व्यास नगरपालिकाले नयाँ कार्यक्रम सिफारिस/स्वीकृत नगर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले विकास योजनाहरुमा नयाँ कार्यक्रम सिफारिस/स्वीकृत नगर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले २०७९ वैशाख ३० को निर्वाचन सम्पन्न नहुँदासम्म आचार संहिता लागु भएको अवधिभर विपन्नको उपचार र विपद् क्षेत्र बाहेकका विकास योजनाहरुमा नयाँ कार्यक्रम सिफारिस/स्वीकृत नगर्ने निर्णय गरेको हो ।
बैकठले यही चैत्र ३० गते व्यास नगरपालिकाको ३०औं स्थापना दिवस मनाउने तयारीको समिक्षा गर्दै नगरपालिकाका पुर्व/निवर्तमान जनप्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ, प्रदेश, जिल्ला समन्वय समिति, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गर्ने भएको छ ।
यस्तै, नगरपालिकाबाट तय भएका कुल १ हजार २६१ योजनाहरुमा ६७९ सम्पन्न गरेको बैठकमा जानकारी गराइएको छ । योजनाहरु मध्ये ४८४ सम्झौता भएका, चालु ७ योजनाहरु सूचना प्रकाशन र ९१ सम्झौता हुन बाँकी रहेको पुर्वाधार विकास शाखाले बैठकमा जानकारी गराएको थियो ।
नगर सभाबाट स्वीकृत बजेट कार्यक्रम अनुसार चैत २१ गतेसम्म ४८ प्रतिशत खर्च भएको र संघीय सरकारबाट विनियोजित वजेट ८४%, प्रदेश सरकारबाट विनियोजित ४५%, राजश्व बाँडफाड ४८%, आन्तरिक श्रोत बाट ४६% आम्दानी प्राप्त भएको बताइएको छ ।
नगरपालिकाले अगामि वैशाख १ गतेबाट एक लाख रुपैयाँ भन्दा बढीको भुक्तानी इलोक्ट्रोनिक फण्ड ट्रान्सफर मार्फत गर्ने व्यवस्था मिलाउन आर्थिक प्रशासन शाखालाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।
यस्तै, बैठकले सांस्कृतिक, साहित्यिक, एतिहासिक स्मारक संरक्षणका लागि व्यास नगर प्राज्ञिक सभा गठन गर्ने र दक्षिण कोरियाको सन्गजु नगरपालिकासंग व्यास नगरपालिकाको भगिनि सम्बन्ध विस्तार गर्ने निर्णय गरेको छ ।










