मनसुनको ६० दिनः देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ ।

गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको आजसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो ।

जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ थियो ।

उहाँका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन्भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ ।

“असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । वर्षा नै नभई रातको समयमा अकस्मात बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन् । बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अङ्ग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ”, प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–८ इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइ र बालीनाली लगाउनुपर्ने बेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख छ ।

पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेस प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने सङ्घीय सरकारले यही साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेस केन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ ।

तीनै तहका सरकार र विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा दीर्घकालीन समाधानका लागि पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker