तनहुँको आँवुखैरेनी डेंगु संक्रमणको हटस्पोट बन्दै, संक्रमित बढेपछि दुई विद्यालय बन्द

तनहुँ । तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगु संक्रमणको हाटस्पोट बन्दै गएको छ । गत जेठ ३१ गते पहिलो डेंगु संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक ३५/४० जनामा संक्रमण देखिन थालेको छ ।
गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पतालमा मात्रै मंगलबारसम्म ३२९ जनामा डेंगु संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डिबी क्षेत्रीले बताए । उनका अनुसार आँवुखैरेनीको वडा नं. ३ क्षेत्रका बासिन्दा डेंगु संक्रमणबाट बढी प्रभावित भएका छन् ।
अस्पतालमा गोरखा र मुग्लिन क्षेत्रबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेपनि बढीमात्रमा संक्रमित आँवुखैरेनीकै रहेको प्रमुख क्षेत्रीले बताए । उनले भने, ‘डेंगु संक्रमितको संख्या दैनिक बढ्दै गएको छ, अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कतिपय विरामी परिक्षणको दायारमै आइपुग्नु भएको छैन भने कति उपचारका लागि अन्यत्र समेत जानु भएको होला ।’
स्वास्थ्य कार्यालय तनहुँका अनुसार गत असार १ गतेदेखि मंगलबारसम्म जिल्लामा ६२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको आँवुखैरेनी गाउँपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुवारका अनुसार आँवुखैरेनी गाउँपालिकामा मंगलबारसम्म ४२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
आँवुखैरेनीका स्वास्थ्य संस्थामा आँवुखैरेनीसंगै छिमेकी जिल्ला गोरखाबाट समेत विरामीहरु उपचारका लागि आउने गरेका कारण संक्रमितको संख्या बढि देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म तनहुँको शुक्लागण्डकी नगरपालिकामा १०५ जना, व्यास नगरपालिकामा ५६ जना, बन्दीपुर गाउँपालिकामा ३५ जना र भिमाद नगरपालिकाका २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै, पालिकामा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि र बालबालिका समेत संक्रमित हुन थालेपछि दुई वटा विद्यालय बन्द गरिएको छ । आँबुखैरेनी–३ अन्तर्गतको मस्र्याङ्गदी बाल ज्योति इङलिस बोर्डिङ स्कुल र बाल शिक्षा सदन इङलिस बोर्डिङ स्कुल बन्द गर्न लगाइएको पालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी गराइन ।
‘डेंगु रोगको संक्रमणका कारण विद्यार्थीको बिरामी संख्या बढ्दै गइरहेकोले यी दुईवटा विद्यालय बन्द गर्नुहुन निर्देशनानुसार अनुरोध गरिएको छ’, उनले भनिन्, ‘अन्य विद्यालयहरुले समेत विद्यार्थीहरुको बिरामीको अवस्था अनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्नुहुन र डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पूर्व तयारी तथा विशेष सतर्कता अपनाउनु हुन साथै उपचारमा समस्या भएका तथा बीमा नभएका विद्यार्थीहरुलाई आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत रहेको जानकारी गराइएको छ ।’
यस्तै, पालिकामा डेंगु संक्रमण फैलदै गएपछि गाउँपालिकाले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । पालिकाले डेंगु संक्रमण फैलाउने लामखुट्टे बस्नसक्ने सम्भावित ठाउँको पहिचान गरी ‘खोज र नष्ट गर’ अभियानलाई तीब्रता दिएको छ भने डेंगु प्रभावित क्षेत्रमा किटनासक औषधी छर्कने कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
डेंगु संक्रमणका कारण तनहुँका एक पुरुषको मृत्यु भइसकेको छ । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको बताइएको छ । मृतक व्यक्तिमा दीर्घरोगको समस्या समेत रहेको बताइएको छ ।
तनहुँमा गत वर्ष डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने करिब ८ हजार जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष ७३ जिल्लामा डेंगु फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका जिल्लामा डेंगुका बिरामी देखापरेका छैनन् ।
एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । अब डेंगुका बिरामी बढ्नसक्ने महाशाखाको अनुमान छ ।
एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।
डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फूल नष्ट गर्नुपर्दछ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ ।










