गोरखा भूकम्पको छैटौँ स्मृति दिवस : भूकम्प गएपछि देखिएका तनहुँका केही तस्विरसहित

भञ्ज्याङ न्यूज

छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा जिल्ला जिल्लाका स्थानीय पालिकाहरुले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर विभिन्न कार्यक्रमहरु गर्दै छन ।

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याहृन ११ : ५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घर्ााँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए । गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् ।

छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत रु एक लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फ समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ ।

भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । बाह्र हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ ।

क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ ।

फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन शुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्वार जारी छ ।

भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुइ हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुइ हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ ।

भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

भूकम्पले क्षतिग्रस्त कूल एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ । क्षति पुगेका कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker