तनहुँको व्यास-५ स्थित चुँदेरबासीको घरघरमा खानेपानी पुग्यो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ स्थित चुँदेरबासीको घरघरमा खानेपानी पुगेको छ । नगरपालिकाको दुर्गम क्षेत्रका बासिन्दा खानेपानीको समस्याबाट गुज्रिएपछि रोटरी क्लबको पहलमा चुँदेर पँधेरी खोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएपछि घरघरमा खानेपानी पुगेको हो ।

रोटरी क्लब अफ होनोलुल सनसेट, व्यास नगरपालिका, व्यास नगरपालिका वडा नं. ५ र रोटरी क्लब अफ दमौलीको सहयोगमा चुँदेरमा निर्माण सम्पन्न भएको खानेपानी योजना विहीवार उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । १८ महिना अघि शिलान्यास गरिएको उक्त आयोजनाको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान डिष्ट्रिक गभर्नर राजीव पोख्रेल र व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे । सोही अवसरमा प्रमुख अतिथि पोख्रेलले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकतालाई प्रथामिकतामा राखेर देशभर ग्लोबल ग्राण्टका परियोजना गरिएको बताए । सोही परियोजना अन्तर्गत रोटरी दमौली र रोटरी क्लब अफ होनोलुल सनसेटले चुँदेर गाँउमा पनि खानेपानी योजना सफल पारेको बताए ।

त्यस्तै नगरप्रमुख न्यौपानेले पानीकै कारण विस्थापित भएका आफन्तलाई गाँउ फर्काउन अनुरोध गर्दै नगरपालिका रोटरीसँग मिलेर चुँदेरमा थप काम गर्न इच्छुक भएको बताए । न्यौपानेले यस खानेपानी योजनालाई अष्ट ज युएसएका अध्यक्ष तथा अष्ट ज अनुसन्धान तथा विकास केन्द्र नेपाल (आरडिसी) का पूर्वअध्यक्ष डा. दुर्गादत्त पौडेलले विशेष सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले योजना सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय आफै जुटनुपर्ने आवश्यकतामा जोड दिए । खानेपानीको अभावमा धेरै गाँउबाट विस्थापित भए, अहिले ढिलै भएपनि गाउँमा पानी आयो खुशी छौँ स्थानीय दलबहादुर रानाले भने । ‘खानेपानीको जोहो गर्न हाम्रा आमादिदि बहिनीले धेरै समय खर्चिनु परेको थियो, अब घरघरमै खानेपानी आएको छ, यसबाट हामी धेरै उत्साहित भएका छौँ’ उनले थपे ।
कार्यक्रममा इन्टरनेशनल पार्टनर रोटरी क्लब अफ होनोलुल सनसेटको तर्फबाट डा.दुर्गादत्त पौडेल, अर्जुन अर्याल र मार्क हरविन्सनले अमेरिकाबाट जुम मार्फत चुँदेर खानेपानी आयोजनाका बारेमा आ-आफ्नो धारणा राखेको रोटरी क्लब अफ दमौलीकी सचिव बिना कैनीले जानकारी दिइन् ।

कार्यक्रममा व्यास-५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, अष्ट जका प्रतिनिधि विदुर कोइराला, परियोजनाका इन्जिनियर प्रकाश शर्मा लगायतले पनि योजनाका बारेमा धारणा राखेका थिए । कार्यक्रममा जग्गादाताहरु हेमा वाग्ले, रबि गौली र मनिषा गौलीलाई सम्मान गरिएको थियो ।

एक करोड १६ लाख ४० हजार २ सय रुपैयाँको लागतमा सम्पन्न उक्त खानेपानी आयोजनाको कुल लागत मध्ये ८४ लाख ८१ हजार ६ सय ६७ रुपैयाँ रोटरी क्लब अफ होनोलुल सेनसेटबाट प्राप्त भएको र बाकीँ ३१ लाख ५८ हजार ५ सय ४३ रुपैपाँ नगरपालिकाले सहयोग गरेको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । इलेक्टिक लिफटिङ प्रविधिको प्रयोग गरी ८ सय ४५ मिटर दुरीको मुहानबाट पानी ल्याई ३ वटा टयाङ्कीमा संकलन गरी प्रत्येक घरमा खानेपानी वितरण गरिएको छ । ५० घनमिटर, २० र २ घनमिटरको टयाङ्कीमा प्रत्येक एक घण्टामा १० हजार पानी संकलन हुनेछ । उक्त खानेपानी योजनाबाट चुँदेर, रानीटारी र नेपालटारका २ सय २९ घरघुरीका एक हजार एक सय ८ जना लाभान्वित हुने श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker