शिःसाघट निवासी प्रमुख वंशधरहरुको संरचना : एक अध्ययन
देव बस्न्यात

नेपाली समाजको संरचनामा वंशानुवंशको योगदान रहेको पाउँदछौं । यही मेलोमा नेपालको मध्यविन्दु शिःसाघाटको आसपास क्षेत्रमा बसोबास गर्ने खसआर्यहरुको मानवीय आनुवंशिक अध्ययन गर्ने प्रयत्न गरिएको हो ।
सर्वप्रथम नेपाली समाजका मूलवासी खस, मगर, नागर, नेवार, किरात र मैथिल जातिहरु एक आपसमा घनिष्ठ सम्बन्ध रहेको पाउँदछौं भने अर्को तर्फ नेपाली समाज मष्टका आधारमा विभाजित भएको पनि पाउँदछौं ।
खास खासमा हाम्रो समाजमा मष्ट मान्नेहरु पूर्वीय ब्राहृमण र गोसाइ तथा इश्यामी मान्नेहरु कुमाई ब्राहृमण देखिएका छन । प्रादेशिक हिसावले नेपाली समाज श्रीपाली, खप्तडी, सिञ्जापति, खुलाली, कालीकोटे र अन्य केही उपभेदहरु रहेका छन् । केही भूक्षेत्रका आधारमा, केही उपाधी र केही वासस्थलको आधारमा थरहरु निर्माण भएका छन् ।
जुन स्थान विर्ता पायो त्यही थर हुने पनि देखिएका छन् । कैनी, ढैनी, बर्सौला विसुराल, खनिया सोती बौलखे, लौडारी, रुवाली, इतन्नी, उल्लाकोटी, बस्ताकोटी बुर्लाकोटी, नागिला, छिमाल, चंदौला, छिमाल र च्वाई जस्ता थरहरु यही हारमा पर्दछन । प्रायशः शिःसाघाट उपत्यका र यसको सेरोफेरोमा माथि उल्लेखित थरहरु भेटिन्छन् ।
मैदानी क्षेत्रबाट नेपालको पहाड तर्फ प्रवेश गरेर बसोबास गरेका आर्यहरुले पश्चिम हिमालय क्षेत्रबाट नेपालमा पाइलो राख्ने शक्तिदीर्घाका आफुले भनेको नमान्ने अटेरी खालका खस र पूर्वी हिमालय क्षेत्रबाट प्रवेश गर्ने लिच्छिवीहरुलाई जात खसेका व्रात्य जात भनेर हेपेर लेखेका थिए । नेपालको कुल जनसंख्यामा १७ प्रतिसत खसक्षत्रीहरु र त्यसपछि १३ प्रतिसत खस बाहुनहरु र त्यस पछि मात्र अन्य जातजातिहरुको उपस्थिति रहेको पाउँदछौं । हुन त नेपालमा मधिसे ब्राहृमण र पहाडी ब्राहृमणहरु भेटिन्छन् ।
मधिसे ब्राहृमणहरुमा मैथिल र भूमिहर छन भने पहाडी ब्राहृमणहरुमा पनि पूर्वीय र कुमाइ उपभेद रहेका छन् । पूर्वीय र कुमाइमा पनि उपाध्याय र जैसी अर्कौ उपभेद रहेको पाउँदछौं । नेपाल एकीकरणको अवस्थामा गोरखाली नरेश पृथ्वीनारायण शाह र नीजका कान्छा छोरा नायव बहादुर शाहले खसजातिको सघन बस्ती रहेको जुम्ला राज्यमा आक्रमण गर्दा नेपाल एकीकरण अभियानमा असहयोग गर्ने खसहरुलाई दबाउने प्रयत्न गर्दा गोर्खालीहरुको दमन सहन नसकेर नेपालको मध्यपश्चिम र पूर्वी नेपालमा बसाइ सर्ने खसहरुको संख्या निरन्तर बढदै गएको थियो । जसमा कुमाई उपभेदका ब्राहृमण थरहरुमा नागिला, छिमाल र चंदौला, ढौनिया, कैनी, हडखले लगायत अरु धेरै थरहरु पर्दथे ।
तनहुँ जिल्लाको साविक श्याम्घा गाउँ विकास समितिको वडा नं. १, २, ३ र ४ नं. वडा भित्र पर्ने माथिल्लो साझा, साधी भञ्ज्याङ, तल्लो साझा, साझाटार, शेषटार श्याम्घा क्रियापानीको पाटो भन्दा अलि भिन्नै देखिन्छ । गलाफु भञ्ज्याङ स्थित चितिश्वाँरामा ठकुरी गाउँ, माथिल्लो साँझामा गुरुङगाउँ, साँधी भञ्ज्याङमा नेवार जाति र तल्लो साँझामा ब्राहृमण, क्षत्रीहरुमा नागिला, छिमाल, चंदौला, च्वाई सुवेदी, ढुङ्गाना, घिमिरे, खत्री र अन्य थरहरुमा नेवार, मियाँ, दुरा, कुमाल र दलित जातिहरुको सघन बसोबास रहेको छ ।
माथि उल्लेखित थरहरु मध्येमा पनि नागिला, चँदौला र छिमाल ब्राहृमणहरुको उपस्थिति कास्की, तनहुँ र लमजुङमा मात्र भेटिएकाले यिनीहरुको मानवीय अनुवंशको अध्ययन गर्न चासो बढेको हो । नेपाली मूलकै भएतापनि अल्पसंख्यामा रहेका यि पहाडिया बाहुन थरहरु नेपाली खसआर्य समुहमा आजसम्म सूचिकृत भएको नदेखिंदा नेपाली मूलका हुन होइनन भन्ने विषयमा कालन्तरमा विवाद नआउला भन्न सकिन्न । यहाँका कुमाइ समुदायका बाहनहरु खसआर्यमा सुचिकृत नभएको हुँदा खस आर्यमा सूचिकृत गर्नलाई व्यास-६ नंवर वडाले भर्खर मात्र सुचिकृत गरिदिन नेपाल सरकारलाई सिफारिस गरेको पाउँदछौं ।
नागिला थर :
नागिलाहरु हिन्दु धर्म अनुयायी नेपालको ब्राहृमण जाति मध्यको एक थर हो । पहाडिया पूर्वीया र कुमाइ मध्येमा नागिलाहरु कुमाई बाहुन मानिन्छन् । नागिलाको वास्तविक अर्थ नागहरुका माझ सबैभन्दा राम्रो भन्ने जनाउँछ । सर्वप्रथम आफ्नो हितलाई प्रधानता दिने नागिलाहरुको जन्मजात स्वभाव हो । तत्पश्चात् नागिलाहरुमा अरुलाई पनि दिलोज्यान दिएर सहयोग गर्ने स्वभाव भेटिन्छ।
नागिलाहरु मानसिक एवं शारीरिक रुपले पनि बलशाली हुनाले अफ्ना अहित गर्नेहरु माथि उनीहरु नागले जस्तै फंणा -शीर) उठाएर प्रतिकार गर्ने स्वभावका पाइन्छन । उनीहरु कहिले देखि साँझामा आई बसोबास गरे भन्ने विषयमा किटेर भन्न सकिंदैन । तैपनि शक सम्वत १७०९ वि.सं. १८४४ भन्दा पहिले देखि नागिलाहरु साझामा आइ बसोबास गरेका हुन । उनीहरु भारतको कुमाउँ गढवालबाट सिञ्जा स्याङजा हुँदै साझा आएका हुन भनिन्छ ।
भारतको पिथौरागढका नागिलाहरुले नागिला थरको सट्टामा अहिले जोशी थर र भारद्वाज गोत्र लेख्ने गरेको पाइन्छ । तर साँझा निवासी नागिलाहरु वाल्मीकि गोत्रीय शुक्ल यजुर्वेदध्यायी हुन् । नेपाल सरकारका सेवानिवृत सहसचिव उत्तम नागिलाका अनुसार यिनीहरुको माद्यन्दनीय धुन्धुली शाखा र पञ्चप्रवरमा भृगु, अंगिरा, बामदेव, कश्यप र वाल्मीकि रहेका छन् । तर ज्योतिषाचार्य उपप्राध्यापक नारायणप्रसाद निरौलाको थरगोत्र प्रवारवलीमा वाल्मीकि गोत्रीय नागिलाहरुको पञ्चप्रवरमा भार्गव, च्यवन, आप्नवान और्व र जामदग्न हुन्छन् भनेर लेखिएको पाइन्छ, कसरी फरक पर्न गयो अनुसन्धेय छ ।
आजसम्म साँझा निवासी नागिलाहरुले आफ्नो आरध्य देवतामा भगवान शिव, गणेश र श्वेत नागलाई नै पुज्दै आएका छन् । उनीहरु श्वेतनागलाई कुलदेवता, बाउन्नवीर र चौसी योगिनीलाई इष्टदेवता मानेर हरेक तीन तीन वर्षको अन्तरालमा कुलायन पूजा गर्दै आएका छन।
चामलको पिठोले नागको स्वरुप बनाएर श्रीपञ्चमीका दिन सात्विक विधिविधानले कुलायन देवता सेतीनागको पूजाआजा गर्ने परम्परा रहेको छ । तर कुलका गण बाउन्नवीर तथा चौसी योगिनीहरुलाई खुसी पार्न सकेसम्म कालो बोकाको जीवबलि दिने गरेको पनि पाउँदछौं। स्वतन्त्रताका हिमायती नागिलाहरु अरुको कृपाका अधिष्ठाता बन्नमा गौरव गर्न भन्दा आफ्नै मर्जीका मालिक बन्न चाहन्छन् ।
नागिलाहरु भारतको उत्तराञ्चलको पिथौरागढ जिल्लाको तीन गाउँ र नेपाल भित्र तनहुँ जिल्लाको व्यास-६ शिःसाघाटमा मात्र पाइन्छन् । तर नागिलाहरु हाल दमौली, पोखरा, चितवन, काठमाडौंमा समेत पाँजिएका छन् । साँझा गाउँपञ्चायतका प्रधानपञ्चहरु बुद्धिसागर नागिला र नेत्रप्रसाद नागिला, नेपाल सरकारका सेवानिवृत सहसचिव उत्तम नागिला, व्यास न.पा.का प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता गोविन्दप्रसाद नागिला, पोखरा विश्वविद्यालय स्वाथ्य संकायका डिन अमर नागिला नागिला वंशका उज्ज्वल नक्षत्रहरु हुनुहुन्छ ।
छिमाल थर :
छिमालहरु हिन्दु धर्म अनुयायी नेपालको ब्राहृमण जाति मध्यको एक थर हो । पहाडिया पूर्वीया र कुमाइ बाहुन मध्येमा छिमालहरु कुमाई बाहुन मानिन्छन् । नेपालमा पाइने माल थरहरुमा खोजी पस्दा छिमाल, समाल, कुमाल, धिमाल र हमाल थरहरु भेटिन्छन । यसैगरी छ अक्षरबाट प्रारम्भ हुने थरहरुमा छन्त्याल र छत्कुली पनि पर्दछन । पश्चिम नेपालमा कुमाल क्षत्रीहरु भेटिन्छन्। तर यहाँका कुमालहरु दरै जस्तै औल भेगमा बस्ने आदिवासी जनजाति मूलका वासिन्दा मानिन्छन् । यिनीहरुलाई दलित भन्दा माथिल्लो र क्षत्रीय भन्दा तलको वर्ग वैश्यमा राखेर हेर्ने गरिन्छ।
यहाँका आदिवासी कुमालहरुले परम्परा देखि चल्दै आफ्नो थर कुमाल सम्मानित जनक थर परेन भनेर कुमाल थरको आदि अक्षर कु हटाएर माल थर कायम गरेका छन् । ब्राहृमणहरुले ठकुरी मैयाँहरुबाट जन्माएका सन्तानहरु हमाल (समाल) ठकुरी बनेका छन् भने कुमाई ब्राहृमण थरका छिमल्ल/छिपालहरु अहिले छिमाल बनेका छन् । सिञ्जा साम्राज्यका अधिपति पुण्यमल्लका सन्तानहरुको गोत्र गर्ग हो भन्ने कुरा सिञ्जाका नरेश पृथ्वी मल्ल स्वयंले स्थापना गरेको कीर्तिस्तम्भमा स्पष्ट उल्लेख गरेको पाइन्छ ।
यता शिःसाघाट निवासी छिमालहरुको पनि गोत्र गर्ग र पञ्चप्रवरमा गर्ग, गार्ग्य, गौतम, विश्वामित्र र पराशर नै रहेको पाइन्छ । यिनीहरु भगवान शिव-शंकरलाई कुलदेवता र भवानीहरुलाई कुलदेवीको रुपमा पूजा आरधना गर्दछन् । यसैले यिनीहरु आदिपालका वंशज हुन कि भन्ने सङका गर्ने ठाउँ उव्जेको छ ।
सिञ्जा साम्राज्यको पतन पश्चात नेपाल सरकारले बाइसी तथा चौविसी राज्यहरु माथि आक्रमण गर्दा त्यहाँ निवासी मल्ल लगायतका अन्य थरघरहरुले गोरखाली सेनाको अत्याचार सहन नसकी आफ्नो साविक पाल र तत्पश्चात ग्रहण गरेको ससुराली पट्टीको मल्ल थर छिपाएर पूर्वान्मुख भइ बसाइ सरेको हुनु पर्दछ ।
यसरी पूर्वान्मुख भएका मल्लहरुले आफ्नो साविकको पाल र मल्ल थर छिपाएका हुनाले छिपाएको शव्दको आदि अक्षर छि र मल्ल/पाल थरको मल्ल शव्द संयोजन गरेर छिमल्ल वा छिपाल बनाए होलान । त्यही छिमल्ल र छिपाल शव्द अपभ्रंश हुन जाँदा छिमाल भएको अनुमान गर्न सकिन्छ ।
गोरखा नरेश पृथ्वीनारायण शाह (वि.सं.१८२५-१८३१)ले सुरु गरेको नेपाल एकिकरणलाई उनैका कान्छा छोरा बहादुर शाहले मलजल गरेको समयको आसपास तिर छिमालहरु भारतको देहरादुन कुमाउँ गढवाल अल्मोडाबाट सिञ्जा, स्याङजा हुँदै दुइभाई मध्ये एक भाइ तनहुँको उपल्लो साँझाको चापाथोक र अर्को भाई छिमालटार पश्चिमको सत्रविसे बसोबास गरेका हुन ।
हालसम्म शिःसाघाट आउने छिमालहरुको २१ पुस्ता भइसकेको मानिन्छ । सत्रविसे बसेका बन्धुहरु मध्ये केही छिमालहरु कास्कीको रुपा गाउँपालिका-३ फैंचोक पुगि बसोबास गरेको पाइन्छ । यसरी साझामा आउने छिमालहरुको मूलपुरुष को हुन निक्र्यौल भइसकेको पाईंदैन । जे होस छिमाल ब्राहृमणहरुको थाहा पाएसम्मको ऐतिहासिक मूलस्थलो गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित साविक श्याम्घा गाउँपालिका वडानं.१ उपल्लो साझा र कास्कीको फैंचोक नै हुन् ।
कालान्तरमा साझा र फैंचोकबाटै एक/एक भाइ हालको शुक्लागण्डकी न.पा.को बन्केवा र अर्को भाई श्याम्घा गाउँपालिका भित्रको उपल्लो साझाको बेसी शेषटार बसाइ सरी गएका हुन । बन्केवा र शेषटार बसाइसरी जाने छिमालहरु निसन्तान भइ अपुताली पर्न गएको देखिन्छ । उपल्लो साझाबाट बेसी झरेर साझाटारलाई आश्रय थलो बनाउने छिमालहरु हाल साझटारमा नै स्थायी रुपमा रहेका छन् ।
नागिलाहरुको बस्ती रहेको स्थान नागिलाटार, चंदौला बसेको स्थान चंदौलाटार र छिमालहरुको बसोबास रहेको व्यास-६ को यस स्थानलाई पहिले साझाटार र अहिले छिमालटार भन्न सुरु गरिएको हो । छिमालटार शिःसाघाटको मुटुमा नै रहेको छ । समग्रमा साझाटार नै अहिले आएर शिःसाघाट नामले सुशोभित हुन पुगेको हो । छिमालहरुको प्रमुख पेशा कृषि हो । तर अहिले आएर छिमालहरु व्यापार व्यवसाय प्रति पनि आकषिर्त हुँदै गएका छन् । कोही वैदेशिक रोजगारका लागि युरोप, यु.एस.ए, यु के. र खाडी मुलुकहरुमा पनि पुगेका छन् ।
साँच्चै भन्ने हो भने कृषि पछि उनीहरुको दोश्रो प्रमुख पेशा जङ्गी क्षेत्रमा जागिर गर्नु नै हो । अहिले पनि भारतीय सेनामा ३ जना क्याप्टेन सहित ८ जना सिपाही पदमा (उमनाथ छिमाल, निलकण्ठ छिमाल, भीमराम छिमाल, नारायण प्रसाद छिमाल आदि) र दुइजना नेपाल प्रहरीको प्रहरी नायव निरिक्षक पदमा कार्यरत रहेका छन् । नेपाल भित्रै नेपाल सरकारको निजामती तर्फो प्राविधिक सेवामा एक जना इन्जिनियर र शिक्षण पेशा तर्फ तीनजना शिक्षकहरु हाल सम्म पनि कार्यरत हुनुहुन्छ ।
छिमालहरुको ऐतिहासिक दस्तावेजको खोजी गर्दा शक सम्वत १७२४ माघ १५ (वि.सं. १८५९) मा महामकरंद गोतामेसँग शुकदेव नागिलाले रु ५५०।- मा बाधा किनेको कागजमा श्रीकृष्ण छिमाल दुर्गादास र नारद नागिला किनाराका साक्षीका रुपमा देखिंदा छिमालहरु वि.सं. १८५९ पूर्व नै शिःसाघाटमा आएर बसेका थिए भन्ने स्पष्ट हुन आउँछ । यसै गरी मेहेर पल्टनका जमदार रघुवीर थापाको तन्हौं साझाको सम्वत १८९४ को थरघर ढड्डामा शेषटारमा नन्दु छिमालको नाम देखिन आउँछ । यसैगरी वि.सं. १९२५ तिरका हुलाकी तेरिज र दर्ता स्रेस्तामा महाभंजन, देबु छिमाल र लाटो छिमालको नाम आउँछ ।

वि.सं. १९२७ को दाखिला रसिदमा १० साल देखि २५ सम्बत् १९१० देखि १९२५ साल तक वर्ष १६ को साझा मझुवा नरय छिमालको सिदुरिया बोट -।५० बाहेक काशिनाथ पाध्या जिम्मा सशिधर रामनाथ नागिलाको नाम उल्लेख छ । तनहौ साँझाको २६ सालको ढड्डामा नन्दु छिमालको नाउँ उल्लेख भएको कुरा शिःसाघाट निवासी नेपाल सरकारका सेवानिवृत सहसचिव उत्तम नागिला, शिःसाघाट निवासी देवीप्रसाद छिमाल र राजु छिमालले हामी संगको छलफलमा बताउनु भएको हो ।
शिःसाघाट बाटै छिमालहरु दमौली, पोखरा, चितवन, काठमाण्डौ, नेपालगञ्ज र बाँकेमा पाँजिएका छन् । छिमाल थरले मूर्त रुप प्राप्त गरेको कुल २१ पुस्ता पुगि सकेको छ । तर छिमालहरुको वंशावली केलायर हेर्ने हो भने १२ पुस्ताका व्यक्तिहरुले मात्र शिःसाघाटमा रजगज गरेको भेटिन्छ । छिमालहरु शिःसाघाटबाट बाहिर बसाइ सरी जान थाले पछि लमजुङको तुर्लुङकोटबाट आएका दुराहरुले छिमाटारलाई अझ हराभरा गराउँदै लगेका छन् । यस वंशका देवीप्रसाद छिमाल वि.स. २०३२ साल तिर साझा गाउँ पञ्चायतमा वडाअध्यक्ष पदमा रही काम गर्नु भएको थियो।
उहाँकै पहलमा त्यहाँका छिमाल वन्धुहरुले शिःसाघाटमा ५७ रोपनी जग्गा गौचरनको रुपमा राख्नु भएको थियो भनेर राजु छिमालले हामीलाई बताउनु भयो । जुन आज पनि कायम नै छ । यदी नेपाल सरकारले तनहुँ जिल्लामा सय शैयाको आयुर्वेदिक अस्पताल राख्ने निर्णय गरेमा यो ठाउँ उपयुक्त रहने देख्दछु । हाल केशरीराम छिमालको नेतृत्वमा शिःसाघाटमा छिमाल समाज नेपाल गठन गरिएको छ।
चँदौला थर :
चंदौला नेपालमा पाइने कुमाइ ब्राहृमणहरुको एक थर हो । चँदौला ब्राहृमणहरुको गोत्र पराशर र त्र्रि्रवरमा पराशर, वशिष्ठ र शक्ति पर्दछन् । उनीहरुमा शिवजीलाई कुल देवता र कालीलाई कुलदेवीको रुपमा पूजा गर्ने परम्परा रहेको छ । चंदौलाहरुको ऐतिहासिक स्थलो कहाँ हो यसै भन्न सकिने स्थिति देखिंदैन तर उनीहरु कुमाउँ गढवालबाट सिञ्जा स्याङ्जा हुँदै गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित कुन्छा पुगेका हुन । कुन्छाबाट आउँदा यिनीहरु सबै भन्दा पहिले तनहुँ शिःसाघाटको चंदौलाथोक (उपल्लो विरुवाको पुच्छार मादी नदीको पश्चिम)मा आइ बसोबास गरेका हुन ।
सम्वत १८९४ को घरदरमा साँजा पट्टी वेन्या चंदौला, छित्ये चंदौला र रामनिधि चंदौलाको नाम उल्लेख भएको पाइन्छ भनेर शिःसाघाट निवासी नेपाल सरकारका सेवानिवृत सहसचिव उत्तम नागिलाले हामी संगको कुराकानीमा बताउनु भएको हो । यसै गरी तन्हौ साँझाको २६ सालको ढड्डमा साझाटारमा बेनीराम चंदौला, रेश्मीराज चँदौला र भेटु चँदौलाको नामहरु भेटिन्छन् । चंदौलाहरुले बसोबास गरेको चँदौलाटार शिःसाघाटको मुटुमा नै रहेको छ । कुन्छाबाट शिःसाघाट आएका चंदौलाहरु हाल दमौली, पोखरा, चितवन, काठमाण्डौमा समेत पाँजिएका छन् ।
ढौनिया थर :
ढौनिया नेपालमा पाइने कुमाई ब्राहृमणहरुको एक थर हो । ढौनिया ब्राहृमणहरुको हालसम्मको ऐतिहासिक थलो कहाँ हो भन्न सकिने स्थिति देखिंदैन तर उनीहरु गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित साविक कुन्छाबाट शिःसाघाटमा बसाइ सरी आएका हुन । कुन्छामा रहदासम्म धमनीया र शिःसाघाट आए पछिका ढौनियाहरु भनेर चिनिने ब्राहृमणहरुको मूलथलो कुन्छा भएता पनि हाल व्यास-६ को साझाटार शिःसाघाट निवासी ढौनियाहरुको मूलथलो भने शिःसाघाट नै मान्नु पर्दछ । उनीहरु यहाँ आएको पनि तीन पुस्ता व्यतित भइ सकेको छ । हाल शिःसाघाट बाटै ढौनियाहरु दमौली, पोखरा, चितवन र काठमाडौंमा समेत पाँजिएका छन् । बसाइ सराइको प्रभावले हाल शिःसाघाटमा ढौनियाहरुको उपस्थिति अत्यन्त न्यून रहेको पाउँदछौं ।
गौली थर :
गौलीहरुको आस्पद (पहिलेको थर) पनेरु र ढकाल हो । गौलीहरु गोत्र कौडिन्य र उपमन्यु चलाउँछन् । पनेरुहरु समैजी, उग्रतारा र ढकालहरु क्षेत्रपाल मष्ट दुसासैनी र रुमालादेवी पुज्दछन् । पनेरुको उत्पती स्थल टिलाकेदार बैतडी र ढकालहरुको राताटिंगुल जोेलजीवि मानिएको छ । तर गौली ब्राहृमणहरुको हाल सम्मको ऐतिहासिक थलो कहाँ हो भन्न सकिने स्थिति देखिंदैन तर उनीहरु गण्डकी प्रदेशको तनहुँ लमजुङ र कास्की जिल्ला स्थित शिःसाघाट उपत्यका र लमजुङ जिल्लाको कुन्छामा बसोबास गरेको देखिन्छ ।
गौलीहरुको मुख्य आवाद रहेको भूमि लमजुङको कुन्छा हो । गौलीहरु कुन्छाबाट मामालीघर शिसाघाटमा बसाइ सरी आएका हुन । उनीहरु यहाँ आएको पनि तीन पुस्ता व्यतित भइसकेको छ । शिःसाघाट बाटै गौलीहरु दमौली, पोखरा, चितवन, काठमाडौंमा पाँजिएका छन् । हाल शिःसाघाटमा गौलीहरुको उपस्थिति अत्यन्त न्यून रहेको पाउँदछौं ।
च्वाइ (सुवेदी) थर
सुवेदी नेपाल भारत र बर्मामा पाइने हिन्दु धर्म मान्ने ब्राहृमण र क्षत्रीहरुको एक थर हो । सुवेदीहरुमा लामगादे, च्वाइ सुवेदी र लामपाखे सुवेदी समेत तीनवटा उपभेदहरु पाइन्छन् । उनीहरु आफुलाई भारद्वाज ऋषिका सन्तान मान्दछन् । शिःसाघाट निवासी सुवेदीहरु च्वाइ सुवेदी रहेको र उनीहरुको गोत्र भारद्वाज र आङ्गीरस बार्हस्पत्य र भारद्वाज त्रीप्रवर रहेको पाइन्छ । वेदलाई सुमधुर स्वरमा पढ्न सक्ने भएकाले उनीहरुलाई सुवेदी भनिएको हो ।
यसै गरी दुइवटा वेद सरर पढनेहरु द्वीवेदी, तीनवटा वेद सरर वाचन गर्नेहरु त्रीवेदी र चारै वेद सरर पढनेहरुलाई चर्तुवेदी भनिन्छ । सुवेदीहरुलाई स्थान भेदका कारण सुभेदी सुवेडी र सुवेरी भनेर उच्चारण पनि गरिन्छ । सुवेदीहरु कास्की जिल्ला स्थित साविक रुपागाउँपालिका-३ फैचोकबाट शिःसाघाटमा बर्साई सरी आएका हुन । शिसाघाटमा च्वाई सुवेदीहरुको मुख्य थलो व्यास-६ मुसिथुम्की हो । शिःसाघाट बाटै च्वाँइहरु हाल दमौली, पोखरा, चितवन, काठमाडौंमा पाँजिएका छन् ।
ढुङ्गाना थर :
ढुङ्गानाहरुको आस्पद (वर्तमान भन्दा पहिलेको थर) रेग्मी हो । रेग्मीहरुले ढुङ्गानी र कुन्तीढुङ्गानी भन्ने स्थानको राजाबाट विर्ता प्राप्त गरेका थिए । विर्ता पाएका स्थानमा बसोबास गरेकाले थलोको आधारमा ढुङ्गाना थर कायम हुन आएको हो । कौशिक गोत्रीय ढुङ्गानाहरुका तीन प्रवर रहेका छन् । उनीहरुले कुलदेवता खापड जगन्नाथ मष्ट, कुलदेवी जालपादेवी, धौले झाँक्री, सिद्ध लटीनाथ पूज्दछन् ।
उपल्लो साँझाको तिंजुबोटमा आइबसोबास गर्ने महेश्वर ढुङ्गानाका सन्तानहरु यहाँ बसोबास गर्दछन् । सोही वंशका गजाधरका नाती, खडुलालको छोरा केदारनाथ ढुङ्गाना र प्रयागदत्तका छोरा मीनराज ढुङ्गाना हुनुहुन्छ । मीनराज ढुङ्गाना दमौली गाउँ पञ्चायतका वडा नं. २ का वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । मिनराजका छोरा कृष्णराज ढुङ्गाना अहिले गाउँमै बसोबास गर्नु भएको छ ।
घिमिरे थर :
घिमिरेहरुको आस्पद (वर्तमान भन्दा पहिलेको थर) पण्डित हो । घिमिरेहरुले वर्तमान रोल्पा जिल्लाको घमिरकोट, घमिरको लेक, र घमिर गाउँ भन्ने स्थानहरु तत्कालीन राजाबाट विर्ता प्राप्त गरेका थिए । घमिरगाउँ विर्ता पाएका स्थानमा बसोबास गरेका हुनाले स्थलको आधारमा उनीहरुको घिमिरे थर कायम हुन आएको हो । कास्यप गोत्रीय घिमिरेहरुका कास्यप, अवत्सर र नैधु्र्रव तीन प्रवर रहेका छन् । श्रीपाली, खप्तडी, खुलाल, कालीकोटे र सिञ्जापती बस्नेत भने झै घिमिरेहरुमा, गाइपूजक, वूढीपोला र चितापखला भन्ने तीनउपभेद रहेको पाउँदछौं ।
यसै गरी घिमिरेहरुमा एकथरी गाई तिहारका दिन गाईपुजेर लक्ष्मी पूजा गर्ने र अर्को थरी लक्ष्मी पूजेर गाई पूज्ने गर्दछन्। कृषि पेशाका अधिष्ठाता घिमिरेहरु उधौली उभौलीको समयमा गैडुपूजा र गोठधुप गर्दा गैडु गोसाइलाई साक्षी राखेर गाईको दूधदुहुने गबुवा दुधियारो या दही मथ्ने ठेकीलाई जनै पनि लगाउने गर्दछन्। उनीहरुले कुलदेवतामा खापड मालामष्ट, श्वेतवाराह र श्वेत भैरव, कुलदेवी जालपादेवी र छिन्नमस्ता, रिट्ठे झाँक्री, सिद्ध वैजनाथ पूज्दछन् ।
उपल्लो साँझाको तिंजुबोटमा आइबसोबास गर्ने कालु घिमिरेका सन्तानहरु अहिले साझाटारको मुसीथुम्कीमा बसोबास गर्दछन् । सोही वंशका प्रतिमान पनाती, रत्नाकारका नाती शोभाकरको छोराहरु उमानाथ घिमिरे, खेमराज, वासुदेव र तारानाथ घिमिरे हुनुहुन्छ । तारनाथ घिमिरे तनहुँ जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख भएर राष्ट्रसेवा गर्नुभएको थियो भने होमनाथका छोरा ढाल प्रसाद घिमिरे व्यास-६ का वडा सदस्य पदमा दुइपटक निर्वाचित हुनु भएको छ । हाल साँझाटारमा घिमिरेहरुको १५ घरघुरी रहेको छ ।
अन्त्यमा
साझाँटारमा देवनिधि पन्त व्यास-१३ गुँदीबाट मामाली गाउँ शिःसाघाट बसाइसरी जानु भएको हो । त्यहाँ गएर देवनिधि पन्तले साझा गाउँपञ्चायत कायम रहँदा उपप्रधानपञ्च र श्याम्घा गाउँ पञ्चायतको प्रधानपञ्च हुनु भएको थियो । शिःसाघाट निवासी राजकुमार श्रेष्टले साझा गाउँपञ्चायतको उपप्रधानपञ्च जस्तो गरिमामय पदको जिम्मेवारी बहन गरी कामकाज गर्नु भयो भने डम्बर बहादुर खत्री र थिरबहादुर के.सी.ले वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएकोे थियो । यसै गरी यस साझा क्षेत्रलाई आफ्नो कर्मथलो बनाउने अन्य थरघरहरुमा ठकुरी, पन्थ, चौलागाई, दुरा, मियाँ, नेवार र कुमालहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । शिःसाघाट निवासी शाह, गणेश मल्ल, निजावदिन मियाँ, ढालप्रसाद घिमिरे रामचन्द्र पन्थहरु र लालबहादुर पन्थ अन्य थरघर तर्फा उज्ज्वल नक्षत्रहरु हुन ।










