एलोप्याथिक उपचारबाट आजित बिरामीको आशाको केन्द्र बन्दै आयुर्वेदिक चिकित्सालय

एस.बि. नेपाली

एस.बि. नेपाली

तनहुँको प्रदेश आयुर्वेद चिकित्सालय दमौली पछिल्लो समय बिरामीको भरोसा र आकर्षणको केन्द्र बन्दै गएको छ । एलोप्याथिक औषधी सेवनबाट दीर्घकालीन रूपमा आजित भएका बिरामीहरू अहिले आयुर्वेदिक उपचारतर्फ आकर्षित हुँदै यहाँ उपचारका लागि आउने क्रम बढेको हो ।

‘तनहुँसहित लमजुङ, कास्की, चितवन, गोरखा र पर्वत लगायत जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्’, चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाई बताउँछन् । उनका अनुसार सेवा प्रवाह छिटो, सरल र प्रभावकारी भएकाले दैनिक ३५ देखि ६५ जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, ‘लामो समय अन्यत्र उपचार गर्दा खर्च र झन्झट भोगेका बिरामीहरू आशा र भरोसाका साथ यहाँ आउने गरेका छन् ।’
उनका अनुसार पेटसम्बन्धी समस्या भएका बिरामीको संख्या सबैभन्दा बढी छ । साथै अम्लपित्त, उदररोग, बाथ, श्वासप्रश्वास, फिसर–फिस्टुला, रक्तचाप, महिला प्रसूति तथा बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी रोगका बिरामी पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।
‘कुनै समय आयुर्वेदिक उपचार भन्नेबित्तिकै नाक खुम्च्याउनेहरू अहिले यसको महत्व बुझ्दै आएका छन्’, चापागाई भन्छन्, ‘आयुर्वेदिक औषधीले शरीरमा नकारात्मक असर नगर्ने, ढिलो काम गरे पनि दीर्घकालीन रूपमा प्रभावकारी हुने भएकाले बिरामीको आकर्षण बढेको हो ।’
विशेषगरी फिसर–फिस्टुला जस्ता रोगको उपचार अन्यत्रको तुलनामा निकै सस्तो र प्रभावकारी रहेको चिकित्सालयले जनाएको छ । उनले भने, ‘चिकित्सालयले करिब पाँच हजार रुपैयाँमै यो सेवा दिंदै आएको छ ।’
चालु आर्थिक वर्षको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन्। चिकित्सालयका सूचना अधिकारी सोमकान्त पौडेलका अनुसार साउन महिनामा २६५३, भदौमा १८९९, असोजमा १४८३, कात्तिकमा २१३७, मंसिरमा ३८२२, पुसमा ४६३७, माघमा ३०३२, फागुनमा ३१९३ जनाले उपचार सेवा लिएका छन्।
चिकित्सालयमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म ओपीडी सेवा सञ्चालनमा छ । यहाँ स्नेहन, स्वेदन, बस्ती कर्म, नस्य, जलनेती, शिरोधारा जस्ता पञ्चकर्म सेवा प्रदान गरिँदै आएको छ। पछिल्लो समय ढाड दुख्ने, नशा च्यापिने तथा हाडजोर्नीसम्बन्धी समस्याका बिरामीको संख्या बढेसँगै थेरापी उपकरण सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख डा. नारायण श्रेष्ठ बताउँछन् । उनका अनुसार पतञ्जली योग समितिसँग सहकार्य गरी योग तथा स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ। बिरामीको रोगअनुसार दैनिक योग अभ्यास गराउने गरिएको समेत उनले बताए ।
चिकित्सालयले अत्यन्त न्यून शुल्कमा सेवा दिँदै आएको छ । नाम दर्ता शुल्क रु. १०, परीक्षण, औषधि र प्राथमिक उपचार निःशुल्क गरिएको छ भने पञ्चकर्म सेवाको रु. १५०, ज्येष्ठ नागरिक, स्तनपायी आमा र योग सेवा निःशुल्क गरिएको छ।
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले नसर्ने रोगका बिरामीको उपचारका लागि अझ प्रभावकारी बनाउन क्लिनिक संचालन गर्ने तयारी गरिरहेको छ । मधुमेह, रक्तचाप, दीर्घ श्वासप्रश्वास, मानसिक लगायतका स्वास्थ्य प्रत्येक महिनाको एक दिन कार्यालयमा नसर्ने रोगको स्क्रीनिङ कार्यमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
बिरामीको अवस्थालाई मध्यनजर गर्दै चिकित्सालयले प्रयोगशाला संचालनमा ल्याइएको छ। तत्कालिन व्यवस्थापन समितिले निर्धारण गरेको न्यून शुल्कमा सर्वसाधारणलाई प्रयोगशाला सुविधा प्रदान गर्दै आइएको छ । हेमाटोलोजी, सेरोलजिकल र बायोकेमिकल परीक्षणको व्यवस्थासंगै उपचारमा आउने बिरामीका लागि सहज भएको छ ।

चिकित्सालयका चुनौतीः

चिकित्सालयका चुनौती पनि उस्तै छन् । उपलब्धिका बाबजुद पनि पर्याप्त औषधि आपूर्ति नहुनु, औषधिको गुणस्तरलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रमाणित गर्न कठिनाइ, जनशक्ति अभाव (नवौँ तहको दरबन्दी रिक्त), अवैध औषधि विज्ञापन र बिक्री जस्ता समस्या र चुनौती चिकित्सालयले झेल्दै आएको छ। आयुर्वेदका मूल उद्देश्य– स्वस्थ व्यक्तिको स्वास्थ्य संरक्षण र रोगीको उपचारलाई आत्मसात गर्दै चिकित्सालयले प्रवर्धानात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा विस्तार गरिरहेको छ ।
आयुर्वेदको मूल उदेश्यहरुलाई आत्मसात गर्दै प्रदेश आयुर्वेद चिकित्सालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत जिल्लामा प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक सेवाका साथै योग र स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य सेवाहरु प्रदान गर्दै आईरहेको कार्यालय प्रमुख डा श्रेष्ठले बताए ।
विगतमा यस कार्यालयले जामुने भञ्ज्याङ आयुर्वेद औषधालय, शिशाघाट आयुर्वेद औषधालय, केशवटार आयुर्वेद औषधालय, भिरकोट आयुर्वेद औषधालय, बन्दीपुर आयुर्वेद औषधालय, टुहुरेपसल आयुर्वेद औषधालय, भानु आयुर्वेद औषधालय, रिस्ती आयुर्वेद औषधालय, रुपाकोट आयुर्वेद औषधालय, खैरेनीटार आयुर्वेद औषधालय र भिमाद आयुर्वेद औषधालय गरी हाल विभिन्न स्थानीय तहमा रहेका ११ आयुर्वेद औषधालयहरुको समेत आर्थिक र प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको छ ।
हाल आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् । प्रदेश आयुर्वेद चिकित्सालयले आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कार्यक्रम अन्तर्गत जिल्लाको ४ स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरेको छ। देवघाट गाउँपालिका वडा नं. ५, आबुँखैरेनी गाउँपालिका वडा नं. १, बन्दीपुर गाउँपालिका वडा नं. ४ र घिरिङ गाउँपालिका वडा नं. ५ मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा सुचारु गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker