बन्दीपुरमा आधारभूत तहको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा आधारभूत तहको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा रुम टु रिड/सूर्योदय क्लवको सहकार्यमा सञ्चालन भएको उक्त तालिम जेठ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
तालिमको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसीले यस प्रकारको कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछाने, शिक्षा प्राविधिक सहायक सिर्जना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी विभिन्न विद्यालयका शिक्षक, शैक्षिक विज्ञ तथा शिक्षासँग सम्बन्धित व्यक्तित्वहरूको समेत सहभागिता रहेको जनाइएको छ।
शिक्षा शाखाका अनुसार तालिममार्फत आधारभूत तहमा लागू गरिएको एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
तालिममा सहभागी शिक्षकलाई पाठ्यक्रम कार्यान्वयन, सिकाइ सहजीकरण, मूल्यांकन प्रणाली तथा विद्यार्थी केन्द्रित शिक्षण विधिबारे व्यावहारिक जानकारी प्रदान गरिने जनाइएको छ ।










