रोटरी क्लवद्वारा बन्दिपुरमा सडकबत्ती हस्तान्तरण
डिपी अधिकारी (बन्दिपुर)

पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दिपुरमा रोटरी क्लव अफ चितवनले सडक बत्ती जडान गरेको छ । रोटरी क्लब चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गरिएको १३ वटा सडकबत्ती एक कार्यक्रमका बीच रोटरी इन्टरनेश्नलका प्रेसिडेन्ट इलेक्ट शेखर मेहताले बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रेसिडेन्ट मेहताले बन्दिपुरको परम्परागत घर, ढुँगाले छापेको बजार क्षेत्र, स्थानीय कला र सँस्कृतिले आफूलाई मोहित पारेको बताए । उनले बन्दिपुर क्षेत्रलाई आवश्यकताको आधारमा रोटरीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । रोटरी क्लब अफ चितवनका प्रेसिडेन्ट रोशन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर ३२९२ का राजिब पोख्रेलले नेपालको परम्परा, कला संस्कृति संरक्षणमा बन्दिपुरबासीको महत्वपूर्ण भूमिका रहेको भन्दै बन्दिपुरमा आफूले ब्यक्तिगत र संस्थागत रुपमा सहयोग र सहकार्य गर्ने बताए ।
यस्तै, कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले परम्परागत सडक बत्तीले बन्दिपुर बजारको सौन्दर्यतामा थप टेवा पुगेको भन्दै रोटरीसँग सहकार्य र साझेदारी गरी कार्य गर्न आफू सदैब तत्पर रहेको बताए । बन्दिपुर ऐतिहासिक स्थल समेत भएकाले समग्र बिकासका लागि २० वर्षे गुरुयोजन निर्माण गरिएको र गुरुयोजना पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत्र ११ गते विमोचन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष थापाले जानकारी गराए ।
पर्यटकको बसाइलाई लम्ब्याउने उद्देश्यले बन्दिपुरमा केवलकारको निर्माण भैरहेको, मुकुन्देश्वरी पर्खाल निर्माणको क्रममा रहेको, टुँडिखेलमा सिसाको भ्यूटावर निर्माण योजना रहेको भन्दै उनले बन्दिपुरलाई आगामी २० वर्ष भित्र दक्षिण यशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहेको अध्यक्ष थापाले बताएका छन् । कार्यक्रममा पास्ट रोटरी डिस्ट्रक ३२९२ का रविन्द्र पियाले समेत आफ्ना विचार व्यक्त गरेका थिए ।
रोटरी क्लब अफ चितवनले करिब ९ लाख रुपैयाँको लागतमा बन्दिपुरमा १३ वटा सडकबत्ती निर्माण गरेको छ भने सिएमसि हस्पिटल चितवनमा कोभिडको विरामीलाई लक्षित गरी ३० वटा भन्टिलेटर प्रदान गरिएको प्रेसिडेन्ट रोशन पियाले जानकारी गराए ।
त्यस्तै देवघाटमा करुणालय आश्रममा ३६ जना असहाय वृद्धवृद्धालाई पालन पोषणको ब्यबस्था र हेरचाह गरिएको छ । १०० जनालाई दैनिक खानाको ब्यवस्था गरिएको छ । भरतपुरमा चण्डेश्वर भट्टराइले १ कठ्ठा ५ धुर निशुल्क प्रदान गरेकोमा रोटरी डण्डपानी भट्टराइ मल्टि प्रपोज विल्डिङ निर्माण गरिएको छ । बन्दिपुरका सन्तकुमार श्रेष्ठ र उनका छोरा अभिषेक श्रेष्ठले रोटरी हस्पिटल चितवनका लागि १ करोड प्रदान गरेका छन् । रोटरिएन मदन पियाले चमेलीदेवी पिया र उदय बहादुर पियाको स्मृतिमा विल्डिङ निर्माण गरिएको छ ।
त्यस्तै डा. मदन कुमार पियाको विशेष पहलमा तनहुँको बन्दिपुर अस्पतालमा डेलिभरी केशका लागि म्याटरनिटि होम र डेन्टल सेवा संचालन गरिएको छ । धरमपानी स्वास्थ्य केन्द्रमा एक्स-रे मेसिन, इसिजी मेसिन र नेबुलाइजर प्रदान गरिएको छ । त्यस्तै बन्दिपुरमा होटल बन्दिपुर संचालन गरी त्यसबाट आएको मुनाफाले बन्दिपुर गाउँपालिका भित्रका ५ ओटा विद्यालयमा सहयोग गरिएको बन्दिपुर क्याम्पसका प्रमुख विक्रम पियाले जानकारी दिए ।










