आदिकवि भानुभक्त र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबीच विद्यार्थी शुल्क व्यवस्थापनबारे अन्तरक्रिया

दमौली : विद्यार्थी शुल्क व्यवस्थापन, शुल्क संरचना तथा क्याम्पस सञ्चालनका स्रोत व्यवस्थापन सम्बन्धी विषयमा आदिकवि भानुभक्त क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबीच मंगलबार अन्तरक्रिया गरिएको छ ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञाज शर्माको अध्यक्षता तथा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थितमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले अध्ययन भ्रमणको उद्देश्य, क्याम्पसको शुल्क संरचना तथा स्रोत व्यवस्थापनका विषयमा धारणा राखेका थिए । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बरालले आफ्नो क्याम्पसको शुल्क संरचना, शुल्क निर्धारण प्रक्रिया, स्वचालित शुल्क वृद्धि सम्बन्धी व्यवस्था तथा क्याम्पस सञ्चालनका लागि स्रोत व्यवस्थापनका अभ्यासबारे जानकारी गराएका थिए ।
अन्तरक्रियामा दुवै क्याम्पसमा लागू विद्यार्थी शुल्क संरचना, विभिन्न शीर्षकका शुल्क, शुल्क समायोजनका आधार तथा वित्तीय स्रोत व्यवस्थापनका उपायबारे अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका आर्थिक समिति संयोजक ठाकुरबहादुर दरै, विधान समिति संयोजक ईश्वर विष्ट, मितेरी गाउँ व्यवस्थापन समिति संयोजक सोमराज सिग्देल, सञ्चालक समिति सदस्य निर्मल पण्डित र बसन्त दरै, पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल क्याम्पस इकाइका अध्यक्ष सहप्राध्यापक राजन घिमिरे, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आले तथा विभिन्न विद्यार्थी संगठन र क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।










