भिमादमा गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविर

दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौली, तनहुँको आयोजना तथा भिमाद नगरपालिकाको भिमाद आयुर्वेद औषधालयको समन्वयमा गुदारोग (एनो–रेक्टल) सम्बन्धी विशेष आयुर्वेद शिविर सञ्चालन गरिने भएको छ ।
शिविरमा नरदेवी आयुर्वेद अस्पताल काठमाडौंका शल्य चिकित्सक तथा प्रदेश आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद चिकित्सकद्वारा गुदारोग अन्तर्गत पर्ने पाइल्स, फिस्टुला र फिसर जस्ता समस्याको पहिचान, परामर्श तथा उपचार सेवा प्रदान गरिने जनाइएको छ।
गुदारोग सम्बन्धी समस्याबाट पीडित नागरिकलाई लक्षित गरी सञ्चालन गरिने शिविर जेठ २३ र २४ गते -शनिबार र आइतबार) भिमाद आयुर्वेद औषधालय, भिमाद तनहुँमा सञ्चालन हुने भएको छ ।
शिविरमा अनुभवी शल्य चिकित्सक तथा आयुर्वेद चिकित्सकबाट परीक्षण र उपचार, आयुर्वेदिक पद्धतिबाट सुरक्षित तथा प्रभावकारी उपचार, शल्यक्रियाविनाका (जहाँ सम्भव हुन्छ) प्रविधि तथा क्षारसूत्र सेवा र गोपनीयतापूर्ण परामर्श सेवा उपलब्ध गराइने प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले बताए ।
दिसा गर्दा रगत आउने, गुदद्वार वरिपरि गाँठो निस्कने, अत्यधिक दुखाइ हुने, घाउ वा पिप बगिरहने तथा दिसा गर्न कठिनाइ हुने समस्या देखिएका व्यक्तिहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेका छन् ।










