बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो
बन्दीपुरमा टिकटकदेखि पदयात्रासम्म : पर्यटन फेरि लयमा

नारायण खड्का/भञ्ज्याङ
बन्दीपुर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे चोकबाट पूर्वतिर उकाली चढ्दै जाँदा आठ किलोमिटरपछि एकाएक वातावरण बदलिन्छ । मोटर चढेर केही उकालो काटेका पर्यटकहरू जब बन्दीपुर बजारको मुहानमा उत्रन्छन्, उनीहरूलाई पहिलो झट्कामै पुरानो बस्तीको जादूले रोक्छ– नेवारी शैलीका घर, काठका झ्याल–ढोका, साँघुरा गल्ली र यतिबेला जमाना बदलिए पनि संस्कारमा नघट्टेको स्थानीय भद्रता। यही दृष्यले बन्दीपुरलाई ‘पहाडकी रानी’को पहिचानमा फेरि स्थापित गरिरहेको छ ।
“पहिलोपटक आएकी, बन्दीपुरले लोभ्यायो”

चितवनकी दीपा थापा मगर पहिल्यैदेखि बन्दीपुरको चर्चा सुन्दै आएकी थिइन्। तर पहिलोपटक बजारको बिचमा उभिँदा उनी आफैँ अचम्म चकित भइन् । “बन्दीपुरको हावापानी र यहाँको संस्कार लोभलाग्दो रहेछ”, उनी भन्छिन्, “पुराना घरहरूको सौन्दर्य त झनै मन प¥यो । स्थानीयले सम्मानपूर्वक बोल्ने परम्परा आजभोलिको बजारमा पाउन गाह्रो हुन्छ, यहाँ त्यो बचेर बसेको रहेछ ।”
दीपाजस्तै प्रतिभा निउरे सापकोटा पनि केही समयअघि दोस्रोपटक बन्दीपुर फर्किइन् । “भक्तपुरे शैलीका घरहरूले बन्दीपुरलाई फरक बनाएको छ”, उनी बताउँछिन्, “यति संरक्षण भएको पुरानो बस्ती नेपालमा दुर्लभ छ ।”
मुस्ताङ हिँडेर फर्किएका काठमाडौँका प्रदीप जंगलाई पनि यही घर–बस्तीले लोभ्यायो । “एकैपटक यति धेरै पुराना संरचना देखेको थिइनँ”, उनी हाँस्दै भन्छन्, “नौलो अनुभूति भयो । बजार नै जीवित संग्रहालय जस्तो ।”

चितवनकी आशिका पौडेललाई भने बन्दीपुरको नयाँ आकर्षण ‘मिनी ग्रेटवाल’ मन प¥यो । “हाइकिङ गर्दै ग्रेटवाल पुगेपछि त चीनकै ग्रेटवाल सम्झना आयो”, उनले सुनाइन्, “बन्दीपुर सम्भावनायुक्त गन्तव्य हो, साथीहरूलाई पनि सिफारिस गर्छु ।”
सांस्कृतिक रौनक : पुराना घरसँगै नयाँ पुस्ताको ऊर्जा
बन्दीपुर बजारको हरेक बिहान फरक हुन्छ । कसैको हातमा क्यामेरा हुन्छ, कसैले उहि ठाउँमा टिकटक बनाउन पोशाक भाडामा लिएका हुन्छन्, कतै स्थानीयले पुरानै शैलीमा माटोको चुलो ताप्दै पर्यटकलाई सदाबहार सम्मानका साथ स्वागत गर्छन् ।
नेवारी शैलीका घरले सजिएको बजारमा अहिले ‘फोटो–संस्कृति’ पनि विकसित हुँदैछ । विभिन्न जातजातिका पोशाक लगाएर पर्यटकले तस्बिर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने क्रमले बजारमा रौनक थपेको छ । बन्दीपुर पुगेको मान्छेले आजकल आफूलाई ‘पोस्टकार्ड–फ्रेम’मा राखेर फोटो खिच्न रुचाउँछ ।

पर्यटकको चहलपहल : सुस्ताएको पर्यटन फेरि उदाएजस्तै
जेन–जी आन्दोलनका कारण केही समय पर्यटन प्रभावित भएको थियो । तर पछिल्लो समय बन्दीपुरले आफ्नो पुरानै लय फिर्ता मात्र ल्याएको छैन, अझ जीवन्त बनेको छ । बन्दीपुर होटल व्यवसायी संघका उपाध्यक्ष सुजन श्रेष्ठ भन्छन्– “पहिले शुक्रबार–शनिवार मात्र भीड हुन्थ्यो । अहिले भने दैनिकजसो पर्यटक आउँछन्। बजार फेरि उस्तै उत्साहमा फर्किएको छ ।”
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार हाल बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । “त्यसमध्ये दुई–तीन सयले रात बस्छन्”, प्रधान भन्छन्, “बन्दीपुरको पर्यटकीय छवि विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बलियो बन्दै गइरहेको छ।” उनका अनुसार बन्दीपुरमा हाल ६६ होटल सञ्चालनमा छन् र एकैदिन ४ हजार जनासम्मलाई बास दिने क्षमता छ ।

आन्तरिक पर्यटक : बन्दीपुरको मुख्य ऊर्जा
अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार विदेशीभन्दा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समयझन् बढेको छ । “कात्तिक–मंसिरमा त कलेज र विद्यालयका विद्यार्थीहरूको घुइँचो लाग्छ”, उनले भने, “घुमफिरका लागि बन्दीपुर सुरक्षित, शान्त र रमाइलो गन्तव्य भएकै कारण हो ।”
गत सात महिनामा मात्र ३२ हजार ७६० आन्तरिक पर्यटक बन्दीपुर पुगेका छन् । कात्तिक महिनामा त १७ हजार ५८ जना बन्दीपुर पुगेको तथ्याङ्क अनुसार वर्षको सबैभन्दा धेरै भीड यही महिनामा देखिएको हो । तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्याय भन्छन्, “आजका मानिस ‘कमाउन–रमाउन’ चाहन्छन् । बन्दीपुर नजिकै छ, स्वच्छ छ, पुरानो बस्ती छ, त्यसैले आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।”

विदेशी पर्यटक : ‘पहाडकी रानी’को अन्तर्राष्ट्रिय पहिचान
गत वर्ष चैतदेखि चालु वर्षको कात्तिकसम्म २१ हजार ७२५ विदेशी पर्यटक बन्दीपुर आएका छन् । सबैभन्दा बढी चिनियाँ पर्यटक रहेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक उल्लेखनीय छन् ।

वैशाखदेखि कात्तिकसम्म विदेशी आगमन विवरण :
वैशाख महिनामा ३ हजार २९७, जेठ महिनामा ३ हजार ३४२, असार महिनमा २ हजार ७६६, साउन २ हजार ७५, भदौ महिनामा १ हजार ८३२, असोज महिनमा ३ हजार ७८६, कात्तिक महिनमा ४ हजार ६२७ जना विदेशी पर्यटक आएको तथ्याङ्क छ। चिनियाँ पर्यटक प्रायः घुमफिरका लागि मात्र आउने गरेको र बास बस्न भने धेरैले पोखरा–चितवन रोज्ने गरेको बन्दीपुर प्रहरीले जनाएको छ ।
बन्दीपुरका प्रमुख गन्तव्यका रुपमा प्रकृति, संस्कृति र इतिहास एकै ठाउँमा पाउने सकिन्छ। बन्दीपुर यस्तो बस्ति हो जहाँ प्रकृति, संस्कृति र इतिहास तीनै तत्व समानान्तर रुपमा पाइन्छन् । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा–मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीनधारा, रानीबन, टुँडिखेल, मणि मुकुन्द सेन दरबार अवशेष, पदम पुस्तकालय बन्दीपुरमा पर्यटकका लागि आकर्षक गन्तव्य हुन् ।

यसबाहेक छेउछाउका रामकोट, सुनखरी, विन्धवासिनी, सूचना केन्द्र, झरना र पानीको फोहरा जस्ता ठाउँहरूले पनि पर्यटकलाई छोटो बसाइमै धेरै विकल्प दिन्छन् ।
नयाँ संरचनाबाट नयाँ ऊर्जा
यस्तै, पर्यटन वृद्धि सँगसँगै बन्दीपुरमा नयाँ पूर्वाधार निर्माणका योजना अघि बढाइएका छन्। थानीमाईमा सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने स्थान, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुल (ग्लास ब्रिज) यी संरचनाले बन्दीपुरलाई भविष्यमा अर्को स्तरको पर्यटकीय केन्द्रमा उकास्ने अपेक्षा गरिएको छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ : बसाइ लम्ब्याउने रणनीति
यस्तै, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा भन्छन्, “पर्यटकको बसाइ लम्ब्याउने लक्ष्यसहित २०२५ लाई बन्दीपुर भ्रमण वर्ष घोषणा गरेका छौँ । यहाँबाट हिमश्रृंखलाको दृश्य नै पर्याप्त आकर्षण हो ।” उनका अनुसार गत वर्ष मात्र २ लाख पर्यटकले बन्दीपुर घुमेका थिए जसमा ६० हजार विदेशी र डेढ लाख आन्तरिक थिए ।
डुम्रेबाट बन्दीपुर पुग्ने ८ किलोमिटरको उकालो यात्रा अहिले धेरै सहज छ । बाटो सुधारसँगै काठमाडौँ, पोखरा र चितवनबाट आउने पर्यटकको संख्या बढेको स्थानीयले बताएका छन् । बन्दीपुर पुगेपछि टुँडिखेलबाट अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रेको सुन्दर दृश्य देखिन्छ । यही दृश्य नै धेरै पर्यटकको लागि मुख्य प्रलोभन हो ।

पुरानो बस्तिको संरक्षण, नयाँ पर्यटनको सम्भावना
बन्दीपुर नेपालमा पुरानो बस्ती संरक्षणसहित पर्यटन विकासको उत्कृष्ट उदाहरण बन्न थालेको छ । यसले पुरानो संरचना केवल ‘इतिहास’ होइन, वर्तमान र भविष्यको आर्थिक सम्भावनाको आधार पनि बन्न सक्छ भन्ने देखाएको छ ।
पर्यटकहरूको घुइँचो, होटल व्यवसायीको उत्साह, युवा पुस्ताको रौनक, स्थानीयको सांस्कृतिक गर्व– यी सबैले बन्दीपुरलाई आज पुनः आफ्नो ‘सुनौलो चरण’मा पु¥याउँदैछन्। पुरानो घर, नयाँ अनुभूति- यही संयोजन बन्दीपुरको ब्रान्ड बनिरहेको छ । बन्दीपुर आज केवल बस्ती होइन, नेपालकै उदाउँदो पर्यटन–पहिचान बनेको छ ।











