शैक्षिक क्षेत्रको सुधारका लागि भानुमा तीन कार्यविधि अनुमोदन

भानु : तनहुँको भानु नगरकार्यपालिकाले नगर शिक्षा समितिको निर्णय तथा सिफारिसमा आधारित तीनवटा नयाँ कार्यविधि अनुमोदन गरेको छ । अनुमोदित कार्यविधिहरुमा (१) शिक्षकको आन्तरिक सरुवा तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२, (२) विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ र (३) करार शिक्षक छनोट सम्बन्धी आन्तरिक कार्यविधि, २०८२ रहेका छन् ।

आन्तरिक सरुवा कार्यविधि अनुसार अब नगरभित्रका शिक्षकहरुले सरुवाका लागि निवेदन दिन सक्नेछन् । एउटै विद्यालयमा पाँच वर्ष सेवा गरेका शिक्षकलाई निश्चित मापदण्डका आधारमा अन्य विद्यालयमा सरुवा गर्न सकिने व्यवस्था गरिएको छ।

सरुवा गर्दा शिक्षकको उमेर, हाल कार्यरत विद्यालयमा काम गरेको अवधि, कार्यसम्पादन मूल्याङ्कन, सिकाइ उपलब्धि स्तर, विषयगत शिक्षकको उपलब्धता, विशेष जिम्मेवारी, आधुनिक सूचना–प्रविधि र शिक्षण पद्धतिमा अद्यावधिकता जस्ता आधारलाई प्रमुख मानिनेछ। सरुवा प्रक्रिया प्रायः शैक्षिक सत्रको अन्त्यमा मात्र हुने व्यवस्था कार्यविधिमा प्रस्ट गरिएको छ ।

यस्तै, विद्यालयमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि रचनात्मक, विद्यार्थीकेन्द्रित र सिकाइ–मुखी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस अन्तर्गत विद्यालय स्तरमा व्यवसायिक तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतासहित लिपिबद्ध गरिएको छ ।

यस कार्यविधिअनुसार प्रत्येक महिनाको अन्तिम शुक्रबारलाई “बुक फ्रि डे” का रूपमा मनाइने छ, जसमा विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा संलग्न गराइनेछ। साथै, विद्यालयलाई यस क्षेत्रमा नगरपालिकाबाट निश्चित रकम अनुदानस्वरुप उपलब्ध गराइनेछ । अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई पुरस्कार र सम्मान दिने प्रावधान पनि गरिएको छ ।

सामुदायिक विद्यालयमा करार, राहत तथा नगर अनुदानका शिक्षक नियुक्ति प्रक्रिया अझ पारदर्शी र व्यवस्थित बनाउन करार शिक्षक छनोट कार्यविधि ल्याइएको हो । यसमा रिक्त पदको विज्ञापन, विषय विज्ञको रोष्टर निर्माण, परीक्षा सञ्चालनदेखि सिफारिससम्मका सबै चरणलाई स्पष्ट रूपमा समेटिएको छ ।

यसअघि करार शिक्षक छनोटका लागि हुने परीक्षा खर्च विद्यालयले व्यहोर्दै आएकोमा अबदेखि सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्नेछ । यस अन्तर्गत विषय विज्ञ र छनोट समितिका पदाधिकारीलाई दिइने बैठक भत्ता, यातायात खर्च, खानाखाजालगायत प्रशासनिक सम्पूर्ण खर्च नगरपालिकाले निश्चित मापदण्ड अनुसार व्यवस्था गर्नेछ । यसले विद्यालयलाई अतिरिक्त खर्च व्यवस्थापन गर्नुपर्ने झन्झट हटाइने अपेक्षा गरिएको छ ।

यी तीनवटा कार्यविधि अनुमोदनसँगै भानु नगरपालिकाले शिक्षक व्यवस्थापन, विद्यार्थीको सिर्जनात्मक गतिविधि र शिक्षक छनोट प्रक्रियामा नीतिगत स्पष्टता र पारदर्शिता ल्याएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताइएका छन् । उनले भने, ‘नगरवासीले यसलाई शैक्षिक सुधारतर्फको सकारात्मक कदमका रूपमा लिन सक्नेछन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker