बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो

बन्दीपुरमा टिकटकदेखि पदयात्रासम्म : पर्यटन फेरि लयमा

नारायण खड्का/भञ्ज्याङ

बन्दीपुर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे चोकबाट पूर्वतिर उकाली चढ्दै जाँदा आठ किलोमिटरपछि एकाएक वातावरण बदलिन्छ । मोटर चढेर केही उकालो काटेका पर्यटकहरू जब बन्दीपुर बजारको मुहानमा उत्रन्छन्, उनीहरूलाई पहिलो झट्कामै पुरानो बस्तीको जादूले रोक्छ– नेवारी शैलीका घर, काठका झ्याल–ढोका, साँघुरा गल्ली र यतिबेला जमाना बदलिए पनि संस्कारमा नघट्टेको स्थानीय भद्रता। यही दृष्यले बन्दीपुरलाई ‘पहाडकी रानी’को पहिचानमा फेरि स्थापित गरिरहेको छ ।

“पहिलोपटक आएकी, बन्दीपुरले लोभ्यायो”

चितवनकी दीपा थापा मगर पहिल्यैदेखि बन्दीपुरको चर्चा सुन्दै आएकी थिइन्। तर पहिलोपटक बजारको बिचमा उभिँदा उनी आफैँ अचम्म चकित भइन् । “बन्दीपुरको हावापानी र यहाँको संस्कार लोभलाग्दो रहेछ”, उनी भन्छिन्, “पुराना घरहरूको सौन्दर्य त झनै मन प¥यो । स्थानीयले सम्मानपूर्वक बोल्ने परम्परा आजभोलिको बजारमा पाउन गाह्रो हुन्छ, यहाँ त्यो बचेर बसेको रहेछ ।”

दीपाजस्तै प्रतिभा निउरे सापकोटा पनि केही समयअघि दोस्रोपटक बन्दीपुर फर्किइन् । “भक्तपुरे शैलीका घरहरूले बन्दीपुरलाई फरक बनाएको छ”, उनी बताउँछिन्, “यति संरक्षण भएको पुरानो बस्ती नेपालमा दुर्लभ छ ।”

मुस्ताङ हिँडेर फर्किएका काठमाडौँका प्रदीप जंगलाई पनि यही घर–बस्तीले लोभ्यायो । “एकैपटक यति धेरै पुराना संरचना देखेको थिइनँ”, उनी हाँस्दै भन्छन्, “नौलो अनुभूति भयो । बजार नै जीवित संग्रहालय जस्तो ।”

चितवनकी आशिका पौडेललाई भने बन्दीपुरको नयाँ आकर्षण ‘मिनी ग्रेटवाल’ मन प¥यो । “हाइकिङ गर्दै ग्रेटवाल पुगेपछि त चीनकै ग्रेटवाल सम्झना आयो”, उनले सुनाइन्, “बन्दीपुर सम्भावनायुक्त गन्तव्य हो, साथीहरूलाई पनि सिफारिस गर्छु ।”

सांस्कृतिक रौनक : पुराना घरसँगै नयाँ पुस्ताको ऊर्जा

बन्दीपुर बजारको हरेक बिहान फरक हुन्छ । कसैको हातमा क्यामेरा हुन्छ, कसैले उहि ठाउँमा टिकटक बनाउन पोशाक भाडामा लिएका हुन्छन्, कतै स्थानीयले पुरानै शैलीमा माटोको चुलो ताप्दै पर्यटकलाई सदाबहार सम्मानका साथ स्वागत गर्छन् ।

नेवारी शैलीका घरले सजिएको बजारमा अहिले ‘फोटो–संस्कृति’ पनि विकसित हुँदैछ । विभिन्न जातजातिका पोशाक लगाएर पर्यटकले तस्बिर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने क्रमले बजारमा रौनक थपेको छ । बन्दीपुर पुगेको मान्छेले आजकल आफूलाई ‘पोस्टकार्ड–फ्रेम’मा राखेर फोटो खिच्न रुचाउँछ ।

पर्यटकको चहलपहल : सुस्ताएको पर्यटन फेरि उदाएजस्तै

जेन–जी आन्दोलनका कारण केही समय पर्यटन प्रभावित भएको थियो । तर पछिल्लो समय बन्दीपुरले आफ्नो पुरानै लय फिर्ता मात्र ल्याएको छैन, अझ जीवन्त बनेको छ । बन्दीपुर होटल व्यवसायी संघका उपाध्यक्ष सुजन श्रेष्ठ भन्छन्– “पहिले शुक्रबार–शनिवार मात्र भीड हुन्थ्यो । अहिले भने दैनिकजसो पर्यटक आउँछन्। बजार फेरि उस्तै उत्साहमा फर्किएको छ ।”

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार हाल बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । “त्यसमध्ये दुई–तीन सयले रात बस्छन्”, प्रधान भन्छन्, “बन्दीपुरको पर्यटकीय छवि विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बलियो बन्दै गइरहेको छ।” उनका अनुसार बन्दीपुरमा हाल ६६ होटल सञ्चालनमा छन् र एकैदिन ४ हजार जनासम्मलाई बास दिने क्षमता छ ।

आन्तरिक पर्यटक : बन्दीपुरको मुख्य ऊर्जा

अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार विदेशीभन्दा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समयझन् बढेको छ । “कात्तिक–मंसिरमा त कलेज र विद्यालयका विद्यार्थीहरूको घुइँचो लाग्छ”, उनले भने, “घुमफिरका लागि बन्दीपुर सुरक्षित, शान्त र रमाइलो गन्तव्य भएकै कारण हो ।”

गत सात महिनामा मात्र ३२ हजार ७६० आन्तरिक पर्यटक बन्दीपुर पुगेका छन् । कात्तिक महिनामा त १७ हजार ५८ जना बन्दीपुर पुगेको तथ्याङ्क अनुसार वर्षको सबैभन्दा धेरै भीड यही महिनामा देखिएको हो । तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्याय भन्छन्, “आजका मानिस ‘कमाउन–रमाउन’ चाहन्छन् । बन्दीपुर नजिकै छ, स्वच्छ छ, पुरानो बस्ती छ, त्यसैले आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।”

विदेशी पर्यटक : ‘पहाडकी रानी’को अन्तर्राष्ट्रिय पहिचान

गत वर्ष चैतदेखि चालु वर्षको कात्तिकसम्म २१ हजार ७२५ विदेशी पर्यटक बन्दीपुर आएका छन् । सबैभन्दा बढी चिनियाँ पर्यटक रहेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक उल्लेखनीय छन् ।

वैशाखदेखि कात्तिकसम्म विदेशी आगमन विवरण :

वैशाख महिनामा ३ हजार २९७, जेठ महिनामा ३ हजार ३४२, असार महिनमा २ हजार ७६६, साउन २ हजार ७५, भदौ महिनामा १ हजार ८३२, असोज महिनमा ३ हजार ७८६, कात्तिक महिनमा ४ हजार ६२७ जना विदेशी पर्यटक आएको तथ्याङ्क छ। चिनियाँ पर्यटक प्रायः घुमफिरका लागि मात्र आउने गरेको र बास बस्न भने धेरैले पोखरा–चितवन रोज्ने गरेको बन्दीपुर प्रहरीले जनाएको छ ।

बन्दीपुरका प्रमुख गन्तव्यका रुपमा प्रकृति, संस्कृति र इतिहास एकै ठाउँमा पाउने सकिन्छ। बन्दीपुर यस्तो बस्ति हो जहाँ प्रकृति, संस्कृति र इतिहास तीनै तत्व समानान्तर रुपमा पाइन्छन् । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा–मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीनधारा, रानीबन, टुँडिखेल, मणि मुकुन्द सेन दरबार अवशेष, पदम पुस्तकालय बन्दीपुरमा पर्यटकका लागि आकर्षक गन्तव्य हुन् ।

यसबाहेक छेउछाउका रामकोट, सुनखरी, विन्धवासिनी, सूचना केन्द्र, झरना र पानीको फोहरा जस्ता ठाउँहरूले पनि पर्यटकलाई छोटो बसाइमै धेरै विकल्प दिन्छन् ।

नयाँ संरचनाबाट नयाँ ऊर्जा

यस्तै, पर्यटन वृद्धि सँगसँगै बन्दीपुरमा नयाँ पूर्वाधार निर्माणका योजना अघि बढाइएका छन्। थानीमाईमा सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने स्थान, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुल (ग्लास ब्रिज) यी संरचनाले बन्दीपुरलाई भविष्यमा अर्को स्तरको पर्यटकीय केन्द्रमा उकास्ने अपेक्षा गरिएको छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ : बसाइ लम्ब्याउने रणनीति

यस्तै, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा भन्छन्, “पर्यटकको बसाइ लम्ब्याउने लक्ष्यसहित २०२५ लाई बन्दीपुर भ्रमण वर्ष घोषणा गरेका छौँ । यहाँबाट हिमश्रृंखलाको दृश्य नै पर्याप्त आकर्षण हो ।” उनका अनुसार गत वर्ष मात्र २ लाख पर्यटकले बन्दीपुर घुमेका थिए जसमा ६० हजार विदेशी र डेढ लाख आन्तरिक थिए ।

डुम्रेबाट बन्दीपुर पुग्ने ८ किलोमिटरको उकालो यात्रा अहिले धेरै सहज छ । बाटो सुधारसँगै काठमाडौँ, पोखरा र चितवनबाट आउने पर्यटकको संख्या बढेको स्थानीयले बताएका छन् । बन्दीपुर पुगेपछि टुँडिखेलबाट अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रेको सुन्दर दृश्य देखिन्छ । यही दृश्य नै धेरै पर्यटकको लागि मुख्य प्रलोभन हो ।

पुरानो बस्तिको संरक्षण, नयाँ पर्यटनको सम्भावना

बन्दीपुर नेपालमा पुरानो बस्ती संरक्षणसहित पर्यटन विकासको उत्कृष्ट उदाहरण बन्न थालेको छ । यसले पुरानो संरचना केवल ‘इतिहास’ होइन, वर्तमान र भविष्यको आर्थिक सम्भावनाको आधार पनि बन्न सक्छ भन्ने देखाएको छ ।

पर्यटकहरूको घुइँचो, होटल व्यवसायीको उत्साह, युवा पुस्ताको रौनक, स्थानीयको सांस्कृतिक गर्व– यी सबैले बन्दीपुरलाई आज पुनः आफ्नो ‘सुनौलो चरण’मा पु¥याउँदैछन्। पुरानो घर, नयाँ अनुभूति- यही संयोजन बन्दीपुरको ब्रान्ड बनिरहेको छ । बन्दीपुर आज केवल बस्ती होइन, नेपालकै उदाउँदो पर्यटन–पहिचान बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker