तनहुँमा माइक्रो र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु, को को घाइते भए ?

दमौली : तनहुँको भानु नगरपालिका–१२ कालीमाटीमा आज दिउँसो यात्रु बहाक माइक्रो र स्कुटर एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
डुम्रे–बेंसीसहर सडकखण्डको उक्त स्थानमा डुम्रेबाट लमजुङ तर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोमा सवार एक जना र स्कुटरमा सवार एक जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लमजुङको बेसीसहर नगरपालिका–८ बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठ र मनाङको नार्फु गाउँपालिका–८ बस्ने ४० वर्षीय मन घले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । श्रेष्ठ स्कुटरमा र घले माइक्रोमा सवार थिए ।
उनका अनुसार माइक्रोमा सवार व्यक्तिको लमजुङ स्थित नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा र स्कुटरमा सवार महिलाको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेसीसहर नगरपालिका–८ बस्ने ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा माइक्रोमा सवार बेसीसहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमारा राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, सोलुखुम्बु बस्ने ३ वर्षीय कुमार राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बेसीसहर नगरपालिका–२ भकुमथोक बस्ने ७८ वर्षीय कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा, ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । माइक्रो चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










