तनहुँमा कृषक आकर्षित नहुँदा लोपको संघारमा रेशम किरा खेती, प्रदर्शनी र बीउ संरक्षणका लागि मात्रै खेती गरिदै

बन्दीपुर : सेतो सुनको उपमा पाएको रेशम किरा खेतीमा कृषकको आकर्षण नदेखिदा लोपको संघारमा पुगेको छ । विश्वबजारमा रेशमको धागोबाट उत्पादित कपडाको मूल्य र माग उच्च रहे पनि नेपालमा भने रेशम किराको खेती हुँदैन ।
तनहुँमा रेशम किराको खेती प्रदर्शनीमा मात्र सीमित बनेको व्यवसायिक कीट विकास केन्द्र, बन्दीपुरका निमित्त प्रमुख भवनाथ देवकोटा बताउँछन् ।
वि.सं २०७९ सम्ममा गण्डकी प्रदेशका केही स्थानमा रेशम किराको व्यवसायिक खेती हुन्थ्यो । तर त्यसयता कृषकले छाडे । कार्यालयले बीउ संरक्षणका लागि आफैंले खेती गर्दै आएको छ ।
वातावरणीय संवेदनशीलता, संरचनागत तयारीको कमी र स्थानीय बजार अभावले गर्दा किसानहरू यो खेतीप्रति आकर्षित हुन नसकेको देवकोटाको भनाइ छ । ‘रेशम किराको खेती अन्य बालीहरूको तुलनामा निकै संवेदनशील हुन्छ । वातावरण, प्रदूषण र तापक्रमको सानो परिवर्तनलेसमेत असर पार्ने भएकाले यसका लागि विशेष संरचना आवश्यक हुन्छ’, उनले भने, ‘तर यस्ता पूर्वाधार निर्माण हुन नसक्दा किसानहरू रेशम किराको खेतीबाट पछि हट्न थालेका हुन् ।’
आर्थिक वर्ष २०७९÷८० देखि गण्डकी प्रदेशका कृषकहरुले रेशम किराको खेती छाडेको उनले बताए । ‘रेशम किरा खेती निकै संवेदनशील खेती हो । यो खेतीका लागि आवश्यक पर्ने किम्बू घाँस पाखो वा खरबारी जस्ता जग्गामा लगाउनुपर्ने थियो’, उनले भने, ‘खेती गर्दै आएको खेतबारीमै कृषकलाई किम्बु घाँस खेती गर्न प्रेरित गरियो जुन गलत थियो । यसो गर्दा अरु खाद्यान्न उत्पादन घट्यो। रेशम किरा खेती पनि सहज भएन । जसले गर्दा कृषहरु रेशम किरा खेती छाडेर पुरानै खेतीतर्फ फर्किए ।’
तरकारी, धान, फलफूल उत्पादन र बिक्रीसँग तुलना गर्दा रेशम किराको खेतीको बजारीकरण र आम्दानीमा समस्या देखिएपछि कृषकहरुले किम्बूको बोटविरुवा काटेर पुनः तरकारी, फलफूल तथा धान लगाउन थाले । ‘२०७९ साल अघिसम्म रेशम किराको खेती गर्ने कृषकहरु फाट्टफुट्ट भेटिन्थे’, उनले भने, ‘अहिले यही कीट विकास केन्द्रमा मात्रै खेती हुन्छ । तर यो पनि प्रदर्शनीमै सीमित बनेको छ ।’
बन्दीपुर घुम्न आउने विदेशी पर्यटकहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, आन्तरिक पर्यटकहरु रेशम किराको खेती हेर्न आउने गरेको उनले बताए । उनका अनुसार रेशम विकास केन्द्र, खोपासी काभ्रेपलाञ्चोकबाट अण्डा ल्याउने गरिन्छ । उक्त अण्डालाई २७÷२८ डिग्री सेल्सियाससम्मको तापक्रममा राखेर सानो किरा निकाल्ने उनले बताए ।
‘ती किरालाई खानाको लागि किम्बूको पात दिने हो । अण्डाबाट किरा निस्किएको दुई÷तीन दिनको अन्तरमा तेस्रो र चौथो चरण पार हुन्छ । पाचौं चरण पार गर्न ९ देखि १० दिन लाग्छ’, उनले भने, ‘पाचौं चरणमा पुगेपछि किराले ¥याल निकालेर कोकुन बनाउँछ र त्यही कोकुनबाट रेशमको धागो निकाल्ने हो ।’
एउटा राम्रो कोकुनबाट करिब ८ सय मिटर लामो रेशम धागो निस्कने उनले बताए । खोपासीमा कोकुन काटेर २ वटा माउ (सि १२ र जे १२) निकालेर मेटिङ गरी अरु अण्डा उत्पादन हुन्छ । मेटिङपछि उत्पादित अण्डा दाङ, इटहरी, विराटनगर लगायतका क्षेत्रका व्यवसायिक किसानलाई वितरण गर्ने गरिएको छ । उनले भने, ‘हाम्रो यस केन्द्रले वार्षिक रूपमा बीउ संरक्षण गर्ने बाहेक अन्य उत्पादन गर्न सकेको छैन ।’
केन्द्रले अहिले एक लाख २० हजार वटा अण्डा ल्याएर खेती गरिरहेको र यसबाट करिव ९० किलोसम्म कोकुन उत्पादन हुने जनाएको छ । वर्षमा दुई सिजन रेशम किरा खेतीका लागि उपयुक्त वातावरण रहे पनि आवश्यक भौतिक पूर्वाधार तथा वातावरणलाई अनुकूल बनाउन सकिएमा ४ सिजनसम्म उत्पादन लिन सकिने उनले बताए ।
७ हेक्टर क्षेत्रफलमा फैलिएको बन्दीपुरस्थित व्यवसायिक कीट विकास केन्द्रमा रेशम किरासँगै च्याउ खेती र मौरी पालन पनि हुँदै आएको छ । प्रदेश सरकार मातहत रहेको यस कार्यालयले प्रदेशका ११ जिल्लामा सेवा दिँदै आएको छ । व्यवसायिक रुपमा च्याउ र मौरी पालन गर्ने कृषकहरुलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।
१० जनाको दरबन्दी रहे पनि ९ जना मात्रै उपलब्ध रहेको उनले बताए । ‘उपलब्ध जनशक्तिको भरमा सबै जिल्लामा सेवा दिन समस्या नै छ’, निमित्त प्रमुख देवकोटाले भने, ‘आगामी वर्षबाट तनहुँ जिल्लामात्रै सेवा क्षेत्र कायम गरी यहाँको माग र आवश्यकता अनुसार खेती गर्ने र यस व्यवसायिक कीट विकास केन्द्रलाई प्रदर्शनीका रुपमा अगाडि बढाउने योजना छ। अध्ययन अवलोकन लागि आउनेहरुबाट केही शुल्क लिएर राजश्व वृद्धि गर्ने योजनामा केन्द्र रहेको छ ।’
यस्तै, रेशम खेतीको अन्तर्राष्ट्रिय प्रचारप्रसार, समन्वय र व्यवस्थापनकालागि सन् १९६० देखि ‘अन्तर्राष्ट्रिय रेशम संघ’ कार्यरत छ । सन् १९७० मा संयुक्त राष्ट्र संघमा दर्ता भई फ्रान्सको लियोनमा मुख्यालय रहेको यस संघको मुख्य कार्यालय सन् २०१३ मा भारतको बैंगलोरमा स्थानान्तरण गरिएको छ । संघको मुख्यालय भारतको बैंगलोरमा स्थानान्तरणले पनि दक्षिण एसियामा रेशम खेतीको संभाव्यता र भविष्य इंगित गर्छ ।
सन् २०१७ मा आएर नेपाल पनि यसको सदस्य बनेको छ । यसको सदस्य राष्ट्रको हैसियतमा भविष्यमा नेपाली रेशमको अन्तर्राष्ट्रिय बजारमा पहिचान एवं पहुँच हुने कुरामा आशावादी हुन सकिन्छ । हालसम्म नेपाललगायत १९ राष्ट्र यसको सदस्य रहिसकेका छन् ।
रेशम खेतीकोे विश्व इतिहास हेर्दा जापान, कोरिया, चीनलगायत देशले रेशम खेतीको माध्यमले नै विकासको फड्को मारेका हुन् । नेपालको हावापानी रेशम खेतीका लागि उपर्युक्त हुनु, रेशम धागो र कपडाको माग दिन÷प्रतिदिन बढ्नु, सरकारी पूर्वाधारको विकास भइसकेको हुनु र रेशम निर्यातजन्य उत्पादन भएको र केही हदसम्म कृषकबीच पुगिसकेको प्रविधि भएका कारण रेशम खेतीलाई प्राथमिकताका साथ अघि लान सकेमा नेपाललाई फाइदा नै पुग्ने देखिन्छ ।
रेशम खेतीको विकास र वृद्धिका लागि प्रविधि विकास र अनुसन्धानलाई केन्द्रीय सरकारको मातहत राखी उत्पादन र उद्योग प्रदेश सरकारको मातहत राखी कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker