वनको आम्दानीले बाँझो खेतमा फलायो १८० मुरी धान

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा रहेको बाराही सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानीलाई स्थानीयको खाद्य सुरक्षा र आयआर्जनसँग जोडेको छ । वन संरक्षणबाट प्राप्त आम्दानी बाँडफाँटमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा बाँझो खेतमा अन्न फल्नुका साथै उपभोक्ताले प्रत्यक्ष लाभ लिन पाएका छन् ।
समूहले वनको आम्दानीबाट जग्गा बन्धकीमा लिएर गर्दै आएको सामूहिक खेतीबाट यस वर्ष १८० मुरी धान उत्पादन गरेको छ । उक्त धान १६ परिवारलाई बाँडिएको समूहले जनाएको छ । वर्षौंदेखि बाँझो रहेको ३६ रोपनी खेतमा सात वर्षदेखि निरन्तर सामूहिक खेती हुँदै आएको छ ।
समूहले आठ लाख २५ हजार रुपैयाँ खर्च गरेर ३६ रोपनी जग्गा बन्धकीमा लिई खेती गर्दै आएको हो । धानसँगै आलु र मकैसमेत उत्पादन गर्दै आएको समूहले यस वर्षको धान १६ परिवारलाई वितरण गरेको छ । प्रत्येक परिवारले दुई चरणमा गरी ११ मुरीभन्दा बढी धान पाएका छन् ।
सामूहिक खेती सुरु हुनुअघि उक्त जमिन बाँझै थियो । खेती गर्न चाहने किसानले अधियाँमा लगाउँदा उत्पादनको आधा हिस्सा जग्गाधनीलाई बुझाउनुपर्ने अवस्था थियो । अहिले समूहले सामूहिक लगानी र श्रमबाट उत्पादन गरेको सम्पूर्ण अन्न सहभागी परिवारले उपभोग गर्न पाएका छन् ।
सामूहिक खेतीमा आबद्ध स्थानीय किसान दिलबहादुर रामदामले वनको आम्दानीबाट गरिएको लगानीले किसानलाई खेतीप्रति उत्साहित बनाएको बताए। ‘पहिले अधियाँ खेती गर्दा उत्पादनको आधा हिस्सा मात्रै पाइन्थ्यो । अहिले सामूहिक खेतीबाट भएको उत्पादन सबै सहभागी परिवारले बाँडेर लिन पाएका छौँ’, उनले भने ।
समूहका अध्यक्ष मुक्तिनाथ खनालले सामुदायिक वनको आम्दानीबाट सबै उपभोक्ताले प्रत्यक्ष लाभ लिन सकून् भन्ने उद्देश्यले सामूहिक खेती सुरु गरिएको बताए। वनको आम्दानीलाई उत्पादनसँग जोड्दा बाँझो जमिनको सदुपयोग हुनुका साथै स्थानीयस्तरमा खाद्यान्न उत्पादन र उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुगेको उनको भनाइ छ ।
सामुदायिक वनको आम्दानीलाई वन व्यवस्थापन र संरक्षणमा मात्र खर्च गर्नुपर्ने सोचभन्दा बाहिर निस्केर स्थानीय उत्पादन र रोजगारीसँग जोड्ने अभ्यास प्रभावकारी देखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बताए । उनका अनुसार सामुदायिक वनले वन संरक्षणसँगै गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र समुदायको आर्थिक विकासमा समेत लगानी गर्न आवश्यक छ ।
समूहले आगामी दिनमा सामूहिक खेतीलाई थप विस्तार र व्यवस्थित गर्ने योजना बनाएको छ । खेतीको लागत घटाउन धान काट्ने मेसिन र खेत जोत्ने ट्याक्टरको व्यवस्था गर्नुपर्ने उपभोक्ताको माग छ । यसैगरी उत्पादित पराललाई पशुपालनमा उपयोग गर्ने र वनको आम्दानीबाट पाडापाडी खरिद गरी उपभोक्तालाई पशुपालनमा जोड्ने योजना पनि समूहले अघि सारेको छ ।
सामुदायिक वनलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्न सकिने बाराही सामुदायिक वनको अभ्यासले देखाएको छ । वनको आम्दानीबाट बाँझो जमिनमा खेती, खाद्यान्न उत्पादन र पशुपालन विस्तार गर्न सके सामुदायिक वन संरक्षणको दिगोपनसँगै स्थानीयको जीविकोपार्जनमा समेत योगदान पुग्ने देखिन्छ ।










