भानुमा चैत्र ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

तनहुँको भानु नगरपालिकाले यही चैत्र ४ देखि ६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा स्थानीय स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले भानु नगरपालिका-२ नारेश्वरटार स्थित होरालो शाशिस माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतियोगिताको संयोजन तथा समन्वय भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गर्ने र खेल व्यवस्थापनको जिम्मेवारी केन्द्र विद्यालयले लिने बैठकले निर्णय गरेको छ ।
प्रतियोगितामा भलिबल र एथलेटिक खेलहरु मात्र संलग्न गराइने भएको छ । जसमा भलिवल (छात्र/छत्रा), एथलेटिकको दौड (टर्याक तर्फ) छात्रको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४८१०० मिटर रिले र ४८४०० मिटर रिले समावेश हुने बताइएको छ । त्यसैगरी उफ्रने र फ्याँक्ने फिल्ड तर्फ छात्रको हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभ्लिङ् थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड हुनेछ भने छात्रा तर्फ हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभ्लिङ् थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड सञ्चालन गरिने भएको छ ।
भानु नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुले अनिवार्य रुपमा विद्यार्थी गराउनु पर्ने र आधारभूत तहका विद्यालयहरुले ऐच्छिक रुपमा सहभागी हुन पाउने बैठकले निर्णय गरेको छ ।
प्रतियोगिगतामा १७ वर्ष भित्रका छात्रछात्राहरुले मात्र भाग लिन पाउनेछन् । यसमा खेलाडीको जन्ममिति २०६० फागुन मसान्त भन्दा पछि भएको हुनुपर्नेछ अर्थात् खेलाडी १८ वर्षभन्दा कम उमेरको हुनपर्ने व्यवस्था गरिएको छ । सहभागी हुने खेलाडी विद्यार्थीहरुले समितिले तोके बमोजिमको खाजा खर्च तथा यातायात खर्च उपलब्ध गराइने भएको छ ।
निर्देशन समितिले रिक्त रहेका केही पदहरु पनि मनोनयनद्वारा पूर्ति गरेको छ । बैठकले सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, विव्यस तथा अभिभावकहरुलाई यस प्रतियोगिताका लागि आफ्ना विद्यालयका छात्र छात्राहरुलाई तालिम प्रशिक्षण दिई तयारी गरी सहभागि गराउन आग्रह गरिएको छ ।










