तनहुँमा असार २४ सम्म निषेधाज्ञा, निजी सवारी साधन चल्ने, सरकारी कार्यालय पनि खुल्ने (आदेश सहित)
भञ्ज्याङ न्यूज

कोभिड संक्रमण जोखिम कायमै रहेको भन्दै तनहुँ प्रशासनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै २४ गतेसम्म लम्ब्एको छ । मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोभिड-१९ को जोखिम अझै कमी नभएको र समुदायमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राखि उक्त निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।
समितिले गरेको सफारिसको आधारमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अघि जारी गरिएको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिंदै असार २४ गते राती १२ बजेसम्मा तनहुँ जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताएका छन् ।
निषेधाज्ञाको आदेश पालना गर्नु गराउनु सबै आम नागरिकको कर्तव्य भएको भन्दै तनहुँ प्रशासनले यदि कोही कसैबाट यो आदेशको उल्लंघन भएमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने बताएको छ ।
यस्तै, अबको निषेधात्रामा निजी सवारी साधन चल्न दिने भएको छ । बिहीबारबाट जोर बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने उल्लेख छ । तर सार्वजनिक सवारी साधनलाई भने अझै खुला गरिएको छैन ।


यस्तै, तनहुँमा आगामी आईतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।
तनहुँ प्रशासनले व्यापार व्यवसाय खुल्ला गर्ने समयावधि बढाएको छ । जिल्ला भर नै खाद्यान्न, तरकारी, फलफूल, दुध र दुधजन्य पदार्थ, माछामासु, अण्डा, दाना, पशुपंक्षीको उत्पादन र बिक्री वितरणका लागि बिहान ५ देखि १० बजेसम्म समय तोकिएको छ भने निषेध गरिएका कार्य र सेवा बाहेक अन्य कार्य र सेवा सञ्चालन बिहान ८ देखि दिउँसो १ बजेसम्मलाई खुल्ला गर्न अनुमति दिइएको छ ।









