सम्पादकीय – चाडपर्व : संस्कृतिको उज्यालो कि उपभोगको अध्यारो ?

नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको अद्भुत बगैंचा हो। यही विविधताले हाम्रो समाजलाई रङ्गीन र समृद्ध बनाएको छ । १२५ भन्दा बढी जातजाति र समुदाय बसोबास गर्ने हामी नेपालीका आ–आफ्नै मौलिक परम्पराहरु छन् । जसका आफ्नै परम्परा, चाडपर्व, मेला–जात्रा र धार्मिक आस्था छन् । देशको कुनकाप्च, गाउँ, सहरमा गए पनि वर्षभरि कतै न कतै कुनै पर्व, उत्सव वा जात्रा चलिरहेकै हुन्छ । यही सांस्कृतिक निरन्तरता नै हाम्रो राष्ट्रिय पहिचानको मुटु हो। हाम्रो चाडपर्व प्रकृतिसँग गासिएको छ । असार १५ मा दहीचिउरा खाने दिनदेखि साउने संक्रान्ति, खीर खाने साउन १५, नागपञ्चमी, रक्षाबन्धन, तीज, गाईजात्रा, इन्द्रजात्रा हुँदै दशैं, तिहार, छठसम्म– सबै पर्वहरू कुनै न कुनै रूपमा प्रकृति, कृषि, र सामाजिक सम्बन्धसँग प्रत्यक्ष सम्बन्धित छन् । गाई, गोरू, कौवा, कुकुरदेखि सूर्य, चन्द्र र पितृसम्मको पूजा गर्ने हाम्रो संस्कार प्रकृतिप्रेम र सह–अस्तित्वको सन्देश हो । यही कारणले नेपाली संस्कृति केवल आस्थाको विषय होइन, जीवनशैलीको दर्पण हो ।
तर पछिल्ला वर्षहरूमा हाम्रो चाडपर्वको स्वरूप बदलिँदै गएको छ । धर्म, संस्कृति र एकताको प्रतीकका रूपमा मनाइने पर्वहरू आज उपभोग र प्रतिस्पर्धाको साधन बन्दै गएका छन् । समाजमा भड्किलोपन र देखासिकीको संस्कृतिले घर गरिसकेको छ । तीज होस वा दशैं–तिहार, अब चाडपर्व आत्मीयता र सादगीभन्दा बढी गहना, कपडा र धनदौलत प्रदर्शनको माध्यम बनेका छन् । सम्पन्नले प्रदर्शनमा रमाउँछन् भने विपन्न वर्गका लागि चाडपर्व ऋण र चिन्ताको कारण बन्न थालेका छन् । बजारमा महँगी चरम स्तरमा पुगेको छ। चामल, दाल, तरकारीदेखि लत्ता कपडा, तेल, चिनी सबैको मूल्य आकासिएको छ। किसानको मेहनतको उचित मूल्य पाउँदैन, तर बिचौलियाले पाँच गुणा मुनाफा कमाउँछन् । अनुगमनका नाममा सरकारी निकाय कहिलेकाहीँ मात्र सक्रिय देखिन्छन्, तर वास्तविक नियन्त्रणको अभावमा कालाबजारी र कृत्रिम अभावको खेल चलिरहेकै छ । चाडपर्व आउनासाथ बजारमा कृत्रिम मूल्यवृद्धि सुरु हुन्छ, र सर्वसाधारण उपभोक्ता नै यसको मारमा पर्छ ।
राज्यको दायित्व केवल बजार नियमनमा सीमित हुँदैन । सरकारले मूल्य नियन्त्रणसँगै सांस्कृतिक सचेतनामा पनि ध्यान दिनुपर्छ । चाडपर्वको नाममा लुट, मदिरा र प्रदर्शनको संस्कृति बढ्दै जाँदा मूल उद्देश्य हराउँदै गएको छ । हाम्रो पर्वहरूको मर्म भनेकै सत्य, न्याय, करुणा, प्रेम र मिलनको सन्देश हो– उपभोग र प्रतिस्पर्धाको होइन । तीजकै उदाहरण लिऔँ । हिजो यो पर्व महिलाहरूले समाजका अन्याय र पीडामाथि नाचगानमार्फत स्वर उठाउने अवसरका रूपमा लिन्थे। तर आज त्यो पर्व पनि फेसन, फोटोसेसन र भोजमा सीमित हुन थालेको छ। समय अनुसार परिवर्तन स्वाभाविक हो, तर त्यो परिवर्तनले संस्कृतिको आत्मा मेट्नु हुँदैन । महिलाको सशक्तीकरण र स्वतन्त्रताको सन्देश लिएर तीज मनाउनु स्वागतयोग्य छ, तर त्यसलाई व्यापारिक र भड्किलो बनाउनुले यसको मूल्य घटाउँछ ।
यस्तै, दशैं पनि धर्म र दर्शनभन्दा बढी विलासिताको प्रतिस्पर्धा बन्न थालेको छ । असत्यमाथि सत्यको विजयको सन्देश बोकेको यो पर्व अहिले ऋण र अहंकारको पर्व बनेको छ। “घाँटी हेरी हाड निल्नु” भन्ने पुरानो उखान सम्झनुपर्ने बेला यही हो। औकात अनुसारको खर्च र सादगीपूर्ण उत्सव नै पर्वको वास्तविक शोभा हो। अर्को पक्ष विदेशिएका नेपालीको हो। सरकारले नै जनाएको तथ्यांकअनुसार दैनिक चार वटा शव वैदेशिक रोजगारीबाट फर्किन्छन । बाँचेर फर्किएका पनि पीडा, ऋण र निराशाको कथा बोकेर आउँछन् । यस्ता परिवेशमा पनि हामीले चाडपर्वलाई तडकभडकमा होइन, आत्ममूल्य र आत्मसम्बलको पर्व बनाउनुपर्छ। विदेशमा रहेका नेपालीहरूका लागि पनि दशैं–तिहार केवल घर सम्झिने भावनात्मक सूत्र हुन्– प्रतिस्पर्धा होइन ।
नेपालको संस्कृति समयसँगै रूप फेरिँदै जानु स्वाभाविक हो । तर त्यो परिवर्तनले हाम्रो मौलिकता निल्न नपाओस् । चाडपर्वहरूलाई विदेशी संस्कृतिको नक्कल गरेर होइन, आफ्नै मौलिकता, सादगी र सह–अस्तित्वको भावनासहित मनाउने संस्कार पुनःस्थापित गर्नुपर्छ । यही नै सांस्कृतिक पहिचान र आत्मगौरवको रक्षा गर्ने बाटो हो । यस वर्ष पनि दसैं पर्व सकिएर तिहार पर्व हाम्रो घरदैलोमा भित्रिसकेको छ। तिहार पर्व मनाउने तयारी भइरहेको छ भने छठ पर्व पनि नजिकिँदै आएको छ। यी पर्वहरू केवल रङ र रोशनीका प्रतीक होइनन्– सामाजिक सहअस्तित्व, परिवारको मिलन र मानवताको प्रकाश हुन । त्यसैले, यो चाडपर्वमा हामी सबैले आफ्नो क्षमता अनुसार मनाउने, ऋण होइन सम्बल खोज्ने, प्रदर्शन होइन आत्मीयता बाँड्ने र संस्कृतिको मूल आत्मा जोगाउने प्रतिज्ञा गरौँ । चाडपर्वको मर्म भनेकै सादगीमा सौन्दर्य, आत्मीयतामा आनन्द र संस्कृतिमा पहिचान हो । यही चेतना नै साँचो उत्सवको उज्यालो हो ।










