ७२ वर्षीया धनमाया गुरुङले भन्नुभयो, “तर झलझली गाउँको हावापानी सम्झीएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका-१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुइ वर्ष पहिलेको अनुभव सुनाउनुभएको हो ।

उहाँजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरूको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुइ वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उहाँले जानकारी दिनुभयो ।

“रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए”, धनमायाले भन्नुभयो, “गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्र्छौँ ।” म्याग्दे गाउँपालिका-६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गर्नुभयो ।

उहाँको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुइ वर्ष पहिले मृत्यु भएको थियोे । विवाह भइसकेका तीन छोरीले आफूहरूसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरूले वास्ता नै गरेनन् । छोरीहरूले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन’, उहाँले भन्नुभयो, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।”

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका-४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताउनुभयो । दुइ छोराले थर्पु बँेसीमा घर बनाएर बसेपनि आफूहरूले मूल घर नछाडेको उहाँले जानकारी दिनुभयो । “भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौ”, नरबहादुरले भन्नुभयो, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।”

म्याग्दे-४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बनाउनुभयो । घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरूलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिनुभयो ।

आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे-२ थुम्कीबाट भत्ता लिन बैंकमा आउनुभएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुइ छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताउनुभयो । “यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु”, श्रीमान् तिलबहादुरको १०/११ वर्ष पहिले मृत्यु भएको बताउँदै उहाँले भन्नुभयो, “भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियोँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।”

राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरूले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताउनुभयो । राज्यले ६८ वर्षउमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार, ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुइ हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुइ हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुइ हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार ९९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलव्ध गराउँदै आएको छ ।

प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरूले जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker