माटोका आकर्षक गरगहना
निशा थापा मगर/दमौली
तनहुँको व्यास नगरपालिका-१३ आँपस्वाराकी मेनुका बि.क.ले माटोबाट गहना बनाउन थालेको १८ वर्ष बित्यो । आफुले बनाएको गहना बेचेरै घर्रखर्च चलाउने गरेतापनि पछिल्लो समय भने गहनाको माग खस्किएको मेनुका बताउँछिन् ।
बजारमा विभिन्न खाले गरगहनाहरु पाउन थालेसंगै आफुले बनाएको माटोका गहनाको बिक्री कम भएको उनले बताइन् । मेनुका भन्छिन्, ‘पहिले गहनाको माग धेरै भएकाले श्रीमान्ले पनि बनाउन सहयोग गर्नुहुन्थ्यो तर अहिले बनाएर राखेको गहनाले पनि बजार पाउन छाडेको छ ।’
५९ वर्षकी मेनुकाले माटोको भाँडा बनाउने कुमाल समुदायसंग माटोको गहना बनाउन सिकेकी थिइन् । ‘पहिले बुढाले सुनको गहना बनाउने काम गर्नुहुन्थ्यो, त्यही हेर्दाहेर्दै मलाई पनि सिक्न मन लाग्यो र जामुने दबुङ्गका कुमाल समुदायहरुसंग तालिम लिए । अहिले १८ वर्ष भयो माटोको गरगहना बनाउँदै आएको छु ।’ उनले काली माटोबाट जन्तर, नौगेडीको माला, कण्ठमाला, चन्द्रमा लगायतका गरगहना बनाउने गर्दछिन् ।
उनले हातैले कालो माटोलाई विभिन्न गरगहनाको आकृतिमा ढालेर आगोमा पोली आवश्यक रङको प्रयोग गरेर आकर्षक गहना बनाउँछिन् । उनले बनाएका गहना झट्टा हेर्दा नम्बरी सुनकै जस्तो देखिन्छन् । एक दिनमा २ देखि ३ वटासम्म कण्ठमाला तयार हुने उनले बताइन् । उनले बनाएका माटोका जन्तर, कण्ठमाला आँपस्वाराका दिदीबहिनीले पनि लगाउने गरेका छन् ।
विशेषगरी जनजाति समुदायले लगाउने कण्ठमाला बढि बिक्री हुने उनले बताइन् । ‘गरगहनाको पसल थापेर बसेको होइन, गाउँगाउँ डुलेर माला बेच्थे’, उनले भनिन्, ‘पहिले झोलामा लिएर गएको गहना सबै बिक्री हुन्थ्यो । आमदानी पनि राम्रै हुन्थ्यो । कोरोना कहरपछि गाउँगाउँ हिडेको पनि छैन र बिक्री हुन छाड्यो ।’

जिल्लाभित्रका ग्रामीण क्षेत्र जस्तै पोखरीभञ्ज्याङ, घिरिङ, देवघाट, कोटा, बैदी, छिपछिपे साथै आसपासका छिमेकी जिल्लाका गाउँगाउँसम्म पनि गहना बेच्न जाने उनले सुनाइन । ‘एउटै मालालाई एक हजारसम्म बेच्ने गर्दथे अहिले चार सय रुपैयाँमा पनि बिक्री हुन छाडेको छ’, मेनुकाले भनिन्, ‘माटोको गहना बनाउने धेरै भएकाले र बजारमा सस्तोमा बेच्न थालेकाले आफुले पनि मुल्य घटाउनु परेको छ । पहिला माटोका गरगहना बेचेरै घर्रखर्च चलाइ छोराछोरी समेत त्यसैको आमदानीबाट पढाएको थिए । अहिले त गहना बिक्री हुनै मुस्किल छ ।’
यस्तै, मेनुकाले बनाएको माटाका गहना आँपस्वारा दलित सामुदायिक होमस्टेमा आउने पाहुँनाले पनि चिनोका रुपमा लिएर जाने गरेको होमस्टे सञ्चालक देवि सुनारले बताइन् । उनले भनिन्, ‘होमस्टेबाट पनि माटोको गहनाको बजारीकरणमा सहयोग गरेको थियो, तर कोरोना संक्रमणपछि होमस्टेमा आउने पहसँनाको संख्या घट्यो ।’
गत हप्ता कन्सेप्ट नेपालले आयोजना गरेको आँपस्वारा काव्ययात्रा-२०७९ मा रैथाने सीप संरक्षण गर्दै आएको भनि मेनुकालाई १० हजार नगद र सम्मानपत्रबाट समेत सम्मान गरिएको थियो ।










