भानुमा विश्व दूध दिवस मनाइयो

भानु : ‘दूध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित भानु नगरपालिकाले विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा निम्न आयस्तर भएका तथा कमजोर अवस्थाका बालबालिकालाई दूध वितरण गर्नुका साथै ज्येष्ठ नागरिकलाई दूध तथा दूधबाट बनेका परिकार खुवाएको छ ।
शाखाका अनुसार दूध उत्पादन वृद्धि, दूधको स्वच्छता, दूधजन्य परिकार निर्माण तथा दूध सेवनको महत्वबारे सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीलाई दूधको पोषणीय महत्व, स्थानीय दुग्ध उत्पादन प्रवर्द्धन तथा स्वस्थ जीवनशैलीमा दूधको भूमिकाबारे जानकारी दिइएको पशुसेवा प्राविधिक अमित ढुंगानाले बताए ।
नगरपालिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई दूध वितरण गरिएको शाखाले जनाएको छ। त्यसैगरी भानु नगरपालिका–६ स्थित सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई दूधबाट बनाइएको खिर खुवाइएको थियो ।
नगरपालिकाले दुग्ध क्षेत्रको विकास, पोषण सुरक्षाको प्रवर्द्धन तथा स्थानीय किसानको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । कार्यक्रममा सहभागीहरूले विश्व दूध दिवसले दूध उत्पादन, उपभोग तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।










