“मुख्यमन्त्री नवप्रवर्तन साझेदारी” कार्यक्रमबाट तीन हजार लाभान्वित हुने

भञ्ज्याङ समाचारदाता/तनहुँ

आँबुखैरेनी गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रममार्फत ७०५ घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रममार्फत एक हजार ७६५ महिला र एक हजार ७६४ पुरुष गरी तीन हजार ५२९ व्यक्ति प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

त्यसमध्ये चार सय दलित, बाहृमण क्षेत्री ६७७, आदिवासी जनजाति दुइ हजार २९२ र अन्य १६० व्यक्ति रहेका छन् । उक्त कार्यक्रममार्फत गाउँपालिकाले उद्योग सञ्चालन गर्न लागेको जनाइएको छ । गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत सेयरको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालयले सञ्चालन गर्न लागेको बाँसजन्य उद्योगका लागि आवश्यक पर्ने उपकरण ल्याइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आँबुखैरेनी-२ मार्कीचोकमा बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि केही दिनअघि चीनबाट ल्याइएको हो । कम्पनीका रूपमा अघि बढाउन सकेको अवस्थामा उद्योग दिगोरूपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उद्योग स्थापनाका लागि कुल लागत रु दुइ करोड एक लाख रहेको छ । गण्डकी प्रदेश सरकारले रु एक करोड ४० लाख ७० हजार अनुदान दिएको छ भने गाउँपालिका रु ६० लाख ३० हजार लागत साझेदार रहनेछ । उद्योग सञ्चालनका लागि ल्याइएको उक्त उपकरण अब जडान गरी प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गरिबी निवारणका लागि गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापना गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादन गर्न प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको हो । “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवर्द्धन गर्न गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो”, उहाँले भन्नुभयो, “उद्योगका लागि दुइ भवन निर्माण गरिएको छ ।”

उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्सी, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने मुख्य लक्ष्य रहेको अध्यक्ष चुमानले बताउनुभयो । त्यसैगरी सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेन्चलगायत सिकाइ सामग्री सोही उद्योगबाट स्थापना गरिने भएको छ ।

गाउँपलिकाले स्थानीय स्रोत र सीपको प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ । तालिम लिएकाहरूले बाँसजन्य सामग्री उत्पादन सुरु गरिरहेको सो गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker