उपेक्षामा मिर्लुङकोट क्षेत्र

गल गुरुङ (दिपु)

तनहुँ जिल्लाका उच्च पहाड तथा टाकुराहरु आ-आफ्नै पहिचान, ऐतिहासिक महत्व र विशेषता बोकेर बसेका छन् । यस्तै ऐतिहासिक महत्व, पहिचान र विशेषता बोकेको पहाड हो मिर्लुङकोट । जिल्लाको सदुरमुकामबाट करिब ३० किलोमिटर दुरीको उत्तरपूर्वी क्षेत्रमा फैलिएको छ यो मिर्लुङकोट। समुन्द्रि सतहबाट करिब १२७९ मिटर (ठूलोढुङ्ग)देखि १६५६ मिटर (मिर्लुङकोट) उचाई क्षेत्रमा फैलिएको छ मिर्लुङकोट क्षेत्र । यो जिल्लाको दोश्रो अग्लो पहाडको रुपमा ठडिएको छ । यो पहाडको दक्षिण तर्फहरेपहरो भन्ने ठूलो पहरो छ । टाढैबाट हेर्दा पनि त्यो पहरोको ढुङ्गाहरु तामा जस्तो देखिन्छ र यो पहाडमा तामाखानी भएकाले यस्तो देखिएको स्थानीय बासिन्दाको अड्कल छ । पहरामा पुग्न कठिन भए पनि त्यहाँबाट खसेका स-साना ढुङ्गाहरु तामा जस्तै देखिन्छ । केही वर्षहिले खानिविदहरुले साधरण र्सर्वेक्षण गरी तामाखानी हुनसक्ने तर यसको सम्भाव्याताको बिस्तृत अध्ययन हुनुपर्ने बताएका थिए । तर खानी तथा भुर्-गर्भ बिभाग तथा अन्य सरोकारवाला निकायले यस विषयमा चासो नदेखाएकाले थप अध्ययन हुन सकेको छैन।

यो पहरोको बिचमा एउटा ठुलो ढुङ्गा बाहिरा निस्किएको छ । स्थानीय यस ढुङ्गालाई चुचुरो ढुङ्गा भन्छन् । हिउँदको समयमा असिना पानी पर्दा गोठालाहरु यहि ढुङ्गा मुनि ओत बस्ने गर्थे । यही ढुंगाको फेदमा एउटा ठूलो प्वाल पनि छ । स्थानीय बुढा पाकाको भनाई अनुसार २२/२४ राज्यको पालामा लडाइ हुँदाको तोपको गोलिले बनाएको प्वाल हो । हरेपहरोको नामले पनि चिनिने मिर्लुङ्गकोटको शिरमा चौतरो छ । चौतारोसंगै एउटा पोखरी छ । स्थानीयले अहिले यसलाई मर्मत सुधार गरी राम्रो बनाएका छन् । २२/२४ राज्यको पालामा रानीले खन्न लगाएकाले यो पोखरीको नाम रानीपोखरी रहन गएको भनाई छ ।

यस्तै, डाडाको उत्तर तर्फमिर्लुङ भयर नामका देवताको मन्दिर छ यो मन्दिरमा भाकाल गरेर पुजा गरेपछि आफ्नो मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ । एकादशी, औसीं तिथि र श्रावण महिना बाहेक हरेक मंगलबार यो मन्दिरमा पुजा गर्ने प्रचलन छ । यो मन्दिरलाई सातसय मिर्लुङ्गबासिले पुज्ने भयरथान पनि भन्ने गरिन्छ। चारैतिरबाट प्लास्टर गरी पर्खाल लगाइएको छ भने मन्दिरमा छानो हालिएको छैन । मन्दिरमा छानो हाल्नु हुँदैन भन्ने मन्यता छ । अर्को यो मन्दिरमा पुजा गरेको प्रसाद मादक पदार्थसंग खान हुदैन भन्ने प्रचलन पनि छ । त्यस्तो गरिएमा अझै पनि त्यो दिन ठूलो असिना पानी पर्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

यो मन्दिरमा साविक मिर्लुङ गाविस -हाल भानु नगरपालिकाको वडा नं. १३ र १२) तथा अन्य स्थानबाट वाषिर्क रुपमा सबै गाउँलेहरुले सामुहिक रुपमा पूजा गर्ने प्रचलन पनि छ । बोका, परेवा, पाडो लगायतको पशुबलि सहित पञ्चावली दिने पनि गरिन्छ। यस मन्दिरमा पुजा गरेको प्रसाद मन्दिर परिसर क्षेत्रमै पकाएर खानुपर्ने, अन्यत्र लग्न नहुने मान्यता भएपनि पछिल्लो समय भने घरघरमै लग्न पनि थालिएको छ ।

मिर्लुङकोट प्राकृतिक दृष्यअवलोकनका साथै प्राकृतिक सौर्न्दर्यतामा रमाउन चहानेका लागि उत्कृष्ट गन्तव्यका रुपमा पनि लिन सकिन्छ । जिल्लाको दोस्रो अग्लो पहाड भएपनि तनहुँमा यहि पहाड नै अग्लो हो कि भन्ने यहाँ पुग्ने जो कोहीले पनि अनुभूति गर्न सक्छन् । नाउदी, रिस्ती, कलेस्ती र चुँदीका उर्वर फाँटहरुलाई काँखमा च्यापेर बसेको अति नै रमणीय पहाडको श्रृंखला हो मिर्लुङकोट। यो पहाडी क्षेत्रलाई ग्रामीण पर्यटनका साथै प्राकृतिक दृष्यावलोकनको आकर्ष गन्तव्यका रुपमा विकास गर्ने भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले स्थानीय बासिन्दालाई खोक्रा आश्वासन र चुनावी नारा बनाउने गरेपनि यथोचित विकास भने हुन अझै सकेको छैन। यो क्षेत्र अझै उपेक्षामा पर्दै आएको छ ।

भानु नगरपालिकाको शिरको रुपमा ठडिएको मिर्लुङकोटको आवश्यक पूर्वाधारको विकास गरी प्रचार प्रसार गर्न सके नगरपालिकाको मुख्य आम्दानीको श्रोत पनि बन्न सक्ने सम्भावना रहेको छ । तर, यसतर्फसरोकारवाला निकायले भने ध्यान पुर्‍याउन अझै सकेका छैनन् । आधारभूत आवश्यकाताहरु सहज रुपमा उपभोग गर्न नपाउँदा यो क्षेत्र बर्साई सर्राईका कारण उजाडिदै पनि गएको छ ।

पछिल्लो समय स्थानीय युवाहरुको सक्रियतामा भ्यू टावर, बौद्ध स्तूप, क्होईवो बनाउने योजनामा लागेका छन् भने स्थानीयको योजनालाई स्थानीय सरकार भानु नगरपालिका तथा अन्य सरोकारवला निकायले जुन रुपमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने हो हो त्यो भने हुन सकेको छैन ।

ऐतिहासिक महत्व, प्राकृतिक सुन्दरताले यस क्षेत्रको पहिचानका रुपमा ठडिएको मिर्लुङकोट विकास र प्रचार प्रसारको खोजी गर्दै प्राकृतिक सौर्न्दर्यता अवलोकन तथा ग्रामीण पर्यटनको आकर्ष गन्तव्यको रुपमा विकास हुने पर्खाइमा छ । चारै तिर हरिया पहाड, वन, जंगल, चिसो पानीका श्रोत, चराचुरुङ्गी, वन्यजन्तु अवलोकन मिर्लुङकोट क्षेत्रको विशेषता हो । प्राकृतिक सुन्दरता बोकेर ऐतिहासिकता ओकेली रहदा पनि यो पहाडी क्षेत्र अझै ओझेलमा छ र उपेक्षामा परिरहेको छ । पहाडको वरिपरि अझै पनि ऐतिहासिक महत्व बोकेका प्रशस्तै भग्नवशेष फेला पार्न सकिन्छ ।

“नेपाल अधिराज्यमा तनहुँ नामक पुस्तकबाट यो पनि थाहा हुन्छकि यस कोट्मा सेन बंशले शासन गरेका थिए । तनहुँसुर राज्यसंगै यहाँ पनि सेन बंशले शासन गर्न थालेका थिए । मिर्लुङकोट राज्यको सिमाना पूर्वमा गोर्खा राज्य, उत्तरमा लमजुङ, दक्षिणमा तनहुँसुर र पश्चिममा रिसिङ राज्यहरू थिए। राजा दिग्विजय सेनले यो डाडोमा आक्रमण गरी कब्जा गरेपछि यस राज्यको अस्तित्व समाप्त भएको थियो ।” मिर्लुङकोट पछिल्लो समय पिक्निक र वनभोज खाने स्थलको रूपमा पनि विकास हुँदै गएको छ । यस भेगका विद्यार्थी लगायत वरपरका गाउँलेहरू प्राकृतिक सौर्न्दर्य अवलोकनका अतिरिक्त बनभोजका लागि पनि मिर्लुङ्गकोट उक्लनेको संख्या बढ्दै गएको छ । वातावरण अनुकूल भएको समयमा मिर्लुङ्गकोटबाट उत्तर तर्फदन्तलहर जस्तै लहरै मिलेर बसेका माछापुच्छ्र्रे, अन्नपूर्ण, धौलागिरी हिमश्रृंखलाका साथै लमजुङ हिमाल, गोरखा हिमाल, चिनको बोडर हिमालका साथै थानकोटको उकालोसम्म देख्न सकिन्छ।

यस्तै, यहाँका वन जंगलमा मौसम अनुसारका फलफूलहरु जस्तैः लालिगुरास, लालुपाते, काफल, कडुस, तिन्दु, पानी अमला, रुद्राक्ष, चुत्रो लगायतका जडिबुटिहरु पनि आफैले टिपेर खान सकिन्छ । त्यस्तै, मिर्लुङकोटबाट दक्षिण तर्फएकले अर्कोलाई कुनै प्रकारको छेकेबार नगरी ठडिएको हरिया पहाडको तरेलीका साथमा यीनै पहाडको खोचमा रहेका उर्वरभूमिका फाँट, मर्स्याङदी र मादी नदीका मनमोहक दृष्य सहजै अवलोकन गर्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्य र उत्तरतर्फपसारिएका हिमश्रृंखलामा उदाउँदो र अस्ताउँदो सूर्यका किरणको दृष्यले सबैलाई मोहनी लगाउने गर्छ ।

मिर्लुङकोट क्षेत्रको माथिल्लो खण्डमा गुरुङ समुदायको वसोवास रहेको छ । यहाँ गुरुङ समुदायको भाषा, संस्कृति, रितिरिवाज, परम्पराको अवलोकनका साथै खानाका परिकारको स्वाद लिन पाइन्छ । उच्च पहाडी भू-धरातल भएका कारण हिउँदका केही महिना खानेपानीको समस्या यस क्षेत्रमा रहेको छ । मिर्लुङकोटसम्म सहज रुपमा पैदल यात्रा गर्नका लागि बाघको खोरदेखि कोटसम्म सिढी निर्माण गरिएको छ । पछिल्लो समय मिर्लुङकोटमा आन्तरिक पर्यटकहरु क्याम्पनै खडा गरी बस्ने पनि गरेका छन् भने पर्यटक पथप्रदर्शकहरुले समय समयमा वाहृय पर्यटकहरुलाई पनि पुर्‍याउन थालेका छन् ।

मिर्लुङकोटमा स्थानीय गुरुङ समुदायका युवयुवतीको सक्रियतामा श्रावण महिनाको पहिलो दिन नास्पती मेलाको आयोजना गरी सांस्कृतिक कार्यक्रम गर्दछन् । सरोकारवाला निकायले यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण लगायत स्थानीय कला संस्कृतिको संरक्षण गर्दै प्रचार प्रसार अगाडि बढाउन सके आन्तरिक तथा वाहृय पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुने थियो । तर, यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारले यसको महत्व र सम्भावनालाई बुझ्न नसक्दा उपेक्षामा पर्दै गएको छ ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको टुटेपानी नमुना सामुदायिक होमस्टे अहिले गण्डकी प्रदेशकै उत्कृष्ट होमस्टेको रुपमा विकास भएको छ । यो होमस्टेसंगै मिर्लुङकोट पनि जोडिएको छ । तर, यस क्षेत्रमा पुग्ने कच्चि सडकका कारण सहजै आन्तरिक तथा वाह्य पर्यटक पुग्न सकेका छैनन् । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा साहित्यीक क्षेत्रले भरिपूर्ण मिर्लुङकोट क्षेत्रको विकास तथा प्रवर्द्धन हुन सकेन ग्रामीण पर्यटनकै मध्यमबाट यहाँका बासिन्दा तथा भानु नगरपालिकाले आर्थिक समृद्धि तर्फउन्मुख हुन सक्ने भएकाले यस तर्फसबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने देखिन्छ ।
लेखक : जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker