घिरिङको गडौलिटारमा गर्भवती महिलाको अल्ट्रासाउण्ड सेवा

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउण्ड भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित गडौलिटार स्वास्थ्य सेवा केन्द्रमा स्थानीय सेवाग्राहीलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।
वडा नं. ४ का वडाध्यक्ष भिमबहादुर कुमालमन् अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापाले ग्रामीण भेगमा स्वास्थ्यकर्मीहरू स्वयं सेवा केन्द्रमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण (अल्ट्रासाउण्ड) गर्ने कार्यले स्थानीय महिला स्वास्थ्य सेवामा पहुँच बढाएको बताए ।
गाउँपालिका–३ की तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी विष्णु पौडेल का अनुसार ग्रामीण क्षेत्रमा यो सेवा शुरु भएपछि गर्भवती महिलाहरूलाई गर्भको अवस्थाबारे समयमै जानकारी पाउन सहज भएको छ । उनले भनिन्, ‘पहिले अन्तिम चरणमा मात्र गर्भको अवस्थाबारे थाहा हुने र धेरै महिलाहरूले समस्या भोग्नुपथ्र्यो, तर अहिले त्यो समस्या हटेको छ ।’
घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी गाउँपालिकाले यस कार्यलाई अभियानका रूपमा अघि बढाएको बताए । उनका अनुसार घिरिङ–४ अन्तर्गतका १४ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड परीक्षण गरिएको हो ।
कार्यक्रममा सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रीतम थापा, फुला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठ, स्वास्थ्यकर्मी रोजिशा ढुङ्गाना सुनार, बुद्धिजीवी तथा स्थानीय महिला समूहको उपस्थिति रहेको प्रीतम थापाले बताइन । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले सहजिकरण गरेका थए ।










