सम्पादकीय : मौलिकता जोगाउँदै तिहार पर्व मनाऔं

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अहिले हाम्रा घर–आँगनमा भित्रिसकेको छ। उज्यालो र फूलको पर्वका रूपमा मनाइने तिहार नेपाली समाजको आत्मा, आपसी सम्बन्ध र जीवनदर्शनसँग जोडिएको मौलिक पर्व हो। झिलिमिली उज्यालो, फूलको सुवास र आत्मीयताको उज्यालो बोकेर आउने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र आत्मीयता झल्काउँछ। यो केवल चाड मात्र होइन, संस्कृति, सम्बन्ध र सम्पर्कको पर्व हो । भारतमा दीपावलीको रूपमा मनाइने पर्वसँग तिहारको बाह्य स्वरूप मिल्न सक्छ, तर यसको अन्तर्य र आत्मा विशुद्ध नेपालीपनमा अडिएको छ। तिहारमा खेलिने भैलो र देउसी जस्ता मौलिक प्रथाहरू संसारका अन्य देशमा पाइँदैनन्। यही मौलिकता हाम्रो सांस्कृतिक पहिचानको मूल हो, जसलाई जोगाउनु अहिलेको आवश्यकता बनेको छ । कात्तिक शुक्ल त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनाको कथा यस पर्वको आत्मामा रहेको छ। यम पाँच दिनसम्म यमीकहाँ बसेको स्मरणमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार गरी पाँच दिन मनाइन्छ। यी पाँचै दिनहरूमा पूजा गरिने प्राणीहरू केवल प्रतीक होइनन्, ती प्रकृति र जीवनको विविध आयामप्रति हाम्रो कृतज्ञता हुन्।
काग तिहारमा सन्देशवाहकको रूपमा कागको पूजा, कुकुर तिहारमा निष्ठा र सुरक्षा भावको पूजा, गाई तिहारमा समृद्धिको प्रतीक गाईको आराधना, गोरु तिहारमा श्रम र कृषिप्रति सम्मान, र अन्ततः भाइ तिहारमा दाजुभाइ–दिदीबहिनीबीचको स्नेह सुमधुर सम्बन्धको उत्सव– यी सबै मिलेर तिहारलाई जीवन, प्रकृति र सम्बन्धको समग्र दर्शनमा रूपान्तरण गर्छन् । तिहारको सांस्कृतिक र सामाजिक पक्ष अत्यन्त गहिरो छ। यो पर्वले देश–विदेशमा रहेका दाजुभाइ र दिदीबहिनीलाई एकै ठाउँमा भेट गराउने अवसर दिन्छ। घर–आँगनमा सेलरोटी, अनरसा, फिनी र विभिन्न परिकारहरू पकाइन्छन्। देउसी र भैलोमार्फत आशीर्वाद बाँडिन्छ, रोटे र लिंगेपिङमा रमाइन्छ। यी सबैले तिहारलाई केवल धार्मिक नभई मनोरञ्जनात्मक र सामूहिकता अभिव्यक्त गर्ने चाड बनाएका छन् । नेपालजस्तो बहुधार्मिक, बहुसांस्कृतिक देशमा चाडपर्वले आर्थिक र सामाजिक गतिशीलता पनि ल्याउँछन्। दशैं र तिहार हिन्दू धर्मसँग सम्बन्धित भए पनि यी चाडमा हुने बजार चहलपहल, व्यापारिक गतिविधि र सामाजिक आवागमनले सम्पूर्ण नेपाली समाजलाई जोड्ने काम गरेको छ । त्यसैले तिहार केवल धार्मिक पर्व होइन, राष्ट्रिय एकताको भाव बोकेको सांस्कृतिक सम्पदा हो ।
तर पछिल्लो समय हरेक चाडपर्वमा विकृति मिसिन थालेको देखिन्छ । तिहारको सार र सन्देशलाई कमजोर बनाउने गलत अभ्यास बढिरहेका छन् । देउसी र भैलोको परम्परागत स्वरूप लोप हुँदै गएको छ। अघिल्ला पुस्ताले घर–घरमा गएर शुभकामना र आशीर्वाद बाँड्ने परम्परा अब ध्वनि प्रणाली, तडकभडक र प्रतिस्पर्धी प्रदर्शनमा सीमित हुँदै गएको छ। तिहार आउनु अघि नै देउसी भैलो बजाउन थालिने र रातभर कर्कश स्वरमा ध्वनि प्रक्षेपण हुने प्रवृत्तिले मौलिकता हराइरहेको छ । अर्को गम्भीर विकृति भनेको जुवातासको बढ्दो प्रचलन हो। तिहारमा जुवा खेल्नुपर्छ भन्ने गलत मान्यता समाजमा गहिरो रूपमा बसेको छ। तर जुवातासले कसैको हित गर्दैन। यसले परिवारमा कलह, वैमनस्य र आर्थिक क्षति ल्याउँछ। तिहारजस्तो स्नेह र समृद्धिको पर्वमा यस्तो दुष्प्रवृत्ति मिसिनु दुःखद पक्ष हो । यस्तै, विदेशी संस्कृतिको अन्धानुकरण पनि बढ्दो चिन्ताको विषय बनेको छ। नेपाली तिहारको मौलिकता बिर्सेर बाह्य चमक–दमक र प्रविधि प्रदर्शनमा रमाउनु हाम्रो सांस्कृतिक पहिचानमाथि प्रहार हो। देउसी–भैलो, फूल, दियो र टिका–मालाको सादगीमै तिहारको सौन्दर्य छ। त्यो सादगीलाई नै हाम्रो गर्वका रूपमा स्वीकार गरिनुपर्छ ।
तिहारसँगै नेवार समुदायले मनाउने नेपाल संवत् पनि सुरु हुन्छ, जसले नयाँ संवत् मात्र होइन, स्वाभिमान र पहिचानको पुनर्जागरण पनि जनाउँछ । त्यसैगरी मधेशमा मनाइने छठ पर्व पनि नजिकिँदै छ, जसले सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छ। यी सबै पर्वहरूले देशका विभिन्न समुदायबीचको सांस्कृतिक ऐक्य र आपसी भाइचारा झल्काउँछन् । अबको आवश्यकता भनेको चाडपर्वलाई देखावटी प्रतिस्पर्धा होइन, आत्मीयता र मौलिकतामा केन्द्रित बनाउन हो। हाम्रो परम्परा, संस्कृतिलाई बिर्सेर विदेशी नक्कलमा रमाउँदा हामी आफ्नै पहिचान गुमाउँछौं। त्यसैले तिहारलाई आत्म–चिन्तन, आपसी स्नेह र प्रकृतिप्रतिको कृतज्ञताको पर्वका रूपमा मनाऔँ । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा समृद्धि, स्नेह र शान्तिको उज्यालो फैलियोस् भन्ने हार्दिक शुभकामना । मौलिकता जोगाउँदै, आत्मीयता बाँड्दै, तिहार मनाऔँ– यही हाम्रो साझा सन्देश हो ।










