तिहारको रमझमभित्र आतङ्कको ज्वाला
सुरेशकुमार पाण्डे

अहिलेको तिहार पनि खुसीको आवरणभित्र दुःख र पीडाको रोदन लुकेको छ। देश आतंकले डगमगाएको छ र निर्दोषहरूको रगतले भिजेको छ। त्यसमा पनि प्रकृतिको प्रकोप– बाढीपहिरो र विपत्तिबाट दर्जनौँले ज्यान गुमाएका छन्। यस्ता परिस्थितिमा पनि हामी सामाजिक खुशी खोज्न बाध्य छौँ, किनभने जीवन जिउने आधार नै त्यस्तै परिस्थितिबाट निर्माण हुने गर्छ। शोकलाई शक्तिमा बदल्दै, मृत्युको सम्झनामा जीवनलाई निष्क्रिय होइन, सचेत बनाउनु नै मानवताको सच्चो अर्थ हो ।
दुश्मनका आतंककारी गतिविधिले समाजलाई अस्थिर बनाएको छ। जेनजी आन्दोलनका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । ज्यान गुमाउनेहरूको पीडा कहिल्यै पूर्णरूपमा मेटिँदैन। त्यो रिक्तता र वेदना सदियौँसम्म रहिरहनेछ। रगतको दाग अझै ताजा छ, हृदयका घाउ अझै निको भएका छैनन्। यस्तो बेला कसरी साँचो खुशी हुन सक्छ ? हाम्रा मनहरू पीडाले भरिएका छन् ।
तर पनि चाडपर्व मानव जीवनका अमूल्य गहना हुन्। ती पर्वहरूले हामीलाई पीडा भुलाएर एकअर्कासँग हातेमालो गर्न र मुस्कुराउन सिकाउँछन्। तिनै चाडबाडहरू हाम्रो जीवनका आशाका आधार हुन्। त्यसैले हामीले विगतका तिता अनुभव र विचारलाई बिर्सिएर सकारात्मक सोचसहित नयाँ आशाको दीप बाल्नुपर्छ ।
चाडपर्वहरूको सार भनेकै नराम्रोलाई परास्त गर्दै राम्रोको जीत हो। ती पर्वहरू समाजमा एकता, सद्भाव र मानवताका सन्देश बोकेर आउँछन्। तर हाम्रो समाजमा अझै पनि कतिपय रूढिवादी संस्कारहरू त्यसमाथि हावी छन्। ती परम्पराहरूलाई समयअनुसार परिमार्जन गर्दै अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी हो। संसार परिवर्तनशील छ– हिजो जस्तो आज नहुन सक्छ, र आज जस्तो भोलि पनि नहोस् भन्ने यथार्थ बुझ्नुपर्छ ।
मानव पृथ्वीको सबैभन्दा चेतनशील र विवेकसंपन्न प्राणी हो । त्यसैले चाडपर्वहरू केवल परम्परा पालनको माध्यम होइन, राष्ट्रियता, मानवता र प्रगतिशील सोचको अभिव्यक्ति हुनुपर्छ। यस्ता पर्वहरूले समाजमा एकताको भावना जागृत गर्दै देशलाई बलियो र अखण्ड बनाउन मद्दत गर्नुपर्छ ।
असोजदेखि मंसिरसम्म दशैं, तिहार र देवालीजस्ता पर्वहरूको श्रृंखला आउँछ । दशैं अन्यायमाथि न्यायको विजयका रूपमा मनाइन्छ। तिहार पनि त्यस्तै महत्वपूर्ण पर्व हो– जसमा मानिसले पशु, पंक्षी, र प्रकृतिलाई समेत पूजा गर्छ। कृषिप्रधान देशको जीवनमा गाईगोरू, बाख्रा, भैंसी, कुकुर, र कौवाहरूको भूमिकालाई सम्मान गर्ने संस्कार यही पर्वमा झल्किन्छ ।
पहिलेका तिहारहरूमा कौवा पूजा, कुकुर पूजा, गाई र गोरू पूजा विशेष महत्वका साथ मनाइन्थे। अहिले त्यो परम्परा फितलो बन्दै गएको छ। विगतमा दशैं–तिहारका तयारी महिनौँअगाडि सुरु हुने गर्थे। गाउँघरमा तोरण, पिङ र भैलोले चहलपहल भरिन्थ्यो। अहिले भने त्यही मौलिकता हराउँदै गएको छ। तर आर्थिक दृष्टिले भैलोको परम्परा केही विकसित भएको छ– पहिले सामूहिक रूपमा खेलिने भैलो अहिले संगठन, समुदाय, र पार्टीगत रूपमा छुट्टाछुट्टै खेलिन थालेको छ। यसले आत्मीयताको भाव घटाएको छ ।
नेपालमा दिपावली अर्थात् कुलपूजाको पनि विशिष्ट परम्परा छ । कतिपय स्थानमा बली दिने चलन पनि रहिआएको छ। यस्ता परम्पराहरू सही कि गलत भन्ने विषयमा समाजमा खुला छलफल आवश्यक छ। हाम्रा सबै परम्परा सही हुन् भन्ने भ्रम पाल्नु उचित होइन । समय, ज्ञान र मानवताको आधारमा संस्कारहरूको पुनर्विचार गर्नु आवश्यक छ ।
आज एकातिर मानिसहरू आफ्नै दाजुभाइमाथि हात उठाउने, निर्दोषहरूको रगत बगाउने भयावह स्थितिमा छन्, अर्कोतिर प्रकृतिले पनि पीडादायी घडी ल्याएको छ । यस्तो समयलाई पनि हामीले शोक होइन, शक्तिको रूप दिएर अगाडि बढ्नुपर्छ । तिहारलाई आत्मबल र मित्रताको पर्व बनाउँदै, सकारात्मक सोच र शान्तिको दीप बाल्नु हाम्रो जिम्मेवारी हो ।
राजनीतिलाई होइन, मानवताका पक्षलाई अघि सार्दै चाडपर्वहरूलाई जनताको बीच सद्भाव फैलाउने अवसर बनाऔँ। दशैंको जस्तै तिहारमा पनि हाम्रो एउटै लक्ष्य रहोस– देशमा शान्ति, समाजमा सद्भाव, र मनमा सकारात्मक सोच फैलाउने । शान्तिको दीपले अन्धकार मेटाओस्, र हाम्रो तिहार साँचो अर्थमा उज्यालो पर्व बनोस् ।










