प्रेस युनियन तनहुँले वाग्ले, बस्नेत र अधिकारीलाई पुरस्कृत गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल प्रेस युनियन तनहुँको आठौं अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अध्यक्ष अमरराज नहर्कीले बताए ।
प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले वाग्ले, बस्नेत र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको सचिव प्रकाश अधिकारीले बताए । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । यही जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौँ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ ।










