फोहोर व्यवस्थापनमा शुक्लागण्डकी : फोहोरलाई स्रोतमा बदल्ने तयारी, कसेरीमा आधुनिक प्रशोधन केन्द्र

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान दिने उद्देश्यले आधुनिक प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि सेती नदी किनारमा फोहोर थुपारेर आलोचना खेप्दै आएको नगरपालिकाले अब फोहोरलाई प्रशोधन गरी आर्थिक स्रोतमा बदल्ने तयारी गरेको हो ।
शुक्लागण्डकी–५ कसेरीमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा अत्याधुनिक उपकरण जडान भइरहेको छ। यो केन्द्र असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए । उनले भने, ‘यस कार्यका लागि शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच गत बैशाखमा त्रिपक्षीय सम्झौता गरिएको छ ।’
उक्त सम्झौताअनुसार सूर्य नेपालले करिब २ करोड ४ लाख रुपैयाँको लगानीमा पूर्वाधार निर्माण तथा आवश्यक मेसिनरी उपलब्ध गराउँदैछ भने फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडले लिने भएको छ ।
नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’का अनुसार प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहोरको अनियन्त्रित थुप्रो अन्त्य हुनेछ । उनले भने, ‘टोल विकास संस्थासँग सहकार्य गरेर घरमै फोहोर वर्गीकरण गरी संकलन गर्ने तयारी छ। यसले पुरानो समस्या समाधान मात्र होइन, आयआर्जनको बाटो पनि खोल्छ ।’
हाल निर्माणाधीन केन्द्रमा भेर्मी कम्पोस्ट पिट, अर्गानिक र डिस्पोजल वेस्ट ट्रष्ट, प्लेटिजिङ र प्रिसटिङ एरिया, प्रशोधन केन्द्र, विद्युतीय घर, शौचालय, क्यान्टिन, कार्यालय र सुरक्षाकर्मी घरलगायत ११ युनिट निर्माण भइरहेको छ ।
फोहोरमैला व्यवस्थापन शाखाका इञ्जिनियर भिम सुवेदीका अनुसार सडक, विद्युत् र खानेपानी जस्ता पूर्वाधार निर्माण पनि सँगसँगै भइरहेको छ । असोजदेखि प्रशोधन कार्य औपचारिक रूपमा सुरु हुने उनले बताए ।
यसअघि पनि नगरपालिकाले फोहोरमैला केन्द्रका लागि विभिन्न चरणमा लगानी गरेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा करिब २४ लाख ७० हजार रुपैयाँमा ट्रष्ट निर्माण, २०७५/०७६ मा सडक स्तरोन्नति गर्न ५२ लाख, २०८०/८१ मा कम्पाउण्ड र ट्रष्ट निर्माणका लागि ५२ लाख रुपैयाँ खर्च भएको र गत आर्थिक वर्षमा सेती नदीको कटान रोक्न करिब ४५ लाख रुपैयाँको तटबन्धन गरिएको छ ।
तर अघिल्ला जनप्रतिनिधिले फोहोरमैला केन्द्र सञ्चालन गर्न नसकेका कारण करोडौं लगानी निष्प्रभावी बनेको बताइएको छ । २०७९ मा निर्वाचित जनप्रतिनिधि आएपछि हेटौंडा, बाग्मति, तिलोत्तमा र वालिङ नगरपालिकामा सरसफाइ तथा व्यवस्थापन अध्ययन भ्रमणका नाममा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च भए पनि व्यवहारिक परिणाम देखिएको थिएन ।
अब भने शुक्लागण्डकीले फोहोरलाई व्यवस्थित प्रशोधनमार्फत आयस्रोतमा रूपान्तरण गर्ने ठोस प्रयास थालेको छ। प्रशोधन केन्द्र सञ्चालनमा आएपछि सेती नदी किनारमा फोहोर फाल्ने समस्या अन्त्य हुने र नगर सरसफाइमा उल्लेखनीय सुधार हुने अपेक्षा नगरपालिकाले गरेको छ ।










