चाडपर्व लक्षित बजार अनुगमन तीव्र : डुम्रे बजारमा म्याद गुज्रिएका पेय पदार्थ बिक्री

डुम्रे : दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाले बुधबार डुम्रे बजार तथा आसपासका क्षेत्रमा छुट्टाछुट्टै टोली परिचालन गरी खाद्यवस्तुको गुणस्तर, म्याद, मूल्यसूची, व्यवसाय दर्ता र सरसफाइलगायत पक्षको अनुगमन गरेका हुन् ।
बन्दीपुर गाउँपालिकाको बजार अनुगमन टोलीले बन्दीपुर–४ डुम्रेमा सञ्चालनमा रहेको पेप्सी तथा सेभेनअपलगायत पेय पदार्थको डिलर ओशो ट्रेड सर्कलमा म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको फेला पारेको छ । अनुगमनका क्रममा केही प्याकेटमा म्याद गुज्रिएको र केहीमा म्याद बाँकी रहेको पेय पदार्थ एउटै क्रेटमा मिसाएर बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको गाउँपालिकाका राजस्व प्रमुख मनोज बरालले जानकारी दिए ।
उनका अनुसार डिलरमा खोजतलास गर्दा म्याद गुज्रिएका पेय पदार्थसमेत बिक्रीका लागि राखिएको भेटिएको हो । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य तथा पेय पदार्थमा गम्भीर लापरबाही देखिएकाले सम्बन्धित निकायको कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षण अधिकारी सन्तोष थापाले बताए ।
बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक पञ्चमाया गुरुङको नेतृत्वमा गएको टोलीले डुम्रे बजारका अन्य किराना तथा खाद्यान्न पसलमा समेत अनुगमन गरेको थियो । ती पसलमा पनि म्याद सकिएका केही सामग्री फेला परेको टोलीले जनाएको छ ।
अनुगमन टोलीमा बन्दीपुर–१ का वडा सदस्य प्रेमबहादुर शाही, बन्दीपुर–४ का वडा सदस्य भीम घले, उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति दीपक श्रेष्ठ तथा डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीलगायत सहभागी थिए ।
यसैबीच भानु नगरपालिकाले पनि डुम्रे–साजबोटे क्षेत्रमा बजार अनुगमन गरेको छ । नगरपालिकाको योजना तथा अनुगमन शाखा प्रमुख युवराज ज्ञवालीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा केही व्यवसायमा दर्ता तथा नवीकरण नभएको, सरसफाइमा कमी देखिएको तथा अखाद्य वस्तुको प्रयोग र म्याद गुज्रिएका सामग्री बिक्री भइरहेको पाइएको नगरपालिकाले जनाएको छ ।
भानु नगरपालिकाको टोलीले पसल तथा गोदाममा रहेका पेय पदार्थ र चिसो पेयको म्याद, मूल्यसूची, व्यवसाय दर्ता तथा बिलबिजकसमेत जाँच गरेको थियो। चाडपर्वका बेला उपभोक्ताको माग बढ्ने र व्यापारिक कारोबारसमेत बढ्ने भएकाले बजारमा म्याद गुज्रिएका, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री रोक्न अनुगमनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
अनुगमनमा वडा नं. १ का सदस्य तुलबहादुर गुरुङ, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय भानुका प्रहरी कर्मचारी र उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा सामान्य कैफियत भेटिएका व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिइने तथा गम्भीर प्रकृतिका कमजोरी भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सम्बन्धित निकायले जनाएको छ । विशेषगरी म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बिक्री गर्ने, मूल्यसूची नराख्ने, बिलबिजक जारी नगर्ने र व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने प्रवृत्तिमाथि निगरानी बढाइने भएको छ ।
चाडपर्वको समयमा उपभोक्ताको चाप बढ्ने भएकाले व्यवसायीले नाफाका लागि म्याद गुज्रिएका वा गुणस्तरहीन सामग्री बिक्री गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पालिकाहरूले अनुगमनलाई निरन्तरता दिने बताएका छन् । उपभोक्ता ठगी, कालोबजारी र अखाद्य वस्तुको बिक्री नियन्त्रणका लागि चाडपर्व अवधिभर बजार अनुगमन जारी रहने जनाइएको छ ।










