माटोका आकर्षक गरगहना

निशा थापा मगर/दमौली

तनहुँको व्यास नगरपालिका-१३ आँपस्वाराकी मेनुका बि.क.ले माटोबाट गहना बनाउन थालेको १८ वर्ष बित्यो । आफुले बनाएको गहना बेचेरै घर्रखर्च चलाउने गरेतापनि पछिल्लो समय भने गहनाको माग खस्किएको मेनुका बताउँछिन् ।

बजारमा विभिन्न खाले गरगहनाहरु पाउन थालेसंगै आफुले बनाएको माटोका गहनाको बिक्री कम भएको उनले बताइन् । मेनुका भन्छिन्, ‘पहिले गहनाको माग धेरै भएकाले श्रीमान्ले पनि बनाउन सहयोग गर्नुहुन्थ्यो तर अहिले बनाएर राखेको गहनाले पनि बजार पाउन छाडेको छ ।’

५९ वर्षकी मेनुकाले माटोको भाँडा बनाउने कुमाल समुदायसंग माटोको गहना बनाउन सिकेकी थिइन् । ‘पहिले बुढाले सुनको गहना बनाउने काम गर्नुहुन्थ्यो, त्यही हेर्दाहेर्दै मलाई पनि सिक्न मन लाग्यो र जामुने दबुङ्गका कुमाल समुदायहरुसंग तालिम लिए । अहिले १८ वर्ष भयो माटोको गरगहना बनाउँदै आएको छु ।’ उनले काली माटोबाट जन्तर, नौगेडीको माला, कण्ठमाला, चन्द्रमा लगायतका गरगहना बनाउने गर्दछिन् ।

उनले हातैले कालो माटोलाई विभिन्न गरगहनाको आकृतिमा ढालेर आगोमा पोली आवश्यक रङको प्रयोग गरेर आकर्षक गहना बनाउँछिन् । उनले बनाएका गहना झट्टा हेर्दा नम्बरी सुनकै जस्तो देखिन्छन् । एक दिनमा २ देखि ३ वटासम्म कण्ठमाला तयार हुने उनले बताइन् । उनले बनाएका माटोका जन्तर, कण्ठमाला आँपस्वाराका दिदीबहिनीले पनि लगाउने गरेका छन् ।

विशेषगरी जनजाति समुदायले लगाउने कण्ठमाला बढि बिक्री हुने उनले बताइन् । ‘गरगहनाको पसल थापेर बसेको होइन, गाउँगाउँ डुलेर माला बेच्थे’, उनले भनिन्, ‘पहिले झोलामा लिएर गएको गहना सबै बिक्री हुन्थ्यो । आमदानी पनि राम्रै हुन्थ्यो । कोरोना कहरपछि गाउँगाउँ हिडेको पनि छैन र बिक्री हुन छाड्यो ।’

जिल्लाभित्रका ग्रामीण क्षेत्र जस्तै पोखरीभञ्ज्याङ, घिरिङ, देवघाट, कोटा, बैदी, छिपछिपे साथै आसपासका छिमेकी जिल्लाका गाउँगाउँसम्म पनि गहना बेच्न जाने उनले सुनाइन । ‘एउटै मालालाई एक हजारसम्म बेच्ने गर्दथे अहिले चार सय रुपैयाँमा पनि बिक्री हुन छाडेको छ’, मेनुकाले भनिन्, ‘माटोको गहना बनाउने धेरै भएकाले र बजारमा सस्तोमा बेच्न थालेकाले आफुले पनि मुल्य घटाउनु परेको छ । पहिला माटोका गरगहना बेचेरै घर्रखर्च चलाइ छोराछोरी समेत त्यसैको आमदानीबाट पढाएको थिए । अहिले त गहना बिक्री हुनै मुस्किल छ ।’

यस्तै, मेनुकाले बनाएको माटाका गहना आँपस्वारा दलित सामुदायिक होमस्टेमा आउने पाहुँनाले पनि चिनोका रुपमा लिएर जाने गरेको होमस्टे सञ्चालक देवि सुनारले बताइन् । उनले भनिन्, ‘होमस्टेबाट पनि माटोको गहनाको बजारीकरणमा सहयोग गरेको थियो, तर कोरोना संक्रमणपछि होमस्टेमा आउने पहसँनाको संख्या घट्यो ।’

गत हप्ता कन्सेप्ट नेपालले आयोजना गरेको आँपस्वारा काव्ययात्रा-२०७९ मा रैथाने सीप संरक्षण गर्दै आएको भनि मेनुकालाई १० हजार नगद र सम्मानपत्रबाट समेत सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker