ऐनापहराका ढुंगामा भगवानका आकृति कोरिंदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका-२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो ।

ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुंगामा भगवानका आकृति बनाउन सुरु गरेको छ। ऐनापहरालाई थप आकर्षक बनाउन प्राकृतिक ढुंगामा भगवान्का आकृति कुद्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

“पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई तीव्रता दिएका छौँ, कालीगढ यतिबेला ढुङ्गामा भगवान्का आकृति कुध्न व्यस्त हुनुहुन्छ”, चुमानले भन्नुभयो । गाउँपालिकाले स्थानीय कालीगढलाई काममा लगाएर रोजगारीको अवसर प्रदान गरेको छ ।

ऐनापहरामा पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौं”, चुमानले भन्नुभयो, “सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षा बनाउन काम सुरु भएको छ ।”

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जंगल, खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।

पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको छ। राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

“काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।” यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको छ ।

यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । यस क्षेत्रमा सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । यसका अलावा चिसो मौसममा पनि यहाँ पुग्ने पर्यटकको उत्तिकै चाप रहने गर्दछ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker