ज्येष्ठ नागरिकका बुढेसकालको सहारा “भत्ता”
भञ्ज्याङ समाचारदाता/तनहुँ

“कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्यो र गएँ पनि”, भानु नगरपालिका-१३ पोखरीछापकी ७२ वर्षीया धनमाया गुरुङले भन्नुभयो, “तर झलझली गाउँको हावापानी सम्झीएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका-१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुइ वर्ष पहिलेको अनुभव सुनाउनुभएको हो ।
उहाँजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरूको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुइ वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उहाँले जानकारी दिनुभयो ।
“रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए”, धनमायाले भन्नुभयो, “गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्र्छौँ ।” म्याग्दे गाउँपालिका-६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गर्नुभयो ।
उहाँको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुइ वर्ष पहिले मृत्यु भएको थियोे । विवाह भइसकेका तीन छोरीले आफूहरूसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरूले वास्ता नै गरेनन् । छोरीहरूले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन’, उहाँले भन्नुभयो, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।”
आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका-४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताउनुभयो । दुइ छोराले थर्पु बँेसीमा घर बनाएर बसेपनि आफूहरूले मूल घर नछाडेको उहाँले जानकारी दिनुभयो । “भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौ”, नरबहादुरले भन्नुभयो, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।”
म्याग्दे-४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बनाउनुभयो । घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरूलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिनुभयो ।
आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे-२ थुम्कीबाट भत्ता लिन बैंकमा आउनुभएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुइ छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताउनुभयो । “यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु”, श्रीमान् तिलबहादुरको १०/११ वर्ष पहिले मृत्यु भएको बताउँदै उहाँले भन्नुभयो, “भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियोँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।”
राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरूले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताउनुभयो । राज्यले ६८ वर्षउमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार, ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुइ हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुइ हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुइ हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार ९९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलव्ध गराउँदै आएको छ ।
प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरूले जनाए ।










